क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
मेरो पहिलो इरान भ्रमण थियो त्यो । ‘आतङ्कवादबाट पीडित इरानीहरू’ विषयक सम्मेलनमा सहभागी हुन सन् २०१५ को सेप्टेम्बर महिनामा म राजधानी तेहरान पुगेकी थिएँ । इरानमा सत्तापलट गर्न प्रतिबद्ध मुजाहिद्दीन–ए खल्कले मारेका हजारौँ इरानीहरूदेखि इजरायली गुप्तचर निकाय मोस्सादको साँठगाँठमा मारिएका इरानी वैज्ञानिकहरूसम्म सम्मेलनमा चर्चाका विषय बने ।
वास्तवमा म झुक्किएर सम्मेलनमा पुगेकी थिएँ । मलाई इमेल गरिएको पत्र खासमा जनरल मिर्जा अस्लम बेगलाई पठाइएको रहेछ । गुगल गर्दा थाहा भयो, उनी पाकिस्तानी सुरक्षा निकायका पूर्व प्रमुख रहेछन् ।
आयोजकहरूसँग धेरै बिन्ती बिसाएपछि अन्ततः मैले एउटा निमन्त्रणापत्र हात पारेँ । हतार–हतार इरानी भिजा मिलाएपछि म तेहरान जाने हवाईजहाज चढेँ । अनौठो के भयो भने विमानमा मसँगै थिए स्पेनका एक दक्षिणपन्थी राजनीतिज्ञ । उनी पनि सोही सम्मेलनमा सहभागी हुन इरान जाँदै रहेछन् ।
उनीसँग छोटो कुराकानी भयो । उनले म्याड्रिडमा रहेका इरानी राजदूतलाई आफूलाई एउटा सल्लाह दिएको बताए । आणविक हतियार बनाउनु इरान सरकारको जिम्मेवारी हो भनी आफूले सुझाव दिएको उनले बताए । धर्मलाई आधार बनाएर उनले यो परामर्श दिएका थिए ।
सम्मेलनमा मैले शोरेह पिरानीसँग कुरा गरेँ । उनी इरानी वैज्ञानिक दारिअश रेजाइनेजादकी विधवा पत्नी थिइन् । सन् २०११ मा ३५ वर्षको उमेरमा दारिअशलाई उनकै घरमा गोली ठोकी मारिएको थियो । पिरानी र उनकी चार वर्षकी छोरी त्यो हत्याका साक्षी थिए । हत्यापछि उनीहरू ठुलो मानसिक आघातका शिकार भए । तथापि, पिरानीले आफ्ना पतिको हत्याराप्रति दया लागेको बताइन् । किनभने, यस्ता आतङ्कवादी हमला हतासाबाट जन्मिने उनको तर्क थियो ।
अब आजका घटना केलाऔँ । यो वर्ष फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानविरुद्ध एकदम सनकपूर्ण युद्ध सुरु गरे । यससँगै आतङ्कवादबाट पीडित हुने इरानीहरूको सङ्ख्या अकासिएको छ ।
आक्रमणमा ३ हजारभन्दा बढी इरानीहरूको हत्या भयो । यसमा १४ सय त सर्वसाधारण छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले नानाथरी बहानाबाजी गरेको छ । इरानको सरकार हटाउन उसले अनेक दलिल अघि सारेको छ । ट्रम्पले बर्बराउँदै इरानी इतिहासको अति नै भावुक तस्बिर कोरे । उनले भने, “तिनीहरू दिक्कलाग्दा छन् । मानसिक रूपमा बिरामी छन् । सिकिस्त छन् । रिसाहा छन् । बौलाहा छन् । तिनीहरू दिक्कलाग्दा छन् ।”
पश्चिमा भाष्य
इरानमाथि अमेरिका र इजरायलको पहिलो आक्रमणमा स्कूले विद्यार्थीहरू मारिए । मिनाब सहरको आधारभूत पाठशालाका पढ्ने १७० भन्दा बढी विद्यार्थी त्यो आक्रमणको सिकार भए । तीमध्ये धेरै बालिकाहरू थिए । इरानले अमेरिकाका यस्तै स्कूले बालिकाहरू मरेको भए कस्तो भुइँचालो र गर्जन आउने थियो होला ? सोच्न पनि सकिन्न ।
तर, यो नरसंहार इरानमा भएको थियो । अमेरिकी मिडियाहरूले यो घटना लुकाउन हदैसम्मको बल लगाए । अमेरिकाका रुढीवादी नेता म्याट शल्यापको भनाइ सार्वजनिक भएपछि मात्र मिडियालाई यो घटना बाहिर ल्याउन कर लाग्यो । म्याटले तथाकथित ‘आकर्षक’ भनाइ थियो – ‘बुर्का लगाएर बाँच्नुभन्दा’ यी केटीहरू यसरी नै मरेको राम्रो ।
मिनाबमा भएको विभत्स नरहत्याको खबर बाहिर आइसकेको छ । त्यो भन्दा पनि क्रूर हिंसा मच्चाइएको छ । तैपनि, पश्चिमा भाष्य कत्ति पनि फेरिएको छैन । उनीहरूले इरानीहरू नै ‘आतङ्कवादी’ भएको प्रचार गर्दै छन् ।
अमेरिकी अधिकारीहरूले इरानको ‘आतङ्कवादी प्रवृत्ति’ मा बारम्बार जोड दिँदै आएका छन् । यसको लागि उनीहरूले एउटा तथ्यलाई प्रमाणको रूपमा पेस गर्न रुचाउँछन् । इरानमा हुने राजनीतिक प्रदर्शनहरूमा ‘अमेरिका मुर्दावाद’ को नारा लगाइन्छ भन्ने उनीहरूको तर्क छ । मानौँ, अमेरिकी विदेश नीति र साम्राज्यवादविरुद्ध यति भन्नु विश्वभरि विध्वंस र मारकाट गर्दै हिँड्नुभन्दा ठुलो अपराध हो !
भियतनामदेखि अफगानिस्तानसम्म, एल साल्भाडोरदेखि निकारागुआसम्म समकालीन इतिहास अमेरिकाले विध्वंस मच्चाउँदै आएको छ । कतिपय देशमा अमेरिकी सेना आफै विध्वंसमा संलग्न थियो । कतिपय देशमा उसले किसानहरूलाई सोत्तर पार्न लालायित दक्षिणपन्थी सेना र हत्यारा दस्तालाई तालिम, पैसा र हातहतियार दिएको थियो ।
गाजापट्टीमा दुई वर्षसम्म इजरायललाई जातिसंहार गर्न अरबौँ डलर सहयोग र हातहतियार दिने पनि इरान नभई अमेरिका नै हो । आधिकारिक आँकडाअनुसार नै पनि गाजाको जातिसंहारमा ७२ हजार मानिस मारिएका छन् । वास्तविक मृतक सङ्ख्या निश्चय नै यो भन्दा बढी छ ।
ट्रम्पले इरानलाई ‘विश्वको सबैभन्दा ठुलो राज्य प्रायोजित आतङ्क’ भन्दै इरानमाथि बम पड्काइरहेका छन् । तर, उनले आफैलाई ऐनामा हेर्न जरुरी छ । गाजाबाहेक अमेरिकाले लेबननलाई आतङ्कित बनाउन इजरायली प्रम बेन्जामिन नेतन्याहुलाई सघाउँदै छ । इरान युद्धपछि लेबनानमाथि इजरायली आतङ्कले सीमा नाघेको अवस्था छ ।
सन्त्रासको माहोल
‘ब्रिटानिका’ विश्वकोशले ‘आतङ्कवाद’ को परिभाषा यसरी दिएको छ – जनताबीच सन्त्रासको माहोल फैलाउन र निश्चित राजनीतिक उद्देश्य हासिल गर्न हिंसाको योजनाबद्ध प्रयोग । इरानमा दिनदहाडै बमबारी गरेर पूरै आकाश कालाम्य पार्दै र विष वर्षा गर्दै अमेरिका र इजरायलले जे गरिरहेका छन् त्यो माथिको परिभाषासँग एकदम मिल्छ ।
सन् २०१६ मा मैले इरानको पछिल्लो भ्रमण गरेकी थिएँ । मैले इसफाहान सहरको भव्य वास्तुकलाबीच दुई हप्ता बिताएँ । अहिले त्यो स्थानमा अमेरिका र इजरायलले पागलपूर्ण आक्रमण गर्दै छन् । म अमेरिकी नागरिक हुँ । त्यसैले मैले अलि सरकारी झमेला व्यहोर्नुप¥यो । तर, एक इरानी साथीको मद्दत काम लाग्यो । मैले एक दिनका लागि एक सहयोगी गाइड पाएँ ।
मैले अवाक भएर इसफाहानको नाक्श–ए–जहाँ स्क्वायरको चित्ताकर्षक सौन्दर्यपान गरेँ । मैले ‘अमेरिका मुर्दावाद’ लेखिएको पोस्टरसामु फोटो खिचेँ । यसले गर्दा सहरमा मैले थप केही साथी बनाउन सकेँ ।
हादी एक यस्तै साथी थिए । उनी पुस्तक पसले थिए । उनले मलाई हप्ता–हप्तामा लाग्ने पुस्तक मेलामा बोलाए । भूमिगत पार्किङ स्थलमा यो मेला लाग्दो रहेछ । त्यहाँ उनले मलाई जबरजस्ती केही पुस्तक उपहार दिए । ती पुस्तकमध्ये एउटा थियो ‘क्रान्तिबारे हो चि–मिन्ह’ । त्यस्तै, उनले मलाई १३ औँ शताब्दीका फारसी कवि सादी शिराजीको अङ्ग्रेजीमा उल्था गरिएको ठुलै ग्रन्थ पनि दिए । हादी इसफाहानको दक्षिणमा पर्ने सोफेह पहाडको यात्रामा पनि सँगै रहे । त्यो पहाड नहेरी इरान छोड्न पाइन्न भनेर उनले कर गरेकोले म त्यहाँ गएकी थिएँ ।
अर्का साथी हामिद पूर्व भलिबल खेलाडी थिए । उनले मलाई नदी किनारमा पदयात्रामा लगे । उनलाई इरान सरकारसँग उनी मोह थिएन । तैपनि, इरान सरकारले खेलकुदमा खर्च कटौती गर्नुका पछाडि अमेरिकाले लगाएको आर्थिक प्रतिबन्ध दोषी रहेको उनले बताए । त्यही भएर उनको पेशेवर खेलजीवन समाप्त भएको थियो ।
निश्चय पनि इरानमाथि अमेरिकाले चार दशकदेखि लगाउँदै आएको आर्थिक प्रतिबन्धले इरानी जनजीवन नारकीय बनेको छ । कतिपय स्थितिमा यसले जनताको घाँटी समाउन आइपुगेको छ । कतिपय अत्यावश्यक औषधि पाउन मुश्किल छ । यो अमेरिकाको अर्को हतियार हो । इरानविरुद्ध प्रत्यक्ष युद्ध नगर्दा समेत अमेरिका इरानसँग युद्धरत थियो ।
तर, अहिले अमेरिका र उसको अपराधी साझेदार इजरायलले आँखा चिम्लेर इरानमा बमबारी गर्दै छन् । उनीहरूले इरानी बालिकाहरूको नरसंहार मच्चाए । उनीहरूले ‘जनताबिच सन्त्रासको माहोल फैलाउन र निश्चित राजनीतिक उद्देश्य हासिल गर्न हिंसाको योजनाबद्ध प्रयोग’ गर्दै छन् । वास्तविक आतङ्ककारी को हो भनी बोल्न ढिलो नगरौँ ।
(लेखिका अल जजिरामा आबद्ध विश्लेषक हुन् ।
स्रोत : मिडल इस्ट आइ । सम्यक)
Leave a Reply