राजनीतिक पार्टीहरूको आर्थिक र विदेश मामिला मौलिक हुनु आवश्यक
- चैत्र २९, २०८२
जलस्रोत
देशमा भूगोलविद्हरूको कमी भए जस्तै जलस्रोतविद् तथा भूगर्भशास्त्रीहरूको अभाव पनि त्यत्तिकै अनुभव गरिएको कुरो हो । हाम्रो देशलाई जलस्रोतमा धनी भनिन्छ तर आजसम्म देशका ३० प्रतिशत जनताले मात्रै खानेपानी र विद्युत् उपभोग गर्न पाइरहेका छन् । साथै, खिम्ती र मस्र्याङ्दीजस्ता ठूल्ठूला विद्युत् आयोजनामा विदेशी पुँजीले सयौँ मेगावाट जलविद्युत् उत्पादन गर्दै छन् तर बरोबर विद्युत् वितरण बन्द (लोडसेडिङ) भइरहन्छ† बिजुलीको महसुल बढ्दै छ । चीन, श्रीलङ्का, भुटान र भारतमा भन्दा पनि हाम्रो देशमा बिजुली महँगो छ । जलस्रोतको धनी देशमा, डिजेलले उत्पादन गरेको बिजुलीभन्दा जलविद्युत् किन महँगो हुन्छ र जलविद्युत्को उत्पादन बढ्दै गए पनि नेपालमा विद्युत्को कमी किन हुँदै छ भन्ने प्रश्न टड्कारो छ ।
कम लागतमा बिजुली उत्पादन हुने ठाउँमा विदेशी पुँजीलाई लगानी गर्न दिने अनि बढी पुँजी आवश्यक हुने ठाउँमा नेपालले लगानी गरेको हुँदा बिजुलीको उत्पादनको मूल्य बढ्नु स्वाभाविक छ । विदेशी ऋण लिई लगानी गर्दा विदेशी सल्लाहकार र प्राविधिकहरूलाई नेपालीलाई भन्दा १०÷२० गुना कमिसन र पारिश्रमिक दिनुपर्दा पनि बिजुलीको मूल्य बढ्छ । त्यस्तै, उच्च ब्याजमा डलर लिई डलरमै ब्याज तिर्दा पनि बिजुलीको मूल्य मात्रै बढ्ने होइन, देश नै विदेशी ऋणको पासोमा पर्दै छ । नेपालका सीमाहरूमा पनि एक रातमा १० पटक निभ्ने डिजेलद्वारा उत्पादित भारतको महँगो बिजुली नेपाल भित्याएर नेपालको सस्तो जलविद्युत् भारतलाई आपूर्ति गर्दै आइएको छ । साथै, भारतसँग लिनुपर्ने करोडौँ–करोड विद्युत् महसुल नेपालले असुल गर्न सकेको छैन । नेपाललाई अप्ठेरो पारेका यस्ता कुराहरू समेत विद्युत् प्राधिकरण वा जलस्रोत मन्त्रालयले नेपाली जनताबाट लुकाउँदै आएका छन् ।
त्यति मात्रै होइन, नेपालकै नदीहरूबाट भारतको अत्यन्त ठूलो भूभाग सिँचाइ भई उत्पादनमा अत्यधिक वृद्धि हुँदै छ भने कोशी, गण्डक, महाकाली र टनकपुरजस्ता असमान सन्धिहरूका कारण नेपाली भूमि सिँचाइ नभई बाँझो छ । नेपालका नदी–नाला र नहरहरूको सबै साँचो भारतको हातमा छ । त्यस्तै, लक्ष्मणपुर बाँध, रसियावाल–खुर्दलोटन बाँध, कोइलाबास बाँध आदि ठाउँ र जिल्लाका सीमाहरूमा भारतले एकतर्फी बाँधहरू बनाएको हुँदा नेपालतर्फको हजारौँ हेक्टर खेतीयोग्य जमिन डुबान क्षेत्रमा परिणत भइरहेको छ । वर्षाको बेला हाम्रो धेरै भूभाग बाढीको चपेटामा पर्छन् र सुख्खा याममा हामीसँग एकथोपा पानी हुँदैन । कोशी बाँधको नेपालतर्फको नहर भारतले नखोल्दा त्यस क्षेत्रका हजारौँ–हजार बिघाको धानखेती सुक्ने गरेको छ ।
नेपालका देशभक्त जनता र राजनीतिक पार्टीहरूले भारतको त्यस मिचाहा प्रवृत्तिको विरोध गर्दै अन्तर्राष्ट्रिय सन्धिविपरीत बनेका भारतीय बाँधहरू भत्काउन आवाज उठाए । तिनीहरूले सदन र सडकमा आवाज उठाए । त्यस्तै, संसद््को परराष्ट्र एवम् मानव अधिकार समितिले पनि ती बाँधहरू भत्काउनुपर्ने निर्णय संसद्मा प्रस्तुत ग¥यो ।
भारतका माथिल्ला कर्मचारी र प्राविधिकहरू नेपालमा जतिसुकै ठूलो बाढी आए पनि नेपालको भूभाग नडुब्ने असत्य कुरा अगाडि सार्छन् । तिनीहरूले भारतमा बनेको नेपालका मुख्य–मुख्य नदीनालाका नमुना वा हाइड्रोल्याबबाट जानेका कुरा बताउँछन् । नेपालका नदी–नालाहरूमा के–कति पानी पर्दा कुन–कुन नदीले कहाँ के–कति क्षति पु¥याउँछ भन्ने अध्ययन गर्ने जलस्रोतसम्बन्धी प्रयोगशाला वा हाइड्रोल्याब नेपालमा बनेको छैन । कोशी, गण्डकी, कर्णाली वा अन्य ठूल्ठूला नदीको बाढीले गर्ने क्षतिको अनुमान गर्न नेपाल सरकारले जर्मनीमा वा भारतमा बनेका नेपालसम्बन्धी हाइड्रोल्याबको सल्लाहमा बस्नुपर्ने स्थिति छ । त्यसमा पनि भारतमा भएका दुई हाइड्रोल्याबमध्ये एउटा आफ्नो रक्षासम्बन्धी भन्छन् । विदेशी र नेपालीलाई देखाउने अर्को ल्याब कति सही छ, त्यो नेपालीहरूलाई थाहा छैन । त्यस्तै, जर्मनीमा एकजना व्यक्तिलाई एकचोटी हाइड्रोल्याब हेरेर आउन ३–४ लाख रुपियाँ खर्च लाग्छ । यसो हेर्दा नेपालको ढुकुटीको साँचो विदेशमा छ भनेमा फरक पर्दैन ।
नेपालमा कैयौँ जलस्रोतमन्त्रीहरू बनिसकेका छन् । तर, तिनीहरू कसैले पनि नेपालमा हाइड्रोल्याब बनाउने काम गरेनन् । आजसम्मका सबै सरकार वा पञ्चायतकालीन सरकारहरू, नेकांका भट्टराई, गिरिजा वा देउवा तथा एमालेका ९ महिनाको मनमोहन अधिकारीको सरकार, माओवादीको सरकार वा अनेक संयुक्त सरकारहरूको समेत यस विषयमा ध्यान नजाँदा हरेक संवेदनशील नेपालीको चित्त दुख्नु स्वाभाविकै हो । ती सरकार र नेताहरूप्रति संवेदनशील जनताको आक्रोश देखिनु पनि त्यत्तिकै स्वाभाविक छ ।
त्यति मात्रै होइन, हिजो नेपालमा २–३ जना मात्रै इन्जिनियरहरू हुँदा र जलस्रोतविद्हरू नहुँदा वा साह्रै कम हुँदा भारतले जुन–जुन खेस्रा लिएर आउँथ्यो त्यसैमा नेपाली प्रतिनिधिहरूले हस्ताक्षर गर्थे । बाटोघाटोको अभाव र कठिन भूगोलको कारण नेपाली प्राविधिक र कर्मचारीहरूलाई आफ्नै देशका नदी–नालाबारे राम्रो जानकारी थिएन, नेपाल हरेक सन्धि–सम्झौतामा ठगिँदै गयो ।
आज पनि नेपालमा जलस्रोतविद्हरूको कमी छ । नेपालका नदी–नालाहरूको हरेक महिना र मौसमको पानीको मात्रा, प्रवाह वा तल–माथिका सबै तथ्याङ्क भारतलाई थाहा हुन्छ तर नेपालको सरकारलाई थाहा हुँदैन । सन् २०२५ सम्ममा भारतको जनसङ्ख्या दोब्बर हुने अनुमान छ† जनसङ्ख्याअनुसार खाद्यान्न उत्पादन बढाउनु जरुरी छ । त्यसको निम्ति सिँचाइ र पानी प्राथमिक वस्तु हुन् । सन् २०१२ सम्ममा नेपालका सबै नदी–नाला आफ्नो हातमा लिने भारतीय पक्षको सोचबारे व्यापक चर्चा सबैले सुनेकै हो । भारतमा बग्ने सबै नदीको पानीमध्ये ४० प्रतिशत पानी नेपालबाट बग्ने नदीहरूको हो । नेपालको बाढीको पानीसमेत विभिन्न नहर र अन्य बन्दोवस्तमार्फत दक्षिण भारतसम्म पु¥याउने भारतको योजना छ । तर, अन्तर्राष्ट्रिय नियमअनुसार नदीको माथिल्लो भाग र तल्लो भागका अधिकारहरूबारे ध्यान दिन अत्यावश्यक छ । संरा अमेरिका र क्यानडा तथा ब्राजिल र पाराग्वे भन्ने देशबिचको पानीको बाँडफाँटको सन्धि–सम्झौताबारे जानकारी आवश्यक छ । ती देशहरूबिच भएका सन्धि–सम्झौताअनुसार संरा अमेरिका र ब्राजिलले क्रमशः क्यानडा र पाराग्वेलाई हरेक वर्ष अत्यन्त ठूलो रकम दिने गर्छन् । नेपालबाट भारतमा बग्ने पानीको सिँचाइबाट हुने कृषि उत्पादन वृद्धि वा जलविद्युत्बाट हुने आम्दानीको केही भाग नेपालले पनि पाउनुपर्ने आवाज केही वर्षदेखि उठ्दै आएको छ । तर, नेपालका सरकारहरू असहाय देखिन्छन् भने भारतको मिचाहा नीति झन्–झन् आक्रामक हुँदै छ ।
माथिका सबै कुराले नेपाल जलस्रोतले सम्पन्न देश भएर पनि जलस्रोतविद्हरूको कमीका कारणले जलस्रोतबाट हुने अनेक फाइदा लिन सकिएको छैन भन्ने थाहा हुन्छ । जल–यातायातको सम्भावना, मत्स्यपालन आदि विषय पनि यथावत छ । यसकारण, देशको यस्तो महत्वपूर्ण स्रोतको उपयोगका निम्ति पनि हजारौँ–हजार भाइबहिनीले जलस्रोतबारे अध्ययनमा आफ्नो ध्यान पु¥याउनुपर्ने देखिन्छ ।
पत्रकारिता
भाइ राजु र बहिनी दीपा,
तिमीहरूले पत्रमा पत्रकारिताको महत्वबारे पनि विद्यार्थीहरूमाझ छलफल भइरहेको कुरा उठाएका छौ ।
युग अगाडि बढ्दै गएपछि पत्रकारिताको महत्व पनि बढ्दै जानु स्वाभाविक हो । पहिले माथिल्ला व्यक्तिहरूको भ्रमण, राजा–महाराजा तथा सरकारीस्तरका समाचारहरू, ठूल्ठूला घटना, मानव आश्चर्य र चमत्कारका दुर्लभ विषयहरू नै समाचारका विषय बन्थे । पत्रकारिताको विकास हुँदै गएपछि अहिले विज्ञान, प्रविधि, साहित्य, यात्रा, जाति–जनजाति, तिनीहरूका रीतिरिवाज, चाल–चलन वा संस्कृति, कला, पशुपन्छी, कृषि, वन, जङ्गल र औद्योगिक उत्पादन, व्यापारिक गतिविधि, सहरदेखि गाउँ र राजधानीदेखि दुर्गम जिल्लासम्मका शिक्षा, स्वास्थ्य, प्रगति एवम् विकास–निर्माणका गतिविधिसमेत समाचारका विषय बन्दै गयो ।

हुन पनि पत्रकारिताको विकासले अत्यन्त महत्वपूर्ण तर कसैको ध्यानसमेत नगएको विषयलाई समेत समाजको अगाडि उजिल्याई जनतालाई जानकारी दियो । पत्रकारिता नहुँदो हो त प्रचार गर्नुपर्ने वा जनतालाई सुसूचित गर्नुपर्ने विषय पनि जनता वा सरकारलाई समेत साह्रै पछि मात्रै थाहा हुने थियो । यसकारण, पत्रकारिताको महत्व स्पष्ट हुन्छ ।
पत्रकारिता आस्था र व्यावसायिक गरी दुई भागमा विभाजित छ । आस्था वा मिसन पत्रकारिता एउटा निश्चित वैचारिक उद्देश्य लिएर अगाडि बढेको हुन्छ भने व्यावसायिक पत्रकारितामा रोजगारी, उद्योग, व्यापार वा नाफाको निम्ति पुँजी लगानी गरिएको हुन्छ । आस्थाको पत्रकारिताले प्रजातन्त्र, समाजवाद वा साम्यवादजस्तो कुनै एउटा राजनीतिक दर्शनको आधारमा एक आदर्श समाज निर्माण गर्न, समाजका विकृतिमा सुधार ल्याउन एवम् शिक्षा तथा स्वास्थ्यको निम्ति आफूलाई समर्पित गर्ने गर्छ भने व्यावसायिक पत्रकारिताले साहु–महाजन, उद्योगपति वा व्यापारीहरूसँग रक्सी, जाँड, चुरोट, कोकाकोलाजस्ता पेय पदार्थ र अन्य वस्तुको विज्ञापन लिएर वा प्रचार गरेर केहीलाई रोजगारी उपलब्ध गराउँछ र नाफालाई प्राथमिकता दिन्छ । व्यावसायिक पत्रकारिता पहिले पत्रिकालाई व्यापारिक ढङ्गले नाफामा चलाउन सुरु हुन्छ भने पछि एक सेवा उद्योगको रूपमा अगाडि बढ्छ । त्यसले उद्योग वा अन्य विषयको प्रचार वा विज्ञापनकै निम्ति पत्रकारितालाई अगाडि बढाउँछ – रङ्गीन गरेर होस् वा विविध सामग्री दिएर होस् वा अश्लिल फोटो राखेरै किन नहोस् ।
व्यावसायिक पत्रकारिताले एक प्रकारको पुँजीपति वर्ग वा सत्तामा बस्ने अल्पतन्त्रवादीहरूको अङ्गको रूपमा काम गर्छन् । अन्त्यमा व्यावसायिक प्रचारमाध्यमहरू विदेशी पुँजीकै एक भाग हुन थाल्छन् । नेपालमा पनि कतिपय छापा तथा विद्युतीय प्रचारमाध्यम विदेशी पुँजीबाट सञ्चालित छन् र तिनले निश्चित वर्ग एवम् राजनीतिक पक्षको सेवा गर्दै छन् । ती बहुराष्ट्रिय कम्पनीका प्रचारमाध्यमले जनमतलाई पहिले आफ्नो पक्षमा लिन्छन् र पछि साम्राज्यवादी हस्तक्षेप एवम् आक्रमणको वकालत गर्न पुग्छन् ।
तिमीहरूले केही उदाहरणीय पत्रकारहरूको बारे जिज्ञासा राखेका थियौ । त्यसो त माक्र्स र एँगेल्सले पनि जर्मनीको क्रान्तिको बेला ‘राइन समाचार’ (राइनिश्चे जाइटुङ) पत्रिका प्रकाशित गरेर त्यसलाई समाजमा क्रान्तिको दूत बनाउनुभएको थियो भने लेनिनले ‘फिलिङ्गो’
(इस्क्रा) पत्रिका प्रकाशन गर्नुभयो र पेशाका हिसाबले आफूलाई उहाँ एक पत्रकार नै सम्झनुहुन्थ्यो । त्यस्तै, स्तालिन र माओ त्से–तुङले पनि समाचारपत्रदेखि पार्टी मुखपत्रसम्मका प्रकाशनमा काम गर्नुहुन्थ्यो भने हो चि–मिन्हले संवाददाता भई अल्जेरियामा काम गर्नुभयो ।
जोन रिड
पत्रकारकै हिसाबले एकजना कहलिएका व्यक्ति जोन रिड पनि हुन् । संरा अमेरिकाको एक सम्पन्न परिवारका युवक विश्वविद्यालयमा समाजवादी विचारसँग परिचित भए । परिवारले त्यसलाई उनको युवासुलभ भावना सम्झे र पछि पारिवारिक सम्पत्ति एवम् सम्पन्नता थाहा पाएपछि आफ्नो विचार बदल्ने अनुमान गरे । तर, उनले पत्रकार भई मेक्सिकोको किसान आन्दोलनबारे समाचारमार्फत संसारलाई सुसूचित गर्दै गए† खानी र कारखाना वा जहाँ–जहाँ आन्दोलन र सङ्घर्ष हुन्छ, त्यहाँ–त्यहाँ पुगेर वास्तविक स्थिति उदङ्ग्याउँदै कामदार वर्गमाथि भइरहको अन्याय, अत्याचार र शोषणलाई सबैको सामुन्ने प्रस्ट पार्ने काम गर्दै गए ।
सन् १९१७ मा रुसमा मजदुर वर्गको पार्टी बोल्सेभिकको नेतृत्वमा समाजवादी क्रान्तिको पहिलो बन्दुक पड्क्यो । जोन रिडले पुँजीपति वर्गको स्वार्थ बोक्ने करेन्स्कीको सरकारका प्रमुख व्यक्तिहरूका दरबार र कार्यालयहरू तथा बोल्शेभिक नेताहरूको सङ्घर्षको थलो र गुप्त ठाउँहरूमा समेत पुगेर लडाइँको वास्तविक स्थितिबारे संसारलाई सुसूचित गर्दै गए । गोली हानाहान भइरहेको ठाउँबाट एक सडक हुँदै अर्को सडक, एक गल्लीबाट अर्को गल्ली तथा एक प्रान्त, जिल्ला र गाउँबाट अर्को प्रान्त, जिल्ला र गाउँ पुगेर क्रान्तिको स्थिति, जनताको मनोभावना तथा क्रान्तिकारी र क्रान्तिविरोधीहरूको हार–जितबारे ‘न्युयोर्क टाइम्स’ भन्ने समाचारपत्रलाई खबर पठाउँदै गए ।
रुसी अक्टोबर क्रान्तिका ती सबै नागबेली बाटो, हार–जित र रगताम्य सङ्घर्षबारे प्राप्त सबै दस्तावेज एवम् समाचारहरूका कागजपत्रको अध्ययन गरी जोन रिडले ‘संसारलाई हल्लाउने ती दश दिन’ शीर्षकको पुस्तक लेखेर विश्वका जनतामाझ त्यसबेला आँखाले देखेका घटनाहरूको वर्णन प्रस्तुत गरे । त्यो पुस्तक संसारभरि नै एक अति महत्वपूर्ण पुस्तक बन्यो । पत्रकारिताको जगतमा नयाँ जाज्वल्यमान् कृति थपियो । लेनिनले मन पराउनुुभएका पुस्तकमध्ये त्यो एउटा थियो । यात्रा वर्णन, उपन्यास र लघुकथामात्रै पाठ्यसामग्री सम्झिने युरोपमा र बाइबलपछि फ्रान्सेली क्रान्तिबारे मात्र बढी पढिने संसारमा ‘संसारलाई हल्लाउने ती दश दिन’ एउटा उत्कृष्ट र अत्यन्त महत्वपूर्ण पठनीय सामग्री बन्यो । अक्टोबर क्रान्तिले साहित्य संसारमा पनि नयाँ क्रान्ति ल्यायो ।
त्यस्तै, युवा अवस्थामै अमेरिकाको प्रवासमा रहेका पत्रकार अल्बर्ट रीस विलियम्सले ‘अक्टोबर क्रान्ति’ नामक पुस्तक लेखेर बोल्सेभिकहरूको मानवीय गुण, रुसी जनताको भावनाका साथै प्रतिक्रियावादी वर्गका सबै क्रान्तिविरोधी जालसाजीहरू उदङ्ग्याइदिए । बोल्सेभिक क्रान्तिबारे यस्ता राम्रा–राम्रा पुस्तक वा रिपोर्टहरू त्यसबेला नलेखिएका भए संसारका जनताले धेरैपछि मात्रै रुसी समाजवादी अक्टोबर क्रान्तिको वास्तविकता थाहा पाउँथे ।
एड्गर स्नो
एड्गर स्नो पनि अमेरिकी पत्रकार हुन् । चिनियाँ क्रान्तिको समयमा चिनियाँ जनताले आफ्ना नेताहरूबारे जानकारी पाइसकेका थिएनन् । त्यस्तो बेला अनेक पहाड र नदी–नाला पार गर्दै चिनियाँ कम्युनिस्ट पार्टीका नेताहरू अध्यक्ष माओ त्से–तुङ, चाउ एन–लाइ र अन्य नेताहरूसँग गुफा–गुफामा गई भेटेर संसारलाई त्यसबारे जानकारी दिने व्यक्ति नै एड्गर स्नो थिए । पहिले समाचारको रूपमा अमेरिकी समाचारपत्रमा पठाएकै रिपोर्टलाई ‘चीनको आकाशमा रातो तारा’ भन्ने पुस्तकको रूप दिई संसारलाई चिनियाँ क्रान्तिको उद्देश्य, उपाय र त्यसका अग्रदूतहरूबारे जानकारी दिने व्यक्ति नै एड्गर स्नो हुन् । उनले चीनजस्तो विशाल, विकट र रहस्यमयी देशको क्रान्तिको स्पष्ट तस्बिर खिचेर पत्रकार र लेखकको रूपमा चीनबारे अनेक रचनाहरू दिएर चीनको आजको दिनको चित्र कोरेका थिए ।
उनको योगदानलाई चिनियाँ कम्युनिस्ट पार्टी, सरकार र चिनियाँ जनताले बिर्सेका थिएनन् । भियतनाम युद्धको अन्त्यतिर भियतनामले संरा अमेरिकालाई आच्छु–आच्छु पारिरहेको थियो । अमेरिकाको चीनसँग कूटनीतिक सम्बन्ध थिएन । चीनको सहयोगविना भियतनामबाट अमेरिका बाहिर निस्कन सक्ने सम्भावना थिएन । संसारलाई हात–हतियार र डलरले जित्न खोज्ने अमेरिकी साम्राज्यवाद चीनसँग कूटनीतिक सम्बन्ध राख्न अति छट्पटाइरहेको थियो । तर, सूत्र पाइनसकेको बेला एड्गर स्नोलाई अमेरिकी राष्ट्रपतिले स्वीट्जरल्यान्डबाट झिकाई चीनमा आफ्नो सन्देशबाहक बन्न आग्रह गरे किनभने अमेरिकी सरकारले प्रस्ताव राखेका अनेक व्यक्तिहरूलाई चीनले भीसा (प्रवेशाज्ञा) दिएको थिएन । तर, एड्गर स्नोको नाम पाउनासाथ चिनियाँ सरकारले हरियो बत्ती देखायो र झन्डै २० वर्षदेखि विच्छेद भएको सम्बन्ध जोड्नमा एड्गर स्नो उपयुक्त पुल साबित भए ।
Leave a Reply