बुद्धिजीवीहरूको दृष्टिकोण फराकिलो हुनुपर्छ
- असार २, २०८३
भागबन्डा गरेर सत्तामा जानु नै पार्टीको धर्म सम्झेका देशका शासक कम्युनिस्ट पार्टीहरूले अब शिक्षा लिनुपर्छ । सरकारको नेतृत्व नगरी नहुने शासक कम्युनिस्ट पार्टी र पार्टीका नेताहरूले अकुत सम्पत्ति कमाए पनि, आफ्ना आसेपासेका मान्छेलाई जागिर दिए पनि, राज्यको स्रोत र साधनमा रजाइँ गरे पनि निर्वाचनमा भएको लजास्पद हारबाट शिक्षा लिएर अबदेखि कम्युनिस्टको सिद्धान्त र विचार जनतामाझ पु¥याएर जनतालाई सचेत र सङ्गठित गर्नेतर्फ एमाले र नेकपाको ध्यान पुग्नुपर्छ । सरकारमा जाने र दाइँ गर्ने मानसिकताले आखिरमा एक समय देशकै ठुलो दल बनेको पार्टीको चुनावपछिको नतिजाले दललाई कहाँनेर पु¥याउँछ भन्ने कुरा घटनाक्रमले देखाइसकेको छ । कम्युनिस्ट भन्ने पार्टीले सरकारमा गएर कम्युनिस्टको सिद्धान्त र विचार एक ठाउँमा थन्काएर पुँजीपतिवर्गको राजनीति ग¥यो । सिद्धान्तविपरीत राजनीति गरेको कारण जनतामा वितृष्णा फैलियो । सत्ता भागबन्डामा फसेर दलगत र व्यक्तिगत स्वार्थ मात्र हेरेको कारण युवा विद्यार्थीमा समेत असन्तोष हुनु स्वाभाविक हो ।
देशका सबै कम्युनिस्ट पार्टीहरूले कम्युनिस्ट सिद्धान्तअनुसार राजनीति गरेका भए जनता पद, पैसा र लोभलालचमा फस्ने छैनन्† दलका नेता, मन्त्री र सांसदहरू सत्तामुखी हुने छैनन् । कम्युनिस्ट भन्ने पार्टीले वर्ग शत्रुको विरोध गर्नुको सट्टा उल्टो कम्युनिस्ट पार्टीको विरोध ग¥यो । कम्युनिस्ट पार्टीले कम्युनिस्ट पार्टीको विरोधमा पुँजीपतिवर्गको पार्टीसँग साँठगाँठ ग¥यो । पुँजीपतिवर्गसँग साँठगाँठ गरेको कम्युनिस्ट भन्ने दलले कसरी कम्युनिस्टको सिद्धान्तअनुसार बहुमत जनताको पक्षमा काम गर्छ ? कम्युनिस्टहरूले पुँजीपतिवर्गसँग मिलेर पुँजीपति, सामन्त, जालीफटाहाहरूको पक्षपोषण गरेकै कारण एमाले र नेपाली कम्युनिस्ट पार्टीको स्थिति दयनीय भएको हो ।
माक्र्सवाद जीवनमा लागू हुने दर्शन र सिद्धान्त हो । नेपालमा पनि यो दर्शन र विचार लागू हुन्छ । तर, माक्र्सवादलाई अन्धानुकरण गरेर होइन, देशको परिस्थितिअनुसार लागू गर्नुपर्छ । कम्युनिस्टको खोल ओढेर माक्र्सवादको नाउँमा पुँजीवादी सरकारमा गएर दलगत तथा व्यक्तिगत स्वार्थ पूरा गर्नेहरूलाई कोरा सिद्धान्तवादीको आरोप लगाउनुमा के आश्चर्य ? नेपालमा माक्र्सवाद–लेनिनवाद लागू गर्न नचाहने कम्युनिस्टहरू कसरी सही कम्युनिस्ट हुन्छन् ? वर्ग शत्रु चिनेर सङ्घर्ष गर्नुपर्ने कम्युनिस्टहरू पुँजीपतिवर्गको पार्टीसँग मिलेर राज्यकोषामा रजाइँ गर्न पल्केपछि देशमा कसरी आमूल परिवर्तन हुन्छ ? कम्युनिस्टहरू बहुमत जनताको सेवा गर्न आमूल परिवर्तनको बाटोमा लाग्ने कि सत्तास्वार्थमा लागेर पुँजीपति वर्गको सेवा गर्ने ?
सत्तामुखी कम्युनिस्ट पार्टीले जनतामाझ राजनीति नगरेको कारण कम्युनिस्ट पार्टी र कम्युनिस्ट पार्टीको आन्दोलन पछि परेको हो । २२ वटा पार्टी मिलेर बनेको नेपाली कम्युनिस्ट पार्टीको प्रत्यक्ष सीट जमा ७ वटा मात्र कसरी भयो ? त्यस पार्टीका नेताहरूले पार्टी एकताको बेला र चुनावताका सबभन्दा ठुलो दल बनाउने र बहुमत प्राप्त गर्ने उद्घोष गरेका थिए । तर, परिणाम उल्टो भयो । नेपाली कम्युनिस्ट पार्टी खुम्चियो । नोक्सान पुँजीवादी पार्टीलाई होइन कम्युनिस्ट पार्टीलाई भयो । आफूले कम्युनिस्ट पार्टीको मूल्य र मान्यताअनुसार काम नगरी कम्युनिस्ट पार्टीको सिद्धान्त र विचार गाउँ–ठाउँ र बस्ती बस्तीमा पु¥याएर समाजवादी प्रचार अभियानमा लागेका दलको पनि विरोध गर्ने दलहरू देखिए ।
पार्टीको मार्ग निर्देशक सिद्धान्त माक्र्सवाद–लेनिनवाद हो भने के त्यो मान्यताअनुसार दलले राजनीति गर्नुपर्दैन ? के आमूल परिवर्तनको निम्ति पूर्वाधार तयार गर्नुपर्दैन ? वर्ग शत्रु चिनेर वर्गसङ्घर्षको निम्ति सैद्धान्तिक आधार तयार गर्नुपर्दैन ? ठुलो दलको अभिमानी गरेर, ठुलो दललाई नै सच्चाइ या सद्दे पार्टी ठान्ने राजनीति सही होइन भन्ने कुरा घटनाक्रमले देखाइसकेको छ । विगतमा नेका, एमाले र माओवादीले ठुलो पार्टी हुनुलाई सद्दे पार्टीको आधार माने । हिजोको कुरालाई सही मान्ने हो भने अहिले एमाले र नेपाली कम्युनिस्ट पार्टी सद्दे पार्टी होइन भन्ने कुरा पुस्टि भएन र ? अतः पार्टी ठुलो हुनु नै सच्चाइको मापण्ड होइन । देश, काल र परिस्थितिअनुसार दल कहिले ठुलो र सानो हुन्छ । दल ठुलो हुँदा ठीक र नहुँदा बेठीक हुन्छ भन्ने कुरा दृष्टिदोषबाहेक अरु केही होइन ।
हिजो दल ठुलो हुँदा गर्व गर्ने, अरु दल र दलको कुरालाई टेरपुच्छर नगर्ने दल र दलका नेताहरू अहिले नुन खाएको कुखुरोझैँ भएका छन् । प्रतिनिधिसभाको निर्वाचनमा नसोचेझैँ नतिजा आयो भनी नेताहरू शिर निहुँराउँदै छन् । विगतमा देशको सबभन्दा ठुलो दल नेकालाई प्रयोग गरेर एमाले र माओवादीले पालैपालो शासन गरे । सहमतिअनुसार नेकाले शासन गर्न नपाउँदै सरकार ढल्यो । निर्वाचनमा नेका र एमाले नमज्जासँग हारे । दल ठुलो हुँदा सही र सानो हुँदा गलत हुने सोचाइ गलत हो भन्ने कुरा नेका र एमाले आफैले अनुभव गरेको होला ।
Leave a Reply