क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
कार्ल माक्र्सको मृत्यु १८८३ मार्च १४ मा भयो ।
एकछिन शीतयुद्धताका हुने झूटो प्रचारबाजीलाई एकातिर थन्क्याएर हेरौँ । अनलाइनमा आउने कार्टुन संस्करणलाई पनि पन्छाएर हेरौँ । खासमा माक्र्सले जे गर्नुभयो, त्यो एकदम सरल छ । उहाँले पुँजीवादलाई नियाल्नुभयो र एक यस्तो प्रश्न गर्नुभयो, जुन प्रश्नलाई शिष्ट समाजले दबाउने गर्छ । शिष्ट समाज यो प्रश्न कसैले नसोधोस् भन्ने चाहन्छ । माक्र्सको प्रश्न एकदम सामान्य छ :
काम कसले गर्छ र पैसा कसले लैजान्छ ?
माक्र्सले वर्षौँवर्ष कारखाना, ज्याला, उत्पादन र आर्थिक मन्दीको अध्ययन गर्नुभयो । उहाँले जे कुरा पहिल्याउनुभयो त्यो पुस्तौँपुस्तादेखि मजदुरहरूले अन्तरमनले महसुस गर्दै आएका थिए । जसले धन उत्पादन गर्छ, ती मानिसले धनमा नियन्त्रण जमाइरहेका थिएनन् । मजदुरहरूले सडक बनाउँछन् । मजदुरले नै खानीबाट कोइला निकाल्छन् । मजदुरले मेसिन चलाउँछन् । मजदुरहरूले वस्तु उत्पादन गर्छन् ।
तर, नाफा जति अन्तै जम्मा हुन्छ ।
माक्र्सले यसलाई शोषण भन्नुभयो । उहाँले अपमानको रूपमा त्यो शब्द प्रयोग गर्नुभएको थिएन । बरु, यो व्यवस्था वा प्रणालीले कसरी काम गर्छ भनी देखाउन यो शब्द प्रयोग गर्नुभएको थियो । एक मजदुरले दिनमा २०० डलरको मूल्य पैदा गर्छ भने उसले ज्यालामा ८० डलर मात्र पाउँछ । बाँकी मूल्य कतै अलप हुन्छ । यो मूल्य माथि बस्ने मालिक, लगानीकर्ता र सेयरधनीको खल्तीमा चढ्छ । यसैलाई माक्र्सले अतिरिक्त मूल्य भन्नुभयो ।
यो खेल एकचोटि बुझेपछि माक्र्सले लगातार बताउनुभएको अर्को कुरामा तपाइँको ध्यान जान्छ । वर्गसङ्घर्ष भनेको कार्टुनहरूमा रातो झन्डावरिपरि दौडिने मानिसहरू जस्तो कुरा होइन । यो वास्तविक हो । दिनकै मानिसले चलाउने सङ्घर्ष हो । ज्याला, भाडा, स्वास्थ्य सेवा, कामको घण्टा, युनियनका विषयमा हुने दिनदिनैको सङ्घर्ष हो – वर्गसङ्घर्ष । समाजले उत्पादन गर्ने धन कसले लग्ने भन्ने मुद्दामा हुने हानथाप हो – वर्गसङ्घर्ष ।
आज तपाइँले यो सङ्घर्षलाई जति स्पष्ट देख्नुभएको छ । त्यति नै स्पष्ट रूपमा १९ औँ शताब्दीमा माक्र्सले यो सङ्घर्ष देख्नुभएको थियो ।
मजदुरहरूले स्वास्थ्य उपचारका लागि पैसा छैन भने । तर, युद्ध गर्न जहिल्यै पैसा हुन्छ । शिक्षकहरूले आफ्नो बजेट एकदम कसिलो छ भने । तर, ठुला कम्पनीहरूले जहिल्यै कर छुट पाउँछन् । साना समुदायहरूले विकासमा एकदम तौलेर खर्च गर्छन् । तर, अर्बपतिहरूले देशको सम्पत्तिभन्दा बढी धन थुपार्छन् ।
यो खेल वास्तविक जीवनमा पनि हेर्नु छ भने मोन्टाना राज्यका मानिसले आफ्नो सहर छोडेर अन्त जानुपर्दैन ।
सन् १९०० को पहिलो दशकमा मोन्टानाको ब्युट क्षेत्रमा रहेको तामा खानीमा निकै काम हुन्थ्यो । यो अमेरिकाको सबैभन्दा खतरनाक औद्योगिक क्षेत्र थियो । तामाका खानीहरू एउटा शक्तिशाली कम्पनीको हातमा थिए । कम्पनीको नाम थियो – एनाकोन्डा तामाखानी कम्पनी । मोन्टानाको अर्थतन्त्र र राजनीतिमा यही कम्पनीको दबदबा थियो । खानी खन्नेहरूले दिनको अधिकांश समय जमिनमुनि विषालु धुलो, गुफा र बम विस्फोटबिच बिताउँथे । उनीहरूको परिश्रमले खानीमाथि अकुत धन जम्मा हुन्थ्यो ।
त्यसपछि ठुलै आँधी आयो । राज्त्रि आक्रोशको आगो बल्यो । सन् १९१७ मा ‘स्पेक्युलेटर खानी’ कम्पनीमा भएको दुर्घटनामा १६८ खानी खन्नेहरू मारिए । यो दुर्घटना अमेरिकी इतिहासकै सबैभन्दा ठुलो विपद् थियो । वर्षौँदेखि मजदुरहरूले सुरक्षित कार्यस्थलको माग गर्दै आएका थिए । दुर्घटनापछि ठुलो मजदुर आन्दोलन चर्कियो । उनीहरूले विभिन्न मजदुर सङ्गठन बनाए । तीमध्ये एउटा थियो ‘विश्वका औद्योगिक मजदुरहरू’ नामक सङ्गठन । मजदुरहरूले विलासी जीवन मागेका थिएनन् । उनीहरूले ‘अरूको नाफाको लागि हामी जमिनमुनि पुरिएर मर्दैनौँ’ भनेका थिए ।
शक्तिशाली तप्काले तुरुन्तै जवाफ फर्कायो । मजदुर सङ्गठकहरूलाई सताउन थालियो । मजदुर नेताहरूलाई जेलमा थुनियो । कतिपय नेताको हत्या पनि गरियो । तीमध्ये सबैभन्दा कुख्यात घटना थियो मजदुर सङ्गठक फ्राङ्क लिटलको हत्या । उनले खानी कम्पनी र युद्धबाट नाफा कमाउने खेलको निन्दा गरेका थिए । त्यही भएर सन् १९१७ मा ब्युट इलाकामा उनको कुटीकुटी मारियो ।
मजदुर र सत्ताबिच लडाइँ खानीहरूमात्र भएको थिएन । सडकमा पनि यो लडाइँ देखियो ।
सन् १९०० को पहिलो दशकमा ‘विश्वका औद्योगिक मजदुरहरू’ नामक सङ्गठनका सदस्यहरूले मोन्टानाको मिसुला सहरमा वाक् स्वतन्त्रताको लागि लगातार सङ्घर्ष गरे । त्यो बेला स्थानीय अधिकारी र उद्योगपतिहरूले सडकमा हुने कोणसभा गरेर बोल्न नपाइने नियम बनाए । उनीहरूले मजदुरहरूलाई सङ्गठित हुनबाट रोक्न बोलीमा बन्देज लगाए । मजदुरहरूले त्यो बन्देज तोडेर जवाफ दिए । उनीहरू पालैपालो साबुन प्याक गर्ने ठुला बाक्साहरूमा चढ्थे र बोल्थे । उनीहरूले ज्याला, शोषण र मजदुरहरूका हकहितबारे बोले ।
प्रहरीले दर्जनौँ मजदुरहरूलाई पक्राउ ग¥यो ।
मजदुरहरूको सङ्ख्या बढ्दै जाँदा जेलखानाहरू टनाटन भए ।
कतिपय मजदुरलाई निर्घात कुटियो । कसैलाई खुट्टा टेक्ने ठाउँ नभएका कोठाहरूमा कोचियो । तर, प्रहरीको धरपकडले मजदुरहरूलाई चनाखो मात्र बनायो । उनीहरू आफ्नो लक्ष्यप्रति झन् कटिबद्ध भए । अन्त्यमा नगर प्रशासन झुक्नुप¥यो । मजदुरहरूले फेरि सार्वजनिक रूपमा बोल्ने अधिकार पाए ।
पश्चिमा अमेरिकामा वाक् स्वतन्त्रताका लागि भएका सुरुका सङ्घर्षहरूमा पर्छ त्यो लडाइँ । यहाँ वाक् स्वतन्त्रता सिधै मजदुर आन्दोलनले ल्याएको थियो ।
मोन्टानामा यसरी भएको थियो – वर्गसङ्घर्ष ।
दशकौँसम्म एनाकोन्डा तामाखानी कम्पनीले पूरै मोन्टाना राज्यको राजनीतिलाई नियन्त्रणमा राखिरह्यो । त्यो बेला मानिसहरू ठट्टा गर्दै भन्थे रे, “चिहानबाहेक सबथोकको मालिक कम्पनी हो ।” पत्रपत्रिका, सांसदहरू र नीतिनियम सबै कम्पनीको पक्षमा थिए । सबैले कम्पनीको सत्ताको रक्षा गर्थे । मजदुरहरू मात्र लडाइँमा थिए । उनीहरू युनियन बनाउने अधिकार, ज्यालावृद्धि र सुरक्षित कार्यस्थलका लागि लड्थे ।
अब हामी सिधै आजको संसारमा फर्कौँ । आज पनि वर्गसङ्घर्षको स्थिति उस्तै छ । मोन्टानाको मिसुला सहरमा आवासको अधिकारका लागि सङ्घर्ष चलिरहेको छ । लगानीकर्ताहरूले आवासमा लगानी बढाएसँगै घरभाडाको दर एकाएक बढेको छ । यसको मार श्रमजीवी जनतामा परेको छ । आज पनि ज्यालावृद्धि, स्वास्थ्य उपचार र सरकारी सेवाका लागि लडाइँ चलेकै छ । राजनीति गर्ने नेताहरूले धनाढ्यहरूलाई कर छुट दिन्छन् । तर, ‘शिक्षक, नर्स र कामदारका जहानपरिवारलाई छुट खोइ’ भनी सोध्दा नेताहरू ‘समुदायलाई दिन पुगिसरि पैसा छैन’ भन्छन् ।
हामी अर्को शताब्दीमा बाँचिरहेका छौँ । तर, लडाइँ उहीँ छ ।
यी अन्तर्विरोधहरूको आविष्कार माक्र्सले गर्नुभएको होइन । उहाँले त ‘यस्तो अन्तर्विरोध छ है’ भनेर देखाइदिनुभएको मात्र हो ।
त्यही भएर मरेको एक शताब्दी बितिसक्दा पनि मानिसहरूले उहाँबारे कुराकानी गर्छन् । माक्र्सले सर्वसाधारण जनतालाई एउटा खतरनाक प्रश्न गर्न सिकाउनुभयो – समाजको यो ढाँचाबाट कसलाई फाइदा हुन्छ ?
जनताले यो प्रश्न गर्न थालेपछि कुराकानी अन्तै मोडिन्छ । माक्र्सको निधन भइसक्यो । तैपनि, यो प्रश्नले शक्तिशाली तप्कालाई चैनले बस्न दिएको छैन । एउटा प्रेतले झैँ उनीहरूलाई यो खतरनाक प्रश्नले सधैँ सताइरहेको हुन्छ ।
(स्रोत : एमआर अनलाइन । सम्यक)
Leave a Reply