भर्खरै :

मलाई पनि ‘लाँबो’ बाटोे देखाएर नक्सा पास प्रक्रिया अगाडि बढाउन मन थिएन

मलाई पनि ‘लाँबो’ बाटोे देखाएर नक्सा पास प्रक्रिया अगाडि बढाउन मन थिएन

वडाध्यक्षको डायरीबाट

दोस्रो प्रहरको समय चलिरहेको थियो । वडामा अलि सेवाग्राहीहरूको भीड कम थियो । म आफ्नो कार्यालयमा फाइलहरू मिलाउँदै थिएँ । त्यहीँ समयमा वडाका प्राविधिक बहिनी कार्यालयमा एक जना अर्को बहिनीसँग आउनुभयो । दुवै जनाले मलाई नमस्कार गर्नुभयो । मैले पनि नमस्कार फर्काउँदै सोफामा बस्न अनुराधे गरेँ । वडाको प्राविधिक बहिनीको हातमा एउटा मोटो कागजात भएको फाइल थियो । मैले प्राविधिक बहिनीलाई आफ्नो कुरा राख्न अनुरोध गरेँ । अरू बेला पनि नक्सा पासका फाइलहरूको केही समस्या आउँदा परामर्शको लागि आउने गर्दथ्यो । त्यही अनुमान गरेर मैले प्राविधिक बहिनीलाई आफ्नो समस्या राख्न अनुरोध गरेँ ।
प्राविधिक बहिनीले फाइल पल्टाएर मेरो टेबुल अगाडि राख्दै भन्नुभयो, “सर यो नक्सा पास प्रक्रियाको लागि आएको फाइल यो बहिनीको रहेछ । यो बहिनीको नाम गीता बोयजु (नाम परिवर्तित) हो । उहाँको घर अर्कै नगरपालिकामा पर्दछ । उहाँले हाम्रो वडाको एउटा चोकमा रहेको दीपिका मिसको घर किन्नुभएको रहेछ । २०७२ साल वैशाख १२ गते आएको भूकम्पले पूर्ण क्षतिमा परेको उक्त घर एक तलामात्र बाँकी राखी भत्काउनुभएको रहेछ । अहिले गीता बहिनीले नक्सा पास गर्न पूरै घर भत्काएर नक्साङ्कन गर्नुभएको छ । नगरपालिकामा नक्सा दर्ता गरी म्याद दिएर सरजमिन गर्न हाम्रो वडामा फाइल पठाउनुभएको रहेछ । आजभन्दा बीस दिन अगाडि चारकिलाका छिमेकीहरूलाई म्याद दिइसकेका छौँ । अस्ति पन्ध्र दिन पुगेपछि सो¥हाँै दिनमा सरजमिनका लागि फिल्डमा हामी गर्यौँ । घरको पछाडि एउटा मन्दिर भेटियो । मन्दिर हेर्दा ऐतिहासिक र पुरात्तात्विक महत्वको जस्तो लाग्यो । ऐतिहासिक मन्दिर भएकोले र सम्पदा क्षेत्रमा पर्ने भएकोले सरसँग एकपटक छलफलको लागि हामी दुवै जना भेट्न आएका हौँ । सरजमिन गर्ने क्रममा मन्दिरको विषयमा खासै केही विवाद छैन । चारकिलाको सिमानाको विषयमा पनि विवाद छैन । चारकिलाका सबै छिमेकीले हस्ताक्षर पनि गरिदिनुभएको छ । तर, पनि मलाई अलि शङ्का लागेको छ । तपार्इँलाई जानकारी नै नदिई नक्साको फाइल अगाडि बढाउनु निको लागेन । त्यसैले, छलफल गर्न आवश्यकजस्तो लाग्यो । मन्दिरलाई गहिरिएर अध्ययन गर्ने क्रममा मन्दिरभित्र शिलालेख भेटियो । मन्दिर निकै कलात्मक छ तर बुट्टाहरू खिएर गएको देखिन्छ । धेरै पुरानो मन्दिरजस्तो लाग्यो । कसैको घर पछाडि मन्दिर हुनु भनेको सार्वजनिक हो कि भन्ने लाग्यो । यदि सार्वजनिक हो भने घरधनी गीता बोयजुले बाटो देखाउनुपर्ने हुन्छ । शिलालेख एकपटक विज्ञ व्यक्तिलाई देखाएर यसको आशय बुझ्न पाए राम्रो हुन्छ । सरले शिलालेख पढ्न सक्नुभयो भने झन्नै राम्रो हुन्छ । त्यसैले तपार्इँ पनि एक पटक फिल्डमा जाने हो कि ?”
प्राविधिकको कुरा सुनेपछि मैले फाइल सरसरती अध्ययन गरेँ । फाइलमा सबै चारकिलाका छिमेकीले हस्ताक्षर गरेको देखेँ । प्राविधिक बहिनीले पनि हस्ताक्षर गर्नुभएको रहेछ । मेरो आफ्नै हस्ताक्षर र चलानी चिठीमा हस्ताक्षरमात्र गर्न बाँकी रहेछ । मैले दुवै ठाउँमा हस्ताक्षर गरेपछि फाइल नगरपालिकामा जान्छ । राजस्व तिर्ने प्रक्रिया पनि भइसकेको रहेछ । एक हिसाबले वडामा ९० प्रतिशतभन्दा बढी काम सकिसकेको रहेछ । केही बेर फाइल हेरेपछि गीतालाई आफ्नो कुरा राख्न अनुरोध गरेँ । गीताले भन्नुभयो, “सर, हामीले घर किनुभन्दा अगाडि नै मन्दिर रहेछ । सार्वजनिक मन्दिर होइन होला । दीपिका मिसका छोराले आफ्नै निजी मन्दिर भन्नुभएको थियो । उहाँका पुर्खाहरूले मन्दिर बनाएको भन्नुभएको थियो । तर पनि भित्र शिलालेख रहेछ । हामीलाई त्यस विषयमा ज्ञान छैन । पहिला शिलालेख याद पनि भएन । मन्दिर मात्र याद भयो । सार्वजनिक मन्दिर भए हामी बाटो छोडिदिछौँ । यसमा फरक नपर्ला । तर, शिलालेखमा के लेखिएको छ भन्ने कुरा थाहा भएन । शिलालेख एकपटक विज्ञलाई देखाउँदा केही फरक नपर्ला । तपार्इँ हेरेर गर्नुस् । मलाई कुनै आपत्ति छैन । तर, अलि छिटो गरिदिनुभए नक्सा पास गरेर घर बनाउन पाउनेछौँ । त्यसैले, सरले फिल्ड निरीक्षण गरी आवश्यक परामर्श दिनुहोला ।”
मैले दुवै जनाको आशय बुझेँ । समस्या पनि थाहा पाएँ । शिलालेखको विषयमा अध्ययन र अनुुसन्धान गर्ने आफ्नै गुरु डा. पुरुषोत्तमलोचन श्रेष्ठ सर हुनुहुन्थ्यो । उहाँले शिलालेख हेर्नुभएमा सबै छर्लङ्ग हुनेछ । सर इतिहास विषयमा पीएचडी गर्नुभएको व्यक्ति हुनुहुन्छ । उहाँले इतिहाससम्बन्धी पुस्तकहरू प्रकाशन गर्नुभएको छ । विगतमा यस्तै पुरातात्विक वस्तु फेला परेको अवस्थामा उहाँलाई देखाउने र उहाँले ऐतिहासिक र पुरातात्विक वस्तु भएको यकिन गरेमा नक्सा पास प्रक्रिया रोकेको घटना स्मरण भयो । मैले दुवै जनालाई सरको बारेमा बताएँ । दुवै जनाले पुरुषोत्तम सरलाई देखाउँदा उचित हुने बताउनुभयो । त्यही कुराकानीकै क्रममा वडाका ज्येष्ठ जनप्रतिनिधि पनि आउनुभयो । उहाँलाई पनि नक्सा सम्बन्धमा मौखिक जानकारी दिएँ । उहाँ पनि सरलाई बोलाउन सहमत हुनुभयो । त्यसपछि पुरुषोत्तमलोचन सरलाई फोन गरेँ । सरलाई घटनाको प्रकृतिको सम्बन्धमा जानकारी गराएँ । उहाँले भोलि शनिबार दोस्रो प्रहरमा फिल्डमा हेर्न आउँछु भन्नुभयो ।
शनिबार पुरुषोत्तमलोचन श्रेष्ठ सर समयमै फिल्डमा आइपुग्नुभयो । उहाँले शिलालेखलाई राम्रोसँग सफा गर्नुभयो । त्यसपछि पिठोले शिलालेखलाई लिप्नुभयो । शिलालेखका अक्षरहरू राम्रो र स्पष्ट देखियो । त्यसपछि शिलालेखमा लेखिएका अक्षरहरू पढ्न थाल्नुभयो । शिलालेखमा लेखिएअनुसार यो मन्दिर निजी रहेको र दीपिका मिसका पुर्खाहरूले आजभन्दा ६१५ वर्ष अगाडि निर्माण गरेको र ३०० वर्ष अगाडि पुनः निर्माण गरेको कुरा सरले भन्नुभयो । उहाँले निजी मन्दिर हो भनेपछि लाँबो बाटो राख्न नपर्ने स्पष्ट भयो । हामी फर्कन लाग्दै थियौँ । त्यही क्रममा एक जना छिमेकी आउनुभयो । उहाँ नगरपालिकाको कर्मचारी हुनुहुन्छ । उहाँले यस घरमा बाटो भएको बताउनुभयो । मैले मन्दिरको शिलालेखको व्यहोरा उहाँलाई बताएँ । उहाँले फेरि भन्नुभयो, “शिलालेखले निजी मन्दिर देखिए पनि यो घरमा लाँबो बाटो भएकोले पुरानो नापी नक्साले पुष्टि हुन्छ । वडा कार्यालयमा पुरानो नापी नक्सा छ । यसमा एकपटक हेर्नुस् । मलाई राम्ररी याद छ । त्यसैले, यस घरको नक्सा पास गर्दा पुराना नापी नक्साअनुसार लाबो बाटो राख्नुपर्दछ । तर, दीपिका मिसले घर बनाउँदा लाँबो बाटो छोपेर मूल ढोका राखेको हुनसक्छ । त्यसकारण, पुरानो नापी नक्सा र फिल्ड बुक तथा श्रेस्ता मालपोतबाट मागेर हेर्नु उचित होला ।” उहाँको रायलाई बेवास्ता गर्न सकिन्नथ्यो । त्यसैले मैले उहाँलाई वडामा गएर नापी नक्सा र फिल्ड बुक अध्ययन गर्ने बताएँ ।
त्यसपछिका दिनमा मैले प्राविधिक बहिनीलाई नापी नक्सा र फिल्ड बुक निकाल्न निर्देशन दिएँ । वडामा नापी नक्सा हेर्दा लाँबो बाटो भएको भेटियो । फिल्ड बुक झिकाएर हेरेँ । त्यसमा पनि कैफियत खण्डमा दीपिका मिसको घरमुनि लाँबो बाटो भएको प्रस्ट उल्लेख थियो । त्यसपछि म एकदम अचम्ममा परेँ । मबाट ठुलो गल्ती हुनबाट बच्यो किनकि बहिनी गीतालाई धेरैपटक वडामा आउनु परेर दुःख पाएजस्तो अनुभव भइसकेको थियो । त्यसैले लाँबो बाटो नराखी फाइल अगाडि बढाउन म मानसिक रूपमा तयार भइसकेको थिएँ । तर, टोलकै एक सामाजिक रूपमा प्रतिष्ठित व्यक्तिले भनेको कुरा पहिला त मलाई पत्यार लागेन तर कागजले साँचो भएको प्रमाणित भएपछि म झसङ्ग भएँ । त्यसपछि मैले गीतालाई नक्सा पुनः संशोधन गर्न अनुरोध गरँे । तर, बहिनी गीता नक्सा संशोधन गर्ने मुडमा थिएन किनकि दीपिका मिसको घरमा मूल ढोका भएको फोटो थियो । मलाई पनि यसबारेमा जानकारी छ । मलाई पनि लाँबो बाटो देखाएर नक्सा पास प्रक्रिया अगाडि बढाउन मन थिएन । तर, कागजले त्यसलाई झूट प्रमाणित ग¥यो । मैले जनप्रतिनिधिहरूसँग पनि छलफल गरेँ । उहाँहरूले पनि लाबो बाटो देखाएर मात्र नक्सा प्रक्रिया अगाडि बढाउन सल्लाह दिनुभयो । तर बहिनी रीता नक्सा संशोधन गर्न तयार हुनुभएन । त्यसकारण, फाइल धेरै दिनसम्म वडामा रोकियो ।
त्यसपछिका दिन साथीहरूले नक्सा पास गरिदिन फोन आउन थाले । मैले लाँबो बाटो भएकोले नक्सा पास गर्न नमिल्ने बताएँ । फोन आउने क्रम रोकिएन । कतिपय मानिसहरू वडामै आएर भन्न थाले । तर, पनि मैले नक्सा पास प्रक्रिया रोकिरहेँ । कति साथीहरूले व्यवहारिक रूपमा भए पनि नक्सा पासको लागि अनुरोध गर्नुभयो । तर, निर्वाचित समितिका साथीहरू तयार देखिएनन् । अन्तमा, करिब पाँच महिनापछि बहिनी गीता नक्सा संशोधन गर्न तयार भएको जानकारी दिन आउनुभयो । त्यसपछि नक्सा संशोधन गरी लाँबो बाटो देखाई नक्साको फाइलमा हस्ताक्षर गरी नगरपालिकामा पठाई दिएँ । हाल नक्सावाला बहिनीले नक्साअनुसार घर निर्माण गरिसकेको देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *