क्युवाले डाक्टर पठायो, वाशिङटनले एउटा डिस्ट्रोयर !
- बैशाख ४, २०८३
वडाध्यक्षको डायरीबाट
दोस्रो प्रहरको समय चलिरहेको थियो । वडामा अलि सेवाग्राहीहरूको भीड कम थियो । म आफ्नो कार्यालयमा फाइलहरू मिलाउँदै थिएँ । त्यहीँ समयमा वडाका प्राविधिक बहिनी कार्यालयमा एक जना अर्को बहिनीसँग आउनुभयो । दुवै जनाले मलाई नमस्कार गर्नुभयो । मैले पनि नमस्कार फर्काउँदै सोफामा बस्न अनुराधे गरेँ । वडाको प्राविधिक बहिनीको हातमा एउटा मोटो कागजात भएको फाइल थियो । मैले प्राविधिक बहिनीलाई आफ्नो कुरा राख्न अनुरोध गरेँ । अरू बेला पनि नक्सा पासका फाइलहरूको केही समस्या आउँदा परामर्शको लागि आउने गर्दथ्यो । त्यही अनुमान गरेर मैले प्राविधिक बहिनीलाई आफ्नो समस्या राख्न अनुरोध गरेँ ।
प्राविधिक बहिनीले फाइल पल्टाएर मेरो टेबुल अगाडि राख्दै भन्नुभयो, “सर यो नक्सा पास प्रक्रियाको लागि आएको फाइल यो बहिनीको रहेछ । यो बहिनीको नाम गीता बोयजु (नाम परिवर्तित) हो । उहाँको घर अर्कै नगरपालिकामा पर्दछ । उहाँले हाम्रो वडाको एउटा चोकमा रहेको दीपिका मिसको घर किन्नुभएको रहेछ । २०७२ साल वैशाख १२ गते आएको भूकम्पले पूर्ण क्षतिमा परेको उक्त घर एक तलामात्र बाँकी राखी भत्काउनुभएको रहेछ । अहिले गीता बहिनीले नक्सा पास गर्न पूरै घर भत्काएर नक्साङ्कन गर्नुभएको छ । नगरपालिकामा नक्सा दर्ता गरी म्याद दिएर सरजमिन गर्न हाम्रो वडामा फाइल पठाउनुभएको रहेछ । आजभन्दा बीस दिन अगाडि चारकिलाका छिमेकीहरूलाई म्याद दिइसकेका छौँ । अस्ति पन्ध्र दिन पुगेपछि सो¥हाँै दिनमा सरजमिनका लागि फिल्डमा हामी गर्यौँ । घरको पछाडि एउटा मन्दिर भेटियो । मन्दिर हेर्दा ऐतिहासिक र पुरात्तात्विक महत्वको जस्तो लाग्यो । ऐतिहासिक मन्दिर भएकोले र सम्पदा क्षेत्रमा पर्ने भएकोले सरसँग एकपटक छलफलको लागि हामी दुवै जना भेट्न आएका हौँ । सरजमिन गर्ने क्रममा मन्दिरको विषयमा खासै केही विवाद छैन । चारकिलाको सिमानाको विषयमा पनि विवाद छैन । चारकिलाका सबै छिमेकीले हस्ताक्षर पनि गरिदिनुभएको छ । तर, पनि मलाई अलि शङ्का लागेको छ । तपार्इँलाई जानकारी नै नदिई नक्साको फाइल अगाडि बढाउनु निको लागेन । त्यसैले, छलफल गर्न आवश्यकजस्तो लाग्यो । मन्दिरलाई गहिरिएर अध्ययन गर्ने क्रममा मन्दिरभित्र शिलालेख भेटियो । मन्दिर निकै कलात्मक छ तर बुट्टाहरू खिएर गएको देखिन्छ । धेरै पुरानो मन्दिरजस्तो लाग्यो । कसैको घर पछाडि मन्दिर हुनु भनेको सार्वजनिक हो कि भन्ने लाग्यो । यदि सार्वजनिक हो भने घरधनी गीता बोयजुले बाटो देखाउनुपर्ने हुन्छ । शिलालेख एकपटक विज्ञ व्यक्तिलाई देखाएर यसको आशय बुझ्न पाए राम्रो हुन्छ । सरले शिलालेख पढ्न सक्नुभयो भने झन्नै राम्रो हुन्छ । त्यसैले तपार्इँ पनि एक पटक फिल्डमा जाने हो कि ?”
प्राविधिकको कुरा सुनेपछि मैले फाइल सरसरती अध्ययन गरेँ । फाइलमा सबै चारकिलाका छिमेकीले हस्ताक्षर गरेको देखेँ । प्राविधिक बहिनीले पनि हस्ताक्षर गर्नुभएको रहेछ । मेरो आफ्नै हस्ताक्षर र चलानी चिठीमा हस्ताक्षरमात्र गर्न बाँकी रहेछ । मैले दुवै ठाउँमा हस्ताक्षर गरेपछि फाइल नगरपालिकामा जान्छ । राजस्व तिर्ने प्रक्रिया पनि भइसकेको रहेछ । एक हिसाबले वडामा ९० प्रतिशतभन्दा बढी काम सकिसकेको रहेछ । केही बेर फाइल हेरेपछि गीतालाई आफ्नो कुरा राख्न अनुरोध गरेँ । गीताले भन्नुभयो, “सर, हामीले घर किनुभन्दा अगाडि नै मन्दिर रहेछ । सार्वजनिक मन्दिर होइन होला । दीपिका मिसका छोराले आफ्नै निजी मन्दिर भन्नुभएको थियो । उहाँका पुर्खाहरूले मन्दिर बनाएको भन्नुभएको थियो । तर पनि भित्र शिलालेख रहेछ । हामीलाई त्यस विषयमा ज्ञान छैन । पहिला शिलालेख याद पनि भएन । मन्दिर मात्र याद भयो । सार्वजनिक मन्दिर भए हामी बाटो छोडिदिछौँ । यसमा फरक नपर्ला । तर, शिलालेखमा के लेखिएको छ भन्ने कुरा थाहा भएन । शिलालेख एकपटक विज्ञलाई देखाउँदा केही फरक नपर्ला । तपार्इँ हेरेर गर्नुस् । मलाई कुनै आपत्ति छैन । तर, अलि छिटो गरिदिनुभए नक्सा पास गरेर घर बनाउन पाउनेछौँ । त्यसैले, सरले फिल्ड निरीक्षण गरी आवश्यक परामर्श दिनुहोला ।”
मैले दुवै जनाको आशय बुझेँ । समस्या पनि थाहा पाएँ । शिलालेखको विषयमा अध्ययन र अनुुसन्धान गर्ने आफ्नै गुरु डा. पुरुषोत्तमलोचन श्रेष्ठ सर हुनुहुन्थ्यो । उहाँले शिलालेख हेर्नुभएमा सबै छर्लङ्ग हुनेछ । सर इतिहास विषयमा पीएचडी गर्नुभएको व्यक्ति हुनुहुन्छ । उहाँले इतिहाससम्बन्धी पुस्तकहरू प्रकाशन गर्नुभएको छ । विगतमा यस्तै पुरातात्विक वस्तु फेला परेको अवस्थामा उहाँलाई देखाउने र उहाँले ऐतिहासिक र पुरातात्विक वस्तु भएको यकिन गरेमा नक्सा पास प्रक्रिया रोकेको घटना स्मरण भयो । मैले दुवै जनालाई सरको बारेमा बताएँ । दुवै जनाले पुरुषोत्तम सरलाई देखाउँदा उचित हुने बताउनुभयो । त्यही कुराकानीकै क्रममा वडाका ज्येष्ठ जनप्रतिनिधि पनि आउनुभयो । उहाँलाई पनि नक्सा सम्बन्धमा मौखिक जानकारी दिएँ । उहाँ पनि सरलाई बोलाउन सहमत हुनुभयो । त्यसपछि पुरुषोत्तमलोचन सरलाई फोन गरेँ । सरलाई घटनाको प्रकृतिको सम्बन्धमा जानकारी गराएँ । उहाँले भोलि शनिबार दोस्रो प्रहरमा फिल्डमा हेर्न आउँछु भन्नुभयो ।
शनिबार पुरुषोत्तमलोचन श्रेष्ठ सर समयमै फिल्डमा आइपुग्नुभयो । उहाँले शिलालेखलाई राम्रोसँग सफा गर्नुभयो । त्यसपछि पिठोले शिलालेखलाई लिप्नुभयो । शिलालेखका अक्षरहरू राम्रो र स्पष्ट देखियो । त्यसपछि शिलालेखमा लेखिएका अक्षरहरू पढ्न थाल्नुभयो । शिलालेखमा लेखिएअनुसार यो मन्दिर निजी रहेको र दीपिका मिसका पुर्खाहरूले आजभन्दा ६१५ वर्ष अगाडि निर्माण गरेको र ३०० वर्ष अगाडि पुनः निर्माण गरेको कुरा सरले भन्नुभयो । उहाँले निजी मन्दिर हो भनेपछि लाँबो बाटो राख्न नपर्ने स्पष्ट भयो । हामी फर्कन लाग्दै थियौँ । त्यही क्रममा एक जना छिमेकी आउनुभयो । उहाँ नगरपालिकाको कर्मचारी हुनुहुन्छ । उहाँले यस घरमा बाटो भएको बताउनुभयो । मैले मन्दिरको शिलालेखको व्यहोरा उहाँलाई बताएँ । उहाँले फेरि भन्नुभयो, “शिलालेखले निजी मन्दिर देखिए पनि यो घरमा लाँबो बाटो भएकोले पुरानो नापी नक्साले पुष्टि हुन्छ । वडा कार्यालयमा पुरानो नापी नक्सा छ । यसमा एकपटक हेर्नुस् । मलाई राम्ररी याद छ । त्यसैले, यस घरको नक्सा पास गर्दा पुराना नापी नक्साअनुसार लाबो बाटो राख्नुपर्दछ । तर, दीपिका मिसले घर बनाउँदा लाँबो बाटो छोपेर मूल ढोका राखेको हुनसक्छ । त्यसकारण, पुरानो नापी नक्सा र फिल्ड बुक तथा श्रेस्ता मालपोतबाट मागेर हेर्नु उचित होला ।” उहाँको रायलाई बेवास्ता गर्न सकिन्नथ्यो । त्यसैले मैले उहाँलाई वडामा गएर नापी नक्सा र फिल्ड बुक अध्ययन गर्ने बताएँ ।
त्यसपछिका दिनमा मैले प्राविधिक बहिनीलाई नापी नक्सा र फिल्ड बुक निकाल्न निर्देशन दिएँ । वडामा नापी नक्सा हेर्दा लाँबो बाटो भएको भेटियो । फिल्ड बुक झिकाएर हेरेँ । त्यसमा पनि कैफियत खण्डमा दीपिका मिसको घरमुनि लाँबो बाटो भएको प्रस्ट उल्लेख थियो । त्यसपछि म एकदम अचम्ममा परेँ । मबाट ठुलो गल्ती हुनबाट बच्यो किनकि बहिनी गीतालाई धेरैपटक वडामा आउनु परेर दुःख पाएजस्तो अनुभव भइसकेको थियो । त्यसैले लाँबो बाटो नराखी फाइल अगाडि बढाउन म मानसिक रूपमा तयार भइसकेको थिएँ । तर, टोलकै एक सामाजिक रूपमा प्रतिष्ठित व्यक्तिले भनेको कुरा पहिला त मलाई पत्यार लागेन तर कागजले साँचो भएको प्रमाणित भएपछि म झसङ्ग भएँ । त्यसपछि मैले गीतालाई नक्सा पुनः संशोधन गर्न अनुरोध गरँे । तर, बहिनी गीता नक्सा संशोधन गर्ने मुडमा थिएन किनकि दीपिका मिसको घरमा मूल ढोका भएको फोटो थियो । मलाई पनि यसबारेमा जानकारी छ । मलाई पनि लाँबो बाटो देखाएर नक्सा पास प्रक्रिया अगाडि बढाउन मन थिएन । तर, कागजले त्यसलाई झूट प्रमाणित ग¥यो । मैले जनप्रतिनिधिहरूसँग पनि छलफल गरेँ । उहाँहरूले पनि लाबो बाटो देखाएर मात्र नक्सा प्रक्रिया अगाडि बढाउन सल्लाह दिनुभयो । तर बहिनी रीता नक्सा संशोधन गर्न तयार हुनुभएन । त्यसकारण, फाइल धेरै दिनसम्म वडामा रोकियो ।
त्यसपछिका दिन साथीहरूले नक्सा पास गरिदिन फोन आउन थाले । मैले लाँबो बाटो भएकोले नक्सा पास गर्न नमिल्ने बताएँ । फोन आउने क्रम रोकिएन । कतिपय मानिसहरू वडामै आएर भन्न थाले । तर, पनि मैले नक्सा पास प्रक्रिया रोकिरहेँ । कति साथीहरूले व्यवहारिक रूपमा भए पनि नक्सा पासको लागि अनुरोध गर्नुभयो । तर, निर्वाचित समितिका साथीहरू तयार देखिएनन् । अन्तमा, करिब पाँच महिनापछि बहिनी गीता नक्सा संशोधन गर्न तयार भएको जानकारी दिन आउनुभयो । त्यसपछि नक्सा संशोधन गरी लाँबो बाटो देखाई नक्साको फाइलमा हस्ताक्षर गरी नगरपालिकामा पठाई दिएँ । हाल नक्सावाला बहिनीले नक्साअनुसार घर निर्माण गरिसकेको देखिन्छ ।
Leave a Reply