भर्खरै :

“नेपालमा सुविधा सम्पन्न विद्यालय बनाउनेतिर सरकारको ध्यान गएको छैन”

“नेपालमा सुविधा सम्पन्न विद्यालय बनाउनेतिर सरकारको ध्यान गएको छैन”

भक्तपुर, २९ चैत्र १९ गते । “कतिपय देशमा विद्यालय र कलेजको लागि आवश्यक खेल मैदान र भवनको व्यवस्था सरकारबाटै गरिएको हुन्छ । नेपालमा सरकारहरूको ध्यान यतातिर गएको छैन ।”
उक्त भनाई नेपाल मजदुर किसान पार्टीका सचिव एवं प्रभात इङ्गलिश सेकेन्डरी स्कूल व्यवस्थापन समितिका अध्यक्ष प्रेम सुवालले विद्यालयद्वारा आइतबार आयोजित बिस्काः जात्रा तथा नव वर्ष २०८३ को शुभकामना आदान प्रदान कार्यक्रम–२०८२ मा शुभकामना मन्तव्यको क्रममा व्यक्त गर्नुभएको हो ।
शिक्षकहरूले विद्यार्थीहरूलाई शुद्ध लेख्न र बोल्न सिकाउन आफूहरू पनि त्यतिकै सक्षम हुनु आवश्यक भएको र यसको लागि विद्यालयले आवश्यक तालिम सञ्चालन गर्दै आएको उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “शिक्षकहरूले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय अध्ययन गरी विद्यार्थीलाई पनि बताउनु जरूरी छ । भदौ २३ गतेको हत्या गर्ने र भदौ २४ गतेको आगजनीका दोषीहरूबारे पनि शिक्षकहरू जानकार हुनुपर्दछ ।” “नेमकिपाको घोषणापत्रअनुसार ख्वप कलेज, ख्वप अस्पताल र व्यवस्थित आवास विकास योजनाहरू सञ्चालन भएका हुन् । यसले जनताको हित भइरहेको यथार्थ सबैले बुझ्नु आवश्यक छ”, उहाँले प्रस्ट पार्नुभयो ।
विद्यालय व्यवस्थापन समितिका अर्का सदस्य एवं वाग्मती प्रदेश सभाका सदस्य सिर्जना सैंजुले कक्षा ५ सम्म कुनै परीक्षा सञ्चालन नगर्ने, बैशाख १५ गतेमात्र शैक्षिक सत्रको भर्ना अभियान सुरू गर्ने, वैशाख २१ गतेबाट पठनपाठन सुरू गर्ने, शनिबार र आइतबार बिदा गर्ने निर्णय कामगरी खाने वर्गका निम्ति अव्यवहारिक हुने विचार व्यक्त गर्नुभयो ।
कार्यक्रममा विद्यालयका प्राचार्य बदनकेशरी प्रजापति, सहायक प्राचार्य स्वर्णिमा मूल, ब्लक बी इन्चार्ज मिरा दुगुजु, ब्लक ए इन्चार्ज सुजाता ध्वँजू र शिक्षक लिना लासिवाले पनि शुभकामना व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *