भर्खरै :

“जात्रा संस्कृतिमा पनि इन्जिनियरिङ छ”

“जात्रा संस्कृतिमा पनि इन्जिनियरिङ छ”

भक्तपुर, २९ चैत । बिस्का जात्रा तथा नयाँ वर्ष २०८३ को अवसरमा भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेज र ख्वप कलेज अफ इन्जिनियरिङको संयुक्त आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम आइतबार सम्पन्न भयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख तथा कलेज व्यवस्थापन समितिका उपाध्यक्ष रजनी जोशीले ‘सय वर्षपछिको भक्तपुर’ प्रकाशनको चर्चा गर्दै उक्त पुस्तकलाई भक्तपुरका सम्पदाहरूको पुनर्निर्माण तथा पुनःसंरचनाका लागि मार्गदर्शकका रूपमा उपयोग गरिएको उल्लेख गर्नुभयो ।
उहाँले यातायात इन्जिनियरिङ, संरचनात्मक इन्जिनियरिङ, भूकम्प इन्जिनियरिङ, ट्राफिक इन्जिनियरिङ तथा सामाजिक इन्जिनियरिङजस्ता क्षेत्रहरूको महत्वमा जोड दिँदै बिस्का जात्राको सांस्कृतिक आवश्यकता औँल्याउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य ई. सुजन माकले नयाँ वर्षलाई दिन र रातको सन्तुलनको प्रतीकका रूपमा मनाइने र यसले समन्वय तथा नवप्रेरणाको सन्देश दिने बताउनुभयो ।
ख्वप कलेज अफ इन्जिनियरिङका प्राचार्य ई. सुनिल दुवालले व्यक्तिमुखी छलफल कहिलेकाहीँ प्रतिकूल हुनसक्ने भन्दै संस्थागत विकासतर्फ केन्द्रित हुनुपर्नेमा जोड दिनुभयो ।
उहाँले चुनौतीहरूलाई अवसरको रूपमा स्वीकार गर्दै गुणस्तर अभिवृद्धिमा अग्रसर हुन प्रेरित गर्नुभयो ।
उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँ र ई. रत्नशोभा प्रजापतिलगायतका विभाग तथा शाखा प्रमुखहरूले २०८२ सालमा हासिल भएका प्रमुख उपलब्धि तथा प्रगतिबारे जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *