नयाँ पुस्ताका प्रधानमन्त्री र मन्त्री बन्नु नै पर्याप्त होइन, विचार नयाँ हुनु जरुरी
- जेष्ठ २, २०८३
भक्तपुर, ३ जेठ । भक्तपुर नगरपालिका वडा नं. १ द्वारा सञ्चालन गरिएको दसदिने निःशुल्क उद्घोषण (एमसी) तालिम शनिबार सम्पन्न भयो । युवाहरूको सार्वजनिक बोल्ने कला, मञ्च सञ्चालन क्षमता, आत्मविश्वास तथा सञ्चार दक्षता अभिवृद्धि गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले उद्घोषण आकर्षक बनाउन उद्घोषकले राष्ट्रिय र अन्तर्राष्ट्रिय विषय जानकारीमा राख्नुपर्ने आवश्यकता औँल्याउँदै उद्घोषकको शब्द भण्डार पर्याप्त र भाषा शुद्ध हुनु जरुरी छ भन्नुभयो ।
उहाँले उद्घोषकले अन्धविश्वास होइन, विज्ञानसम्मत विचार राख्नु आवश्यक भएको उल्लेख गर्दै नयाँ पुस्ताले कार्यक्रममा सहभागी हुनेहरूको मनोविज्ञान र पेसाअनुसार उद्घोषण गर्नु उपयुक्त हुन्छ भन्नुभयो ।
नेपालमा मतपत्र नचाहिने विद्युतीय मतदान र विदेशबाट र देशभित्रैबाट मतदानको चर्चा चलिरहेको विचार व्यक्त गर्दै उहाँले संरा अमेरिका र भारतमा यी दुवै प्रकारको मतदानमा धाँधली भएको पनि सार्वजनिक भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “नयाँ पुस्ताले यी विषय पनि जानकारीमा राख्नु जरुरी हुन्छ ।”
कार्यक्रममा कृष्णबहादुर दुगुजुले तालिमले युवाहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमता तथा आत्मविश्वास अभिवृद्धिमा महत्वपूर्ण योगदान पु¥याउने धारणा व्यक्त गर्नुभयो ।
कार्यक्रमका सभापति तथा भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले भक्तपुर नगरपालिकाले स्थानीय नागरिकको आवश्यकता र युवा पुस्ताको रुचिअनुसार विभिन्न सीपमूलक, व्यक्तित्व विकास तथा व्यवसायिक तालिमहरू सञ्चालन गर्दै आएको जानकारी दिनुभयो । उहाँले नगरपालिकाले शिक्षा, स्वास्थ्य, संस्कृति, खेलकुद, कला तथा सञ्चार क्षेत्रसँग सम्बन्धित विविध कार्यक्रममार्फत स्थानीयवासीलाई प्रत्यक्ष लाभ पु¥याउँदै आएको उल्लेख गर्नुभयो ।
उहाँले युवाहरूलाई सकारात्मक तथा सिर्जनशील गतिविधिमा जोड्न नगरपालिकाले समयानुकूल कार्यक्रम सञ्चालन गरिरहेको बताउँदै उद्घोषण तालिम पनि त्यसैको एक महत्वपूर्ण उदाहरण भएको धारणा व्यक्त गर्नुभयो । “युवाहरूको रुचि र आवश्यकतालाई मध्यनजर गर्दै यस्ता कार्यक्रम निरन्तर सञ्चालन गरिनेछ,” उहाँले बताउनुभयो ।
तालिममा रेडियो कान्तिपुरका सञ्चारकर्मी तथा कार्यक्रम प्रस्तोता किरण सुवाल प्रशिक्षकको रूपमा रहनुभएको थियो । १० दिनसम्म सञ्चालन भएको तालिममा सहभागीहरूलाई उद्घोषण कला, मञ्च सञ्चालन, प्रभावकारी प्रस्तुति शैली, स्रोतासँग अन्तरक्रिया तथा व्यावसायिक सञ्चारसम्बन्धी व्यावहारिक प्रशिक्षण प्रदान गरिएको थियो ।
कार्यक्रमको सञ्चालन वडा नं. १ शिक्षा समितिका सदस्य लक्ष्मीसुन्दर सुवालले गर्नुभएको थियो भने वडासचिव विजय लोहलाले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।
प्रशिक्षार्थीहरूको तर्फबाट पियुस पक्का र रोशनी हाडाले तालिम अवधिभरका आ–आफ्नो अनुभव सुनाउनुभएको थियो । प्रमुख अतिथि सुवालद्वारा सम्पूर्ण प्रशिक्षार्थीहरूलाई प्रामाण पत्र वितरण गरिएको थियो ।
Leave a Reply