भर्खरै :

विद्यालय सभ्यता र संस्कार सिकाउने थलो हुनुपर्ने

विद्यालय सभ्यता र संस्कार सिकाउने थलो हुनुपर्ने

भक्तपुर, ३ जेठ । बाल विकास सेकेन्डरी स्कूलबाट एसईई परीक्षा २०८२ मा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा बिदाइ कार्यक्रम शनिबार होटेल चौतारी नगरकोटमा सम्पन्न भयो ।
कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले विद्यालयहरू नयाँ पुस्तालाई ज्ञानविज्ञानका साथै सभ्यता र संस्कार सिकाउने थलो बन्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले पुँजीवादी व्यवस्थामा कतिपय ठुला भनिएका विद्यालयले विद्यार्थीलाई उछृङ्खलता र छाडापनमा रमाउन सिकाएको भन्दै बालबालिकालाई त्यसबाट टाढा राख्नुपर्ने कुरामा जोड दिनुभयो ।
उहाँले जीवनमा आफूलाई सहयोग गर्ने अग्रजहरूप्रति कृतज्ञ बन्न नसक्ने मानिस पछि गएर पश्चातापमा पर्ने बताउनुभयो ।
अहिले देशलाई साँच्चै माया गर्ने शिक्षक, राजनीतिज्ञ, समाजसेवी, लेखक, विचार आवश्यक रहेको बताउँदै उहाँले यस्ता कुरा सिक्न नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) जस्ता उदाहरणीय व्यक्तित्वको जीवनी पढ्नुपर्ने बताउनुभयो ।
उहाँले किताबले मात्र सबै कुराको ज्ञान दिन नसक्ने भएकोले समय, समाज, परिस्थिति र इतिहासबाट सिक्न र जुन पेसा वा विषय रोजे पनि त्यसमा राम्रो बन्छु भन्ने भावना मनमा राख्न विद्यार्थीहरूलाई सल्लाह दिनुभयो ।
आफूले पढेको विद्यालय, गुरुजन, समाज तथा आफू जन्मेको माटोलाई नबिर्सन उहाँले विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
उक्त अवसरमा वाग्मती प्रदेशसभा सदस्य सृजना सैंजूले व्यक्तिले राजनीतिलाई छोडे पनि राजनीतिले व्यक्तिलाई नछोड्ने भएकोले जुन पेसामा लागे पनि समाजका खराबीप्रति खबरदारी गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले राज्य शिक्षा, स्वास्थ्यजस्ता विषयप्रति उदासीन रहेको अवस्थामा पनि बाल विकासजस्तो गुठीबाट सञ्चालित गैरनाफामूलक विद्यालयले केही आशा जगाएकोमा खुसी व्यक्त गर्नुभयो ।
उहाँले आ–आफ्नो क्षेत्रमा असल र योग्य बनी समाज र देशको सेवा गर्न विद्यार्थीहरूलाई आग्रह गर्नुभयो ।
ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, संस्कृति तथा सम्पदा संरक्षणको क्षेत्रमा राम्रो काम गरिरहेको उदाहरण प्रस्तुत गर्दै भक्तपुरमै गुणस्तरीय शिक्षा हासिल गर्न सल्लाह दिनुभयो ।
उहाँले आफूले अध्ययन गरेको संस्था र पढाउने गुरुहरूलाई भुल्न नहुने बताउनुभयो ।
ख्वप अस्पतालका मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले विद्यार्थीले आफ्नो क्षमता चिन्नुपर्ने तथा अरुको लहैलहैमा लाग्न नहुने धारणा व्यक्त गर्नुभयो ।
उहाँले पैसा कमाउने उद्देश्यले भन्दा पनि समाज र देशका लागि केही गर्छु भन्ने भावना लिएर अघि बढ्न विद्यार्थीलाई अनुरोध गर्नुभयो ।
त्रिविका सह–प्राध्यापक तारालाल श्रेष्ठले विद्यार्थीलाई अरुले के भन्छ भन्दा पनि तपाईँको भित्री हृदयले के भन्छ त्यही विषय छान्नुहोस् भन्नुभयो ।
कानुन अध्ययन समाजका अध्यक्ष एवम् अधिवक्ता रामप्रसाद प्रजापतिले अहिले हरेक क्षेत्रमा खराबहरूको बिगबिगी रहेको बताउँदै विद्यार्थीलाई जुन क्षेत्रमा लागे पनि असल र इमानदार बन्न आग्रह गर्नुभयो ।
उहाँले कानुनको आवश्यकता जतासुकै पर्ने भएकोले सबैले कानुनको जानकारी राख्नुपर्नेमा जोड दिनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहनप्रसाद प्रजापतिको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा शिक्षिका सीतालक्ष्मी प्रजापतिले स्वागत गर्नुभएको थियो भने शिक्षकहरू सूर्यबहादुर पञ्च, शङ्कर आचार्य, विशाल राजचल, सृष्टि प्रधान र चिनियाँ भाषा शिक्षिका सोफियाले पनि शुभकामना मन्तव्य राख्नुभएको थियो ।
पूर्वविद्यार्थीद्वय डा. सुनिता धन्छा र आर्किटेक्ट आयुषा प्रजापति तथा विद्यार्थी प्रतिनिधिहरू मोहितराज गोसाई, अनिम छुस्याबाग, बैबिदलक्ष्मी बाहाला र अनुष्का तामाङले आफ्नो विद्यालयीय जीवनको अनुभव सुनाउनुभएको थियो ।
सङ्गीत शिक्षकहरू पुरुषोत्तम सुवाल, रियाज बासुकला र विजेश्वरी फैजूले साङ्गीतिक प्रस्तुति राखेको उक्त कार्यक्रमको अन्त्यमा विद्यार्थीहरूलाई मायाको चिनो प्रदान गर्नुका साथै खादा ओढाएर बिदाइ गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *