भर्खरै :

विध्वंश होइन विश्व शान्ति आवश्यक छ !

विध्वंश होइन विश्व शान्ति आवश्यक छ !

‘समाजवाद’ ‘गरिबी हटाऊ’ ‘गाँस, बास र कपास’ जस्ता निर्वाचनको नाराबाट जनता वाक्क दिक्क भए– पहिले पहिले पसल पसलमा सानो कालोपाटीमा लेखिएको ‘आज नगद, भोलि उधारो !’ जस्तै । जनतालाई छल्ने र सिधा–सादा जनतालाई मूर्ख बनाएर भोलि ‘आफ्नै घुँडामा बञ्चरो’ मा पर्नेछ । ‘बहुदलीय नयाँ समाजवाद’ को नाम दिएर घुमाइफिराइ ‘पुँजीवादी प्रजातन्त्र’ लाई जनताको टाउकोमा बजार्ने काम गर्ने नारा हरेक नेपाली बुद्धिजीवीहरूले अनुभव गरेका होलान् ।
जनतालाई ढाँट्ने कार्यकर्ता, नेता र राजनैतिक दलले पछि थाहा पाउनेछन्– तिनीहरूले आफैमाथि विश्वासघात हुँदै छ । हिजो मतदाता, जनता र बुद्धिजीवीहरूलाई छकाउने नारा दिने दलहरूमा भित्री नेतृत्वको झगडा र हानथाप देखाए सैद्धान्तिक विश्वासघातलाई लुकाउँदै छन् । यसको पनि केही दिनपछि उदाङ्गिनेछ । जात, क्षेत्र, भाषा र भेदभावको विषय प्रचारलाई आजका जनताले पत्याउन छोडेको प्रस्ट भयो ।
विदेशी रकम र सरकारका विभिन्न प्रशासनिक संस्था र व्यक्तिलाई घर घरमा पठाएर अन्य दलहरूको जे जस्ता गैरसैद्धान्तिक राजनैतिक प्रचार गरेकाहरूलाई आज त्यस्तै जालझेललाई ‘मोबाइल’ बाटै प्रहार गरेको वाणबाट हिजोका ‘मै हुँ’ भन्ने दलहरू घाइते भएर भर्खर भर्खर उठ्दै छन् ।
सबै दलहरूले झूट र फट्याइँको बाटो छोडी सफा र सैद्धान्तिक राजनीति (जनताको सेवा) मा समर्पित भएमा देश र जनतालाई कुनै घात हुनेछैन भन्ने पक्का छ !
देशको राजनीतिलाई फोहर पार्ने काम निर्वाचनबाट भइ आएको हो भन्नेबारे अब कुनै भ्रम रहेन । झूटो प्रशंसा, तारिफ र खुसामदी छल गर्नेहरूबारे आ–आफनै दलका कति उम्मेदवारहरू झस्केका छन् भने कति पार्टी नेताहरू आफ्नै कार्यकर्ताहरूको बचनवाणबाट थला परेका छन् । प्रजातन्त्रमा सङ्कट आउँदा जनतासँग माफी माग्ने र सल्लाह गर्नुलाई तुच्छ सम्झने दम्भीहरूले भर्खर आफ्ना अपराधहरूको पश्चाताप गर्दै छन् । अचम्म त के हो भने संसारका सबै दम्भी शासकहरू नेपालका राणाहरूदेखि बेलायती, अमेरिकी, फ्रान्सेली, नेपोलियन, हिटलर र मुसोलिनी पनि समयमा जनताका आवाज अस्वीकार गर्दा शत्रुकै सामुन्ने घुँडा टेक्नुप¥यो, दुखान्त भोग्न बाध्य भए । आज पनि जतिसुकै शक्तिशाली भए पनि युगसँग सामीप्य राख्न अस्वीकार गर्नेहरूको भविष्य इतिहासकै फोहर फाल्ने भाँडोमा फालिनेछन् ।
आज स–साना देश, जाति, भाषाभाषी राष्ट्र र राज्यहरूलाई समेत कठपुतलीको संज्ञा दिएर मानिसलाई घाँस सम्झने अहङ्कारी र अतिराष्ट्रवादी र वडाराष्ट्रवादी अहङ्कारवादीहरू भोलि तिनीहरू पनि पुराना अपराधीहरू जस्तै इतिहासको फोहर फाल्ने ठाउँमा पुग्नेछन् ।
भन्ने गरिन्थ्यो, – मानिसले सभ्यताका अनेक चरणहरू पार गरे, “विश्वशान्तिको भावनाले संसारलाई पुनः नयाँ सभ्यताको चरणमा पु¥याउनेछ । आशा र इच्छा अत्यन्त सकारात्मक विषय हो । तर, गाजामा भएको नरसंहार, बालबालिकाको हत्या र हिंसा, महिलाहरूलाई छानी छानी हत्या गर्नु भने कहाँको कुन युगको सभ्यता हो भनी मानिसहरू विचार मग्न छन् । तर संरा अमेरिकी राष्ट्रपति ट्रम्पको सहयोग र सङ्केत नपाई इजरायली प्रम न्यातन्याहुको त्यो आँट र फूर्ति कहाँबाट आउँथ्यो ।
साँचो अर्थमा धर्म र सभ्यताको अध्ययनलाई थप कक्षाकोठादेखि जनतासम्म फेरि घर घरमा पु¥याउनुपर्ने देखिन्छ । निश्चय पनि मानिसको विवेकमाथि विर्काे लाग्यो भने सभ्य मानिसको केही नलाग्दो रहेछ !
नेपालको राजहंस र उल्लुको बारे नयाँ पुस्तालाई सरस्वती र लक्ष्मीका बहानहरूबारे बताउनु आवश्यकताको आज अनुभव हुन्छ । राजहंसले पानी र दूधलाई छुट्याउँछ । अर्थात् विवेकको प्रतिनिधित्व गर्छ भने उल्लु लक्ष्मीको वाहन सम्पत्ति, वैभव, अपार धन र शक्तिको प्रतीक हो ।
त्यसको व्यावहारिक परिणाम हो– युद्ध, विश्वास, विवेकहीनता र असभ्यता ! यसकारण, हामी ‘उल्लु’ भन्दा राजहंस अर्थात् विवेक र शक्तिलाई रोज्नु आजको माग हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *