भर्खरै :

भक्तपुरमा दाफा प्रदर्शनीको उद्घाटन : नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्नु आवश्यक

भक्तपुरमा दाफा प्रदर्शनीको उद्घाटन : नयाँ पुस्तामा संस्कृति हस्तान्तरण गर्नु आवश्यक

भक्तपुर, १५ जेठ । भक्तपुरको कला, संस्कृति र सम्पदा संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको आयोजनामा जेठ १५ र १६ गते नासमना टोलमा हुने भक्तपुर नगरव्यापी दाफा प्रदर्शनीको शुक्रबार उद्घाटन भयो । उक्त उद्घाटन भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले संस्कृति संरक्षण कसरी गर्ने भन्ने सन्देश देशभर दिन यस्ता गतिविधि सञ्चालन गरिएको बताउनुभयो । उहाँले सम्पदा बचाउने उद्देश्यसहित नगरपालिकाले निरन्तर सांस्कृतिक कार्यक्रम गर्दै आएको र दाफा पनि परम्परागत संस्कृति र पहिचानको महत्वपूर्ण अंश भएको बताउनुभयो ।
प्रमुख प्रजापतिले प्रगतिशील भजन प्रतियोगिता सञ्चालन गर्नु पनि एउटा पृथक र महत्वपूर्ण काम भएको उल्लेख गर्दै दाफा तथा भजनलाई लिपिबद्ध गर्ने प्रयास भइरहेको जानकारी दिनुभयो । नयाँ पुस्तालाई यस क्षेत्रमा समावेश गर्दै संस्कृति हस्तान्तरण गर्ने अभियानलाई उहाँले अगाडि बढाएको बताउनुभयो ।
“दाफा भजनजस्तो मौलिक संस्कृतिलाई जोगाउने प्रयास हामीले निरन्तर गरिरहेका छौँ,” भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।
उहाँले दाफा भजन साङ्गीतिक परम्परा मात्र नभई नेपाली समाजको सांस्कृतिक पहिचान र ऐतिहासिक सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षणमा सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयो ।
उहाँले नयाँ पुस्तालाई दाफा संस्कृतिसँग जोड्दै पुस्तान्तरण गर्ने अभियानलाई नगरपालिकाले प्राथमिकतामा राखेको पनि जानकारी दिनुभयो ।
भनपा वडा नं. ९ का वडाध्यक्ष रवीन्द्र ज्याख्व र वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले पनि बोल्नुभएको थियो । दत्तात्रयमा भएको सांस्कृतिक ¥याली उद्घाटन कार्यक्रममा भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौँमिखा र ८ का वडा सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।
नगर प्रमुख प्रजापतिको नेतृत्वमा भएको सांस्कृतिक ¥याली जनप्रतिनिधिसहितको मूल व्यानर, दाफा प्रदर्शनी टोली, नेपाल स्काउटका स्वयम्सेवक, स्थानीय अग्रज, विद्यालय, कलेज, सहकारी संस्था, टीम, क्लवका प्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा नगर प्रहरीहरूको उल्लेखनीय उपस्थिति थियो ।
भक्तपुर नगरपालिकाले भक्तपुरको मूर्त र अमूर्त कला संस्कृति संरक्षण, संवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले हरेक वर्ष यस्ता सांस्कृतिक प्रदर्शनी तथा प्रतियोगिताहरू आयोजना गदैै आएको थियो ।
दत्तात्रयबाट सुरु भएको सांस्कृतिक ¥याली इनाचो, गोल्मढी, सुकुलढोका, साकोठा, टौमढी, बोलाछेँ हुँदै नासमना पुगी कार्यक्रमको उद्घाटन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *