राजनीतिक रूपमा सचेत हुन पार्टी प्रकाशनहरू अध्ययन गर्न आवश्यक
- जेष्ठ २०, २०८३
भक्तपुर, २१ जेठ । आदर्श आजाद माविको ६७ औँ र आदर्श आजाद कलेजको १८ औँ वार्षिकोत्सव कार्यक्रम बिहीबार सम्पन्न भयो ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालको आतिथ्यमा भएको उक्त कार्यक्रममा उहाँले नेमकिपाले विद्यालय शिक्षा निःशुल्क र अनिवार्य तथा विश्वविद्यालय शिक्षा निःशुल्क हुनुपर्ने विषय उठाउँदै आएको तर आजसम्मका सरकारहरूले यो विषयलाई कार्यान्वयनमा नल्याएको हुँदा देश र जनताले दुःख पाइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “विद्यालय र कलेजहरूमा पाठ्यपुस्तक अध्यापनसँगसँगै खेलकुद, हाजिरी जवाफ, सङ्गीत, वाद्यवादनसमेतलाई जोड दिनुपर्ने शारीरिक र मानसिक स्वास्थ्यविज्ञहरूको सुझावलाई शिक्षकहरूले मनन गर्नु आवश्यक छ ।”
कतिपय देशमा नयाँ पुस्ताका विद्यार्थीहरूलाई मोबाइल, आईप्याड, ल्यापटप, टीभीको कुलतबाट जोगाउन पुनः पुस्तक र कापीमार्फत पढाउने सुरु गरिँदै आएकोले नेपालका शिक्षकहरू यसतर्फ पनि सचेत हुनुपर्ने उहाँले उल्लेख गर्नुभयो ।
सचिव सुवालले भन्नुभयो, “अहिले सरकारमा पुगेको पार्टीको विधानमा शोषणरहित समाज निर्माण गर्ने उल्लेख छ । तर, यो पार्टीको निर्वाचन वाचापत्रमा आर्थिक उदारीकरण उल्लेख छ । शोषणरहित समाजको लागि सामाजिकीकरण जरुरी हुन्छ भने आर्थिक उदारीकरणमा भएको सरकारी उद्योग व्यक्तिलाई बेच्ने, युवालाई विदेश पठाउने र विदेशी ऋण ल्याएर देश नवउपनिवेश बनाइन्छ ।”
उहाँले भन्नुभयो, “भदौ २३ गते नेपाल प्रहरीको झूटा परिचय प्रयोग गरी विद्यार्थीलाई विद्यालय पोशाक र पुस्तकसहितको झोलामा प्रदर्शनमा आए सरकारले गोली नहान्ने झूटा कुरा गरी बोलाउने, निहत्था जनताको हत्या गर्ने र भदौ २४ गते देशभरि आगजनी गर्नेहरूलाई सिंहदरबारमा पु¥याउने होइन, जेलमा राख्नु जरुरी छ । यिनीहरूलाई फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा समेत उठ्न नपाउने व्यवस्था गर्नुपर्ने थियो, तर गरिएन ।”
सरकार प्रमुखले प्रतिनिधिसभामा नेपालले भारतको सीमा मिचेको बताएको देशविरोधी भनाइ हो । नेमकिपाले नेपालको भूमि सुस्ता, लिपुलेक, कालापानी, लिम्पियाधुरासम्ममा भारतीय अतिक्रमको विरोधमा काठमाडौँस्थित भारतीय राजदूतावास अघि धर्नासहित ज्ञापनपत्र दिएको हो,” सचिव सुवालले उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “शिक्षकहरूले विद्यार्थीहरूलाई योग्य बनाएर देश र जनताको सेवामा पठाउने र मदिरा, धूमपान, लागूपदार्थलगायत कुलतबाट बचाउने काम गर्नु जरुरी छ ।”
भक्तपुर नगरपालिकाका उपमेयर रजनी जोशीले भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउनका लागि नगरपालिकाले
काम गरिरहेको र आदर्श आजाद माविले शिक्षाको उन्नयनका लागि गरिरहेको कार्यको प्रशंसा गर्नुभयो ।
विद्यालयका प्राचार्य चक्रबहादुर चाकतुले विद्यालयमा भौतिक पूर्वाधारको विकास निरन्तर भइरहेको र साढे ७ रोपनी जग्गामा विद्यालयका पूर्वाधारहरू निर्माण भएको जानकारी गराउँदै भन्नुभयो, “विद्यालयमा शौचालय, खानेपानी, सुरक्षा, फर्निचर, शैक्षिक सामग्री, पुस्तकालय, खाजा, छात्रवृत्ति, मानव संशाधनलगायतको यथोचित व्यवस्था छ ।”
विद्यालयले लक्ष्मीनारायण मानन्धर छात्रवृत्ति, विश्वराम कवां छात्रवृत्ति, जयन्तकुमार छात्रवृत्ति र सरस्वती कारञ्जित छात्रवृत्तिलगायत अन्य छात्रवृत्ति प्रदान गरिरहेको जानकारी पनि प्राचार्य चाकतुले दिनुभयो ।
आदर्श आजाद माविका पूर्व प्रअ एवम् आदर्श आजाद कलेजका प्राचार्य श्रीकृष्ण किसीले बीएडतर्फ १६५ र बीबीएसतर्फ १६ जना गरी १७९ जना विद्यार्थी कलेजमा अध्ययनरत रहेको हालसम्ममा ३१६ जना विद्यार्थीहरूले त्रिविको परीक्षा उत्तीर्ण गरी दीक्षा प्राप्त गरिसकेको जानकारी दिनुभयो ।
विगतमा ४० देखि ५० प्रतिशत विद्यार्थी उत्तीर्ण हुँदै आएकोमा २०८२ सालको बीएड चौथो वर्षमा शतप्रतिशत नतिजा निकाल्न सफल भएकोमा गौरवको महसुस भएको अनुभुति प्राचार्य किसीले उल्लेख गर्नुभयो ।
कलेज व्यवस्थापन समितिका अध्यक्ष उद्धव सुुजखुले दुइटा संस्था एउटै स्थानमा रहेकाले एउटै परिवारको रूपमा व्यवस्थापन समितिले काम गर्दै जाने वातावरण अनुकूल भएको खण्डमा विद्यालयका आकर्षक भवनहरू, फराकिलो चौर र विद्यार्थीहरूको निम्ति अत्यन्त अनुकुुल भौगोलिक अवस्थितिले साथर्कता पाउने विश्वास व्यक्त गर्नुभयो ।
नेपाल क्रान्तिकारी शिक्षक सङ्घकी केन्द्रीय सदस्य पवित्राकुमारी शाहीले रास्वपाको वाचापत्र र व्यवहार फरक भएको दृष्टान्त पेस गर्दैै एसईईको एक महिनामै परिणाम निकाल्ने नाममा व्यवस्थित तवरले काम नगरिकन हतार गर्दा विश्वसनीयतामा प्रश्न उत्पन्न भएको बताउनुभयो ।
हप्तामा दुई दिन बिदाको पनि पूर्वतयारी नगरिकन लागू गर्दा पाठ योजनामा गम्भीर धक्का पुगिरहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि प्रेम सुवालले विद्यालय र कलेजको संयुक्त स्मारिका विमोचन गर्नुभएको थियो ।
विद्यालयकी सहायक प्रधानाध्यापक सुभद्रा दुवालले स्वागत मन्तव्य राख्दै विद्यालय व्यवस्थित तवरले गरिब तथा मध्यमवर्गका विद्यार्थीहरूको गन्तव्य बन्दै गएको बताउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेँको सभापतित्वमा भएको कार्यक्रममा २०८१ सालको वार्षिक परीक्षामा उत्कृष्ट भएका ३६ जना र २०८२ सालमा उत्कृष्ट भएका ३६ विद्यार्थीका साथ अतिरिक्त क्रियाकलापमा उत्कृष्ट भएका १८३ जना विद्यार्थीलाई पुरस्कृत गरिएको थियो । यसैंगरी २०८२ सालको एसईई उत्तीण २४ जना विद्यार्थीलाई मायाको चिनो प्रदान गरिएको थियो ।
कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक गतिविधि प्रस्तुत गरेका थिए । विद्यालयमा हाल ८ सय १ जना विद्यार्थी अध्ययनरत छन् ।
Leave a Reply