ख्वप इन्जिनियरिङ कलेजमा आन्तरिक बास्केटबल प्रतियोगिता सुरु
- जेष्ठ २२, २०८३
भक्तपुर, २२ जेठ । “अल नेपाल सिभिल इन्जिनियरिङ फूटबल कप २०८३” मा उपविजेता बनेर कलेजको गरिमा बढाउन सफल विद्यार्थी खेलाडी टोलीलाई ख्वप इन्जिनियरिङ कलेजले शुक्रबार एक विशेष कार्यक्रमको आयोजना गरी बधाई तथा धन्यवाद ज्ञापन गरेको छ ।
काठमाडौँ विश्वविद्यालय (केयू) सिभिल इन्जिनियरिङ क्लवको आयोजनामा जेठ ११ देखि १९ गतेसम्म धुलिखेलस्थित विश्वविद्यालयको मैदानमा प्रतियोगिता सञ्चालन भएको थियो । विभिन्न १५ कलेजबिचको कडा प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्दै ख्वप इन्जिनियरिङ कलेजले दोस्रो स्थान हासिल गरेको हो ।
कलेज हलमा आयोजित बधाई तथा सम्मान कार्यक्रममा कलेजका उप–प्राचार्य डा. सुवेगमान बिजुक्छेँले खेल अवधिभर उत्कृष्ट खेल कौशल र अनुशासन प्रदर्शन गर्ने खेलाडीहरूलाई मायाको चिनो प्रदान गर्नुभयो ।
उहाँले विद्यार्थीहरूलाई बधाई दिनुका साथै खेलको प्राविधिक पक्षसँगै खेलाडीहरूले मैदानमा देखाएको भूमिकाको प्रशंसा गर्नुभयो । उहाँले विद्यार्थीहरूले खेलको नतिजा वा जितलाई मात्र केन्द्रित नगरी मैदानमा अनुशासन र खेल मित्रता प्रदर्शन गरेको बताउनुभयो ।
विभिन्न इन्जिनियरिङ कलेजहरूले सहभागिता जनाएको यस प्रतियोगितामा दोस्रो स्थान हासिल गर्नु आफैँमा ऐतिहासिक उपलब्धि भएको उहाँले भन्नुभयो ।
यस्ता प्रतियोगिताहरूले कलेज र विद्यार्थीहरूबिच प्राविधिक ज्ञानको आदानप्रदान मात्र नभई कलेज–कलेजबिच आपसी भ्रातृत्व, खेल मित्रता र अनुशासनको जग बलियो बनाउन महत्वपूर्ण भूमिका खेलेको विश्वास कार्यक्रममा व्यक्त गरिएको थियो । कलेजले आगामी दिनमा पनि विद्यार्थीहरूको खेलकुद प्रतिभालाई प्रवद्र्धन गर्न निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
Leave a Reply