विदेशमा बस्ने छोराको कथा
- जेष्ठ २९, २०८३
लघु कथा
शनिबार धनगढीका शिक्षकहरूको एउटा सम्मेलन हुँदै थियो । उक्त सम्मेलनमा सहभागी केही शिक्षकहरू प्रमुख अतिथि, अतिथिका महत्वपूर्ण विचार र भनाइ सुन्दै नोट कापीमा टिप्दै थिए । कोही शिक्षकहरू सम्मेलन स्थलमा आवतजावत गर्दै पूर्वपश्चिम फर्केर, खुट्टा तन्काएर गफ गर्दै थिए, कोही शिक्षक भन्ने मोबाइलमा फेसबुक हेर्दै थिए भने कोही शिक्षकहरू ढिलो गरी आउँदै थिए । सम्मेलनमा सहभागीसँगै बसेर नोट कापी हातमा लिएर सुन्दै गरेका अनुशासित, सङ्घर्षशील र देशभक्त शिक्षक साथीहरू ती दृश्यहरू नियाल्दै थिए ।
ती दृश्य नियालेका छेउको शिक्षक साथीले असन्तोष पोखे, ‘हेर्नुस् त साथीहरू उहाँ शिक्षक साथीहरूले विद्यार्थीहरूलाई कसरी पढाउनुभयो होला ? विद्यालयको अवस्था कस्तो होला ? उहाँ शिक्षक साथीहरूले आफ्नो इमानदारिता, अनुशासन कर्तव्य बिर्सेजस्तो लाग्यो । प्रमुख अतिथि, अतिथिले देश बनाउने देश हाँक्ने भविष्यका कर्णधार तयार गर्ने कर्तव्य बोकेका हामी शिक्षकहरूले शिक्षा र राजनीतिसँग सम्बन्धित राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिबारे बताउँदै हुनुहुन्छ । शिक्षक भनेका अध्ययनशील, सङ्घर्षशील हुनुपर्ने थियो । तर, हाम्रा शिक्षक साथीहरूको ध्यान यतातिर गएको देखिँदैन । कोही आवतजावत गर्दै, कोसी मोबाइल हेर्दै, कोही गफ गर्दै हुनुहुन्छ भने कोही आफ्नो व्यक्तिगत सबै काम भ्याएपछि ढिलो आउने गरेको पाइन्छ । कोही शिक्षक साथीहरू भने प्रमुख अतिथि, अतिथिका महत्वपूर्ण विचार र भावनाहरू राम्रोसँग सुनेर टिपोट गर्दै हुनुहुन्छ ।
ती तस्वीर हेरेका बिचको शिक्षक साथीले थोरै रिस देखाउँदै रिसाएर भनिहाले, ‘त्यही भएर सरकारी विद्यालयको पढाइ खस्किएको हो । विद्यालय भवन भग्नावेशमा परिणत भएको छ । देशको शैक्षिक अवस्था डामाडोल छ । फेरि यसलाई मलजल गर्न सरकारले आइतबार पनि बिदा दिएको छ । देशको अवस्था यो हालतमा पुगेको छ । हाम्रा शिक्षक साथीहरू आफूले पाउनुपर्ने सेवा सुविधा अधिकार भने एक इन्च पनि नछोड्ने, कुरा भने लङ्का मार्ने काम भने एक सिन्को नभाँच्ने, विद्यालयमा समयमा नआउने, राम्रोसँग नपढाउने, सुविधा पाउने भएपछि अनेक बहानामा झोला बोकेर विद्यालयबाट बाहिरिने, काम भने सरकारी विद्यालयमा गर्ने अनि आफ्ना सन्तान भने बोर्डिङ स्कूलमा पढाउने अनि सरकारी विद्यालय, कलेज त्यस्तो हुँदैन त ? यसको जिम्मेवार भनेको सरकार नै हो ? पढेर लडाकू भावना भएन भने पढाइ र सिकाइ, सीप विदेशीको सेवाको लागि भए त्यस्ता शिक्षक साथीहरू मास्टर डिग्री, त के महाडिग्री भएर के काम ? त्यस्तो पढाई, सीप अनि सङ्घर्ष शिक्षा, समाज र देशको लागि नभए त्यसको कुनै अर्थ होला र ?
दुबै शिक्षक साथीको विचारलाई समर्थन गर्दै अर्को छेउको साथीले भने, ‘त्यो त मेहनत गर्नुपर्यो नि । कि विदेशीसँग हात फैलाउने हो ? भक्तपुरको शैक्षिकस्तर त्यसैमाथि उठेको कहाँ हो र । त्यहाँका शिक्षक, प्राध्यापकहरू अध्ययनशील, अनुशासित, कर्तव्यनिष्ठ अनि समाज देशका लागि पनि लड्छन् । उनीहरू मौरीजस्ता छन् । यसमा भक्तपुर नगरपालिकाले शिक्षक र प्राध्यापक साथीहरूलाई ऊर्जा दिइरहेका छन् । उसले देशको भाग्य निर्माण गर्ने, देशलाई आफ्नै खुट्टामा उभ्याउने, १५ लाखमा डाक्टर पढाउन ख्वप विश्वविद्यालयको स्वीकृति मागिरहेको छ । तर, आजसम्मका प्रजातन्त्रवादी, देशभक्त, कम्युनिस्ट भनिएका सरकारहरूले स्वीकृति दिन खुट्टा कमाइरहेका छन् । त्यहाँका विद्यालयका प्रधानाध्यापकदेखि पियुनसम्मका सबैले आफ्ना सन्तान आफूले पढाएको काम गरेको विद्यालयमा पढाउँदै आएको भन्ने सुनिन्छ । त्यसरी नै सरकार अनि हामी शिक्षक, कर्मचारी लाग्यौँ भने देशको शैक्षिक अवस्था उँभो लाग्नेछ । होइन सर ! सही हो भन्दै सम्मेलन सकिएकोले सबै शिक्षकहरू चियापानतर्फ लागे ।
Leave a Reply