भर्खरै :

सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ५

सन्दर्भ : क्रिस हानी जन्म दिवस (जून २८) – अफ्रिकी स्वतन्त्रता आन्दोलनका योद्धा तथा कम्युनिस्ट नेता क्रिस हानी – ५

लेसोथोमा
क्रिस हानी १९७२ मा कम्युनिस्ट पार्टी केन्द्रीय समितिको सहसचिव बने । यसबिच गुरिल्ला तालिमका लागि उनी तीन महिना जर्मनीको बर्लिन छेउछाउ बसे । हानी दक्षिण अफ्रिकाभित्रै गएर स्वतन्त्रता आन्दोलन चर्काउन चाहन्थे । त्यसकारण, सन् १९७५ मा उनी भेष बदलेर जोहान्सबर्ग पुगे । तर, उनलाई त्यहाँ आश्रय दिन कोही पनि तयार भएनन् । चार महिना यताउता दुईतीन जनाको समूहमा भौतारिएपछि अन्ततः उनी दक्षिण अफ्रिकाकै एक भाग रहेको तर पछि अलग देश बनेको लेसोथो पुगे । त्यसअघि उनीहरूले सोमालियाको राजधानी मोगादिसुबाट आफ्ना कार्यकर्ता दक्षिण अफ्रिकाभित्र छिराउने प्रयास गरेका थिए । तर, त्यसो गर्दा धेरै कार्यकर्ता पक्राउ परेपछि लेसोथो नै गतिविधिको लागि उपयुक्त ठाउँ बन्न पुग्यो । लेसोथोमा हानीका पिता गिल्बर्ट पनि प्रवास जीवन व्यतीत गर्दै थिए । गिल्बर्ट आफ्नी अर्की श्रीमती एलिजाबेथ ‘रक्की’ माफिकिङ र ८ जना छोराछोरीसँग सानो पसल गरी बसेका थिए । माफिकिङ आफै एक मजदुर नेतृ थिइन् र केपटाउनबाट उनलाई निकाला गरिएको थियो । गिल्बर्टको सक्रिय राजनीतिक अभिरुचि र पहुँचले गर्दा हानीलाई त्यहाँ काम गर्न सहज थियो ।
लेसोथोमा बसेर हानीले मुक्ति सङ्घर्षमा टेवा पु¥याउने विविध गतिविधि गर्न थाले । हानीले पछि स्मरण गरे, “अब हामीले लेसोथोबाट देशभित्र विभिन्न एकाइ गठन गर्न थालेका थियौँ । देशभित्रै हामीले क्रमशः साङ्गठनिक सञ्जाल विस्तार गर्यौँ । हामी साथीहरूलाई गुरिल्ला युद्ध, राजनीतिक, गुप्तचरीजस्ता विषयमा तालिम दिन्थ्यौँ । म त्यो समय निकै उत्साहित थिएँ । त्रान्सभाल, अरेन्ज फ्रि स्टेट, केप र नातालबाट मानिसहरू त्यहाँ आइरहन्थे । मजदुर सङ्गठनसँग सम्पर्कमा थिएँ । म साँच्चै जीवन्त सम्पर्कमा थिएँ । म भित्रबाहिर गरिरहन्थेँ । ब्रान्सकेको तेर्कस्पुरियटमा कामरेडहरूसँग भेट्थेँ । लेसोथोबाट म केपटाउन, जोहान्सबर्ग, डर्बानमा केही दिनका लागि साथीहरू परिचालन गर्थे । थोरै मात्र बैठक हुन्थे । हामी रणनीतिबारे छलफल गथ्र्यौँ । “थेनजिबे थिन्स्तो (Thenjiwe Mthinsto) जस्ता प्रतिभाशाली युवाहरू हामीसँग थिए । अफ्रिकी राष्ट्रिय काङ्ग्रेस र हाम्रो सङ्घर्ष बिचको भिन्नताबारे हामी उनीहरूलाई बुझाउँथ्यौँ । तालिम दिइएकामध्ये राम्रा–राम्रा कार्यकर्तालाई देशभित्र परिचालन गथ्यौँ ।”
एमकेले लेसोथोलाई तालिम क्षेत्र, भर्तीकेन्द्र र दक्षिण अफ्रिकाभित्र छिर्ने मुख्य नाकाको रूपमा उपयोग गर्यो । क्रिस हानीका गतिविधि चाँडै केन्द्रीय गतिविधिको महत्वपूर्ण हिस्सा बने । सन् १९७५ मा हानी सैनिक कमिसारमा पदोन्नति भए । अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको राष्ट्रिय परिषद्मा उनलाई मनोनीत गरियो । तर, सन् १९७६ को सुरुतिर क्रिस हानीलाई लेसोथो प्रशासनले गिरफ्तार गर्यो । लेसोथो प्रहरी प्रशासनले दक्षिण अफ्रिकी प्रशासनसँग नजिक रहेर काम गथ्र्याे । हानी र उनीसँगै गिरफ्तार भएका कामरेडहरूलाई निर्मम यातना दिइयो । लेसोथो सरकारले हानी र मोलोइमाथि प्रतिबन्धित बीसीपी पार्टीलाई आर्थिक सहायता दिएको र लेसोथो सरकारको फर्जी कागजात बनाएको अभियोग लगाएको थियो । लेसोथो सरकार उनीहरूलाई दक्षिण अफ्रिकालाई सुपुर्दगी गर्ने तयारीमा थियो । तर, पार्टीको पहलले त्यो तयारी सफल भएन ।
सन् १९७६ ताका दक्षिण अफ्रिकाभित्र रङ्गभेदविरोधी काला सचेतना आन्दोलन (Black Consciousness Movement–BCM) त्यहाँका युवाहरूबिच निकै चर्चित थियो । १९७६ जून १६ को दिन २० हजार दक्षिण अफ्रिकी युवा विद्यार्थीले ऐतिहासिक प्रदर्शन गरे । ‘अफ्रिकान’ भाषा जबरजस्ती थोपरेको विरुद्धमा चर्केको त्यो सङ्घर्ष सेतो आन्दोलनको नामले चर्चित बन्यो । तर, तत्कालीन सरकारले त्यसलाई नराम्ररी दबाइदियो । हजारौँ युवाहरू देश छोड्न बाध्य भए । सन् १९७७ मा बीसीएमका नेता लिन्दा म्ती (Lingda Mti) को ३१ वर्षको उमेरमा कारागारभित्र हत्या गरियो । सरकारी दमनको कोपभाजनबाट बच्न देश छोडेका युवाहरूको लागि लेसोथो उपयुक्त आश्रयस्थल बन्यो । त्यहाँ उनीहरूको क्रिस हानीसँग भेट भयो । कालान्तरमा तत्कालीन समयको स्मरण गर्दै हानीले भने, “सन् १९७६ अफ्रिकी काङ्ग्रेस र सशस्त्र सङ्घर्षको निम्ति उपयुक्त समय थियो । किनभने, देशभित्रबाट ठुलो सङ्ख्यामा कार्यकर्ता हाम्रो सम्पर्कमा आएका थिए । ती कार्यकर्ताहरू फरक खालका थिए – आक्रोशित र अधैर्य । उनीहरू जतिसक्दो चाँडो रङ्गभेद अन्त्य गर्न चाहन्थे । ठुलो अपेक्षा र बलिदानी भावनाका साथ उनीहरू देशबाहिर समय खेर फाल्ने पक्षमा थिएनन् । उनीहरू देशभित्र गएर दैत्यसँग भिड्न चाहन्थे ।”
यसरी आएका युवाहरू ३४ वर्षका हानीको बौद्धिकता, दक्षिण अफ्रिकाभित्रको राजनीतिक अवस्था र उनको सरल व्यवहारबाट प्रभावित हुन्थे । उनीहरूलाई राजनीतिक प्रशिक्षण दिने काम हानीकै थियो । सबभन्दा प्रतिभाशाली र अनुशासित प्रशिक्षार्थीहरूलाई कम्युनिस्ट पार्टीको सदस्यता लिन उत्साहित गरिन्थ्यो । ‘वर्गसङ्घर्षमा आधारित राष्ट्रिय प्रजातान्त्रिक क्रान्ति’ को पक्षमा हानीको दृष्टिकोण प्रस्ट थियो । कम्युनिस्ट पार्टीको सदस्यता पाउनु सम्मानको विषय थियो र त्यो काम गोप्यरूपमा हुन्थ्यो ।
प्रशिक्षण प्राप्त गरिसकेका युवाहरूलाई भूमिगत गतिविधिमा परिचालन गरिन्थ्यो । उनीहरू पार्टीको साहित्य प्रकाशनमा सहयोग गर्थे । तर, उनीहरू एकले अर्काको कामबारे थाहा पाउँदैनथे । सबैले भूमिगत नाम प्रयोग गर्थे । तालिमको प्रारम्भिक पाठ नै सुरक्षा प्रबन्धसम्बन्धी हुन्थ्यो । देशभित्र पस्ने टोलीमा दुईदेखि तीनजना मात्र हुन्थे । प्रत्येक टोलीको एकजना टोली नेता हुन्थ्यो र त्यो टोली नेता हानीको प्रत्यक्ष सम्पर्कमा रहन्थ्यो । त्यस्ता टोलीको आयु बढीमा तीन वर्षको मात्र हुन्थ्यो । लेसोथोमा हतियार प्रायशः चिहानघारीमा लुकाउने गरिन्थ्यो ।
सन् १९७८ को अक्टोबर महिनामा क्रिस हानी अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको टोलीमा सम्मिलित भई भियतनाम गए । गुरिल्ला युद्धसम्बन्धी भियतनामी अनुभवबाट सिक्नु नै भ्रमणको प्रमुख लक्ष्य थियो । उत्तर र दक्षिण भियतनामबिचको समन्वयकारी गुरिल्ला युद्धले अमेरिकी साम्राज्यवादलाई समेत लघारेको थियो । मुक्तिकामी दक्षिण अफ्रिकी योद्धाहरू त्यो पद्धति सिक्न लालायित थिए ।
लेसोथोबाट भूमिगत गतिविधिलाई तीव्रता दिने क्रम चालु थियो । त्यसैबिच सन् १९७८ मा क्रिसकी श्रीमती लिम्फो हानी गिरफ्तारीमा परिन् । लेडीब्रान्डबाट पश्चिमी केपमा खबर पु¥याउने क्रममा उनलाई गिरफ्तार गरिएको थियो । आतङ्कवाद नियन्त्रण ऐनअन्तर्गत उनलाई सुरुमा केपटाउन र पछि ब्लोयमफोटियन लगियो । चरम यातनाले उनको गर्भसमेत तुहियो ।
लेसोथोमा क्रिस हानीको निवासलाई ‘मस्को’ भनिन्थ्यो । त्यहाँ गुप्तचरहरूको सदैव निगरानी हुन्थ्यो । धेरैपटक हानीको हत्या प्रयास पनि भएको थियो । प्रातःकालीन भ्रमणको क्रममा उनको हत्या प्रयास भएको थियो । तर, दैनिकरूपमा फरकफरक बाटो प्रयोग गर्ने भएकाले तिनीहरू असफल हुन्थे । दक्षिण अफ्रिकी सरकार लेसोथोमा हानीको नेतृत्वमा भइरहेका गतिविधिबारे क्रमशः सचेत बन्दै थियो । त्यसकारण, दक्षिण अफ्रिकी सरकारले हानीको हत्या गर्न उनले प्रयोग गरेको कारमा विस्फोटक पदार्थ जडान गरी विस्फोट गरायो । तर, त्यसबाट कुनै मानवीय क्षति भएन । हानीको गाडीका चालकलाई अपहरण गरी अमानवीय यातना दिइयो ।
कार विस्फोटको घटनापछि हानी परिवार ‘मस्को’ नामको घर छोडेर क्युना फ्ल्याटमा सर्यो ।
सन् १९८२ मा लेसोथोमा एमकेका केही उल्लेखनीय कारबाही भए । लाङ्गा आयुक्तको अदालतमा मार्च २० मा बम विस्फोट गराइयो । जून ४ मा केपटाउनस्थित राष्ट्रपतिको परिषद् भवनमा अर्को बम विस्फोट गराइयो । त्यस्तै पूर्वी केपमा पनि केही विस्फोट गराइए । ती घटनापश्चात् अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको नेतृत्वले हानीलाई लुसाका आउन निर्देशन दियो । हानीको अनेक पटकको हत्या प्रयासका कारण उनलाई त्यता बोलाइएको थियो । तर, हानीको लुसाका प्रस्थानसँगै लेसोथोमा गतिविधि नेतृत्वविहीन बन्न पुग्यो ।
दक्षिण अफ्रिकी मुक्ति सङ्घर्षमा क्रिस हानीको सक्रिय नेतृत्वसँगै सरकारले उनीविरुद्धको हमला तीव्र पारेको थियो । ‘द सिटिजन’ लगायत सरकार पक्षधर सञ्चारमाध्यमहरूले उनीविरुद्धको दुष्प्रचारलाई व्यापक बनाएका थिए । ती सञ्चारमाध्यमहरूले हानीलाई ‘रक्तपिपासु कालो कम्युनिस्ट’ का रूपमा चित्रण गरेका थिए । काला अफ्रिकी जनता बस्ने सहर र गाउँबस्ती त्यतिबेला अशान्त थिए । गुप्ती प्रहरी र सेनाको सक्रियता बढ्दो थियो । सरकार स्वयम् काला जातिको हत्या, आतङ्क र हिंसामा तल्लीन थियो । युवा र ज्येष्ठ नागरिकहरूको निर्मम हत्याका समाचार दैनिकजसो छापिन्थे । महिलाहरू बलात्कृत हुन्थे, स्कूले केटाकेटीसमेत कुटपिटको सिकार बन्थे । त्यहाँ काला जातिका जनता अर्को दिन बाँच्ने हो होइन, ठेगान हुन्थेन । यस्तो परिस्थितिमा हानीले भने, “गोराहरूले यतिबेला देश गृहयुद्धमा भएको बुझ्न आवश्यक छ ।” तर, गोराहरूका बस्ती भने शान्त थिए । “उनीहरूको जीवन राम्रो छ । उनीहरू सिनेमा हेर्न जान्छन् । भोजभतेरमा मोजमस्ती गर्छन् । होटेलमा निर्भय रमाउँछन् । त्यसले उनीहरूको जीवन सुन्दर भएको प्रस्ट देखाउँछ । हाम्रो पार्टीको एउटा कार्यक्रम त्यो सुन्दर जीवन बिथोल्नु पनि हो,” एउटा अन्तर्वार्तामा ३९ वर्षीय हानीले भनेका थिए ।
दक्षिण अफ्रिकाका गोराहरूको एक समूह भने अफ्रिकी राष्ट्रिय काङ्ग्रेससँग वार्ता गर्न जाम्बिया पुग्यो । काङ्ग्रेस सभापतिले आफ्नो वार्ता टोलीमा हानी र थाबो एम्बेकीलाई समावेश गरेका थिए । हानी र एम्बेकी दुई दिशाका भिन्न पात्र थिए । एम्बेकी अधैर्य स्वभावका थिए । हानी कम्युनिस्ट विचारधाराप्रति प्रतिबद्ध थिए । एम्बेकी मूलतः बेलायतका उदार सामाजिक प्रजातन्त्रवादीहरूबाट प्रभावित थिए । सन् १९७०–१९८० को दशकमा एम्बेकी पनि कम्युनिस्ट पार्टी सदस्य थिए । तर, पछि उनले त्यसबाट राजीनामा दिए । उनी भावुकतावश र कम्युनिस्ट पार्टीको बौद्धिक प्रस्तुतिका कारण मात्र त्यसको सदस्य बनेका थिए । हानी र एम्बेकीबिच मतभेदहरू थिए । एम्बेकी स्वतन्त्रता सङ्घर्षलाई प्रजातान्त्रिक दिशातर्फ डो¥याउन चाहन्थे । हानी मुक्ति आन्दोलनलाई आमूल परिवर्तनसँग जोड्न चाहन्थे । यही मतान्तरका कारण सन् १९८७ मा सेनेगलको डकारमा दक्षिण अफ्रिकी प्रजातान्त्रिक विकल्प प्रतिष्ठानसँगको वार्तामा हानी सहभागी भएनन् । हानीबारे दक्षिण अफ्रिकी प्रजातान्त्रिक विकल्प प्रतिष्ठानका संस्थापक आलेक्स बोरानीले आफ्नो संस्मरणमा लेखेका छन्, “उनी दृढ निश्चयी माक्र्सवादी थिए । उनी मूलतः दक्षिण अफ्रिकामा आर्थिक न्यायको कुरा गर्थे । निःसन्देह त्यतिबेला उनी समाजवादी ढाँचाको अर्थतन्त्रप्रति गम्भीर ढङ्गले कटिबद्ध थिए । उनी डकार वार्तामा सहभागी भएनन् र उनीसँग मेरो दोस्रोपटक भेट पनि भएन । तर, उनका भाषण र पहिलो भेटपछि उनीप्रति मेरो धारणा यस्तो रह्यो । उनी ज्यादै विद्वान्, गम्भीर प्रकृतिका व्यक्ति हुन् ।”
सन् १९८५ जुलाईमा दक्षिण अफ्रिकाको सत्तासीन नेसनल पार्टीको सरकारले काला जातिका जनता बस्ने सहरमाथि नियन्त्रण जमाउन आंशिक सङ्कटकाल थोपर्यो । तर, त्यही वर्ष युरोपेली आर्थिक समुदाय आयोगले दक्षिण अफ्रिकाबाट लगानी फिर्ता गर्न आह्वान गरेपछि समुदायका १० देशहरूले तत्काल लगानी रोके । फ्रान्सले लगानीमाथि प्रतिबन्ध नै लगायो । यसले नेसनल पार्टीलाई संवादको बाटोमा आउन बाध्य पार्यो । यद्यपि नाकाबन्दीको सिकार फेरि पनि दक्षिणी अफ्रिकी शोषितपीडित जनता नै भए । जनताको जीवन थप कष्टकर बन्यो, गोराहरूको जीवनमा भने कुनै तलमाथि भएन ।
मन्डेलापछिका लोकप्रिय नेता
सन् १९८५ मा दक्षिणी अफ्रिकी कम्युनिस्ट पार्टीको छैटौँ महाधिवेशन मस्कोमा भयो । महाधिवेशनले भर्ती प्रक्रियालाई व्यापक बनाउने तय गरेसँगै सशस्त्र सङ्घर्षको नीति अझ प्रस्टसँग पारित ग¥यो । क्रिस हानी सर्वाधिक मतका साथ पोलिटब्युरो सदस्य निर्वाचित भए । उनी नेल्सन मन्डेलापछि सबभन्दा लोकप्रिय नेताका रूपमा स्थापित भए । त्यही वर्ष अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको काब्वेमा सम्मेलन भयो । पहिलोपटक काङ्ग्रेसको राष्ट्रिय कार्य समिति निर्वाचित गरियो । त्यहाँ पनि हानी लोकप्रिय नेताको रूपमा चुनिए । नेतृत्वलाई जनता र कार्यकर्ताप्रति उत्तरदायी बनाउन काङ्ग्रेसले पहिलोपटक चुनावबाट नेतृत्व चयन गरेको थियो । काङ्ग्रेसमा निर्वाचित २९ केन्द्रीय सदस्यमध्ये २४ जना कम्युनिस्ट थिए । काङ्ग्रेस सभापति जिओ स्लोभोलगायत पोलिटब्युरो सदस्यहरूमा हानीसहित पाँचजना कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्यहरू थिए । हानी त्यो सम्मेलनबाट सेनाको उपप्रमुख तथा कमिसार अनि काङ्ग्रेसको राजनीतिक सैनिक परिषद्को सदस्यमा पनि निर्वाचित भए । सन् १९७६ यता फेरि एकपटक उनी काङ्ग्रेसको क्रान्तिकारी परिषद्को सदस्यमा चुनिए । काब्वे सम्मेलनपछि हानीको जिम्मेवारी बढेको थियो र मुक्ति आन्दोलनका सबै अङ्गमा उनको प्रभाव विस्तार भयो । यसअघि सन् १९८३ को सुरुतिर रुवान्डामा भएको सम्मेलनमा काङ्ग्रेसको राजनीतिक र सैनिक अङ्गबिच उपयुक्त समन्वय नहुँदा त्यो सम्मेलन परिणामशून्य भएको थियो ।

सन् १९८० को दशक दक्षिण अफ्रिकामा हत्याहिंसा, अपहरण, डकैती र दमनको दशक बन्यो । सन् १९७८ मा प्रधानमन्त्री जोन भोस्र्टर (John Vorster) लाई पदबाट राजीनामा दिन बाध्य पारियो । उनको ठाउँ रक्षामन्त्री पीडब्ल्यू बोथा (PW Botha) ले लिए । राष्ट्र प्रमुख र सरकार प्रमुख एकैजना व्यक्ति हुने गरी संविधान संशोधन गरियो । बोथाले दक्षिण अफ्रिकालाई पूर्णतः सैनिक शासनतर्फ धकेलिदियो । दक्षिण अफ्रिकी प्रहरी, सुरक्षा फौज (SADF), नवगठित अघोषित हत्यारा दल, नृशंस कोभेइट (Koevoet), दक्षिण–पश्चिम अफ्रिकी प्रहरी प्रत्याक्रमण दल आदि सबै रक्तपातपूर्ण अपराधहरूमा सक्रिय रहे । उनीहरू अफ्रिकाका अन्य देशहरूमा स्वतन्त्रता आन्दोलनका योद्धाहरूको हत्यामा समेत संलग्न रहेका थिए ।
बोथा सरकारअन्तर्गतको सुरक्षा फौजले हरारेमा अफ्रिकी राष्ट्रिय काङ्ग्रेसको जिम्बाब्वे समितिका प्रमुख जो गाबी (Joe Gqabi) को सन् १९८१ मा हत्या ग¥यो । क्रिस हानीको गाडी चालक एवम् विश्वासपात्र सिज्वी कोन्डायल पनि बोथा सरकारको षड्यन्त्रमा मारिए । सन् १९८३ मा स्वाजिल्यान्डमा प्रवासमा रहेका काङ्ग्रेस नेता ज्वेली नायदाको हत्या गरियो । आन्तरिक सुरक्षा ऐनको आडमा उनीहरूले अरू धेरै रङ्गभेदविरोधी नेता–कार्यकर्ता र अभियन्ताहरूको हत्या गरे । उनीहरूले काङ्ग्रेस नेताहरू बसेका ठाउँ/घरमा बम विस्फोट गराउँथे । सन् १९८७ मा स्वाजिल्यान्डमा काङ्ग्रेसका अर्का वरिष्ठ नेता कासियस माकेको हत्या भयो । सन् १९८८ मा काङ्ग्रेसका पेरिस प्रतिनिधि दुल्से सेप्टेम्बरको पनि हत्या भयो ।
बोथाको दमनचक्रबिच राष्ट्रिय काङ्ग्रेसको सक्रियता अझ बढेको थियो । प्रमुख नेता टाम्बोमार्फत पार्टीलाई सहायता गर्नेहरूको सङ्ख्या अझ बढेको थियो । ३४ ओटा देशमा काङ्ग्रेसका प्रतिनिधि वा कार्यालय थिए । भर्खर स्वतन्त्र भएको देश जिम्बाब्वे र त्यहाँका प्रधानमन्त्री रोबर्ट मुगाबेजस्ता समग्र अफ्रिकी महादेशको स्वतन्त्रताका पक्षपातीहरूले दक्षिण अफ्रिकी मुक्ति आन्दोलनप्रति अतुलनीय सद्भाव प्रदर्शन गरेका थिए ।
सन् १९७० को दशकमा स्थापित एमकेको अङ्गोला शिविरमा जहिलेसुकै युद्धमा जान तयार तालिम प्राप्त १० हजारभन्दा बढी लडाकु थिए । तर, नेतृत्वले प्रस्ट कार्यदिशा दिन नसक्दा ती लडाकुहरूमा असन्तोष र निराशा छाएको थियो । उनीहरूले भावना बुझ्न सक्ने नेताका रूपमा क्रिस हानीलाई मात्र देखेका थिए । किनभने, उनी लडाकुहरूसँगै सुत्थे, तालिम लिन्थे र सामान्य कार्यकर्ताजस्तो व्यवहार गर्थे । गुप्तचरभित्र छिर्न सक्ने र आक्रमणको खतरा देखाएर पार्टीका अरू नेताहरूले लडाकुहरूलाई स्वयम्सेवकका रूपमा नभई कैदीको रूपमा व्यवहार गरेका थिए । यस्तो असन्तोषबिच लडाकुहरूले बेलाबखत विद्रोहसमेत गरे । सन् १९८४ मा भायना शिविर र पाङ्गो शिविरमा त्यस्ता विद्रोह भएका थिए । लडाकुहरूले हातहतियार कब्जा गरेर आफ्ना कमान्डर र अरू सिपाहीहरूको हत्या गरेका थिए । त्यस्ता गतिविधिले स्वतन्त्रता सङ्घर्षलाई क्षति पु¥याएको थियो ।
अङ्गोलाका शिविरहरूमा भएका यस्ता गडबडीबारे सत्यतथ्य अध्ययन गर्न अध्ययन समितिहरू गठन भए र तिनले सन् १९८४ सम्ममा शिविरका अधिकांश सदस्य त्यहाँका प्रशासकहरूसँग असन्तुष्ट भएको निचोड निकाले । खाना आपूर्ति, आवश्यक सामग्रीको उपलब्धतामा समस्या र महिला कामरेडहरूप्रतिको दुव्र्यवहार नै उनीहरूका प्रमुख असन्तुष्टिका विषय थिए । प्रशासकहरू बढी सुविधाभोगी हुने र सामान्य लडाकुलाई विभेद गर्दा असन्तुष्टि चुलिएको थियो । खेतीपातीका हिसाबबाट राम्रो ठाउँमा अवस्थित शिविरमा समेत कुहिएको तरकारी र फलफूल खुवाउनु, सजिलै पानी निकाल्न मिल्ने ठाउँमा समेत टाढाटाढाबाट पानी ओसार्न लगाउनु, नियमित स्वास्थ्योपचारको बन्दोबस्त नहुनु आदि कारणले लडाकु शिविर सरकारकै कुनै यातनागृहजस्ता बनेका थिए ।
कार्यकर्ता र लडाकुको भावना नजिकबाट सुन्ने र बुझ्ने नेता भएकाले क्रिस हानी यस्तो दुरवस्थाबाट आक्रोशित थिए । उनले भने, “यसरी हामीले मानिसहरूलाई बन्दी बनाउँदा सरकारसँग राजनीतिक बन्दीहरू रिहा गराउन माग गर्ने हामीसँग कुनै नैतिक हक हुनेछैन । हाम्रो नाममा त्यहाँ अन्याय र गलत काम भइरहेका छन् ।”
अङ्गोलाका लडाकुहरूको मनस्थिति क्रिस हानीले राम्ररी बुझेका थिए । किनभने, सन् १९६९ मा बोत्सवाना कारागारबाट मुक्त भएपछि उनले पनि त्यस्तै अवस्था सामना गर्नुपरेको थियो र ज्ञापनपत्र बुझाएको भन्दै कारबाहीसमेत भोग्नुपरेको थियो । लडाकुहरूलाई नियमित राजनीतिक कक्षा र असल नेतृत्वको अभाव भएकोले अङ्गोलामा त्यो अवस्था आएको हानीलाई राम्रोसित थाहा थियो । शिविर सुरु हुँदा क्युवाली प्रशिक्षक र पार्टीको नेतृत्वमा शिविर व्यवस्थित, सुसंस्कृतरूपमा उच्च तहको सैनिक तालिम सञ्चालन हुन्थे । राजनीतिक तालिम र स्तरवृद्धिलाई जोड दिइन्थ्यो । कसैले गल्ती गरे रचनात्मक सजाय दिइन्थ्यो र त्यसमा कार्यकर्ताकै पनि संलग्नता हुन्थ्यो । प्रशासन र लडाकुबिचको दैनिक सम्बन्ध बलियो र मैत्रीपूर्ण हुन्थ्यो । तर, सन् १९७९ मा नोभ कातेङ्गा शिविरमाथि दक्षिण अफ्रिकी हवाई सेनाले हमला गरेपछि सबै शिविरको अवस्था क्रमशः बिग्रँदै गयो । अङ्गोलाकै युनिटा दलको पटकपटकको आक्रमणलाई चुपचाप सहने परिपाटीले पनि दक्षिण अफ्रिकी लडाकुहरूमा हतास मानसिकता छाएको थियो ।
दक्षिण अफ्रिकाभित्र फिर्ता पठाइएका कार्यकर्तामध्ये ६० प्रतिशत गिरफ्तार भएकाले पार्टीमा सरकारी गुप्तचर घुसेको आशङ्का प्रबल थियो ।
तत्कालीन लडाकु शिविरभित्र भए गरेका ज्यान सजायबारे अनुसन्धान गर्न पछि गठित आयोगमा बोल्दै त्यतिबेलाका दक्षिण अफ्रिकाका उपराष्ट्रपति थाबो एम्बेकीले सन् १९८० देखि १९८९ सम्म सैनिक विद्रोह, हत्या र बलात्कारको आरोपमा कम्तीमा ३४ जना लडाकुलाई ज्यान सजाय दिइएको बताए । क्रिस हानी लडाकुहरूको जथाभावी हत्याको विपक्षमा थिए । उनले भने, “एकजना कम्युनिस्टको नाताले मैले सधैँ व्यक्तिको मानव अधिकार रक्षा गर्नुपर्नेमा विश्वास गरेँ । कोही हाम्रो शत्रु नै भए पनि हामीले यातना र कुटपिट गर्नुहुन्न भन्ने मेरो विचार हो । यसो भनेर मैले राष्ट्रिय परिषद्मा धेरैलाई चिढाएको छु । तर, त्यहाँ यस्तो विचार राख्ने म मात्र थिइनँ ।”
स्रोत : स्वतन्त्रता आन्दोलनका अफ्रिकी अगुवा

Leave a Reply

Your email address will not be published. Required fields are marked *