सन् २०२६ जून २४ को रात । भेनेजुयलाको उत्तरी तटमा जुम्ल्याहा भूकम्प आयो । भेनेजुयला सरकारले जून २६ गते जारी गरेको आधिकारिक तथ्याङ्कअनुसार कम्तीमा ९२० जना मानिसको मृत्यु भयो भने कम्तीमा ३३६० जना मानिस घाइते भए । ५० हजारभन्दा बढी मानिस हराएको खबर छ । परिवारहरू आपसमा भेट भएपछि हराउनेहरूको सङ्ख्या घट्ने बताइएको छ । ला ग्वाइरा राज्य भूकम्पले सबैभन्दा बढी क्षतिग्रस्त राज्य हो । भग्नावशेष हटाउने भारी उपकरणहरू नपाएपछि त्यहाँ मानिसहरूले गैँटी, हथौडा र खाली हातले भग्नावशेषहरू हटाउँदै छन् ।
अमेरिकी सेनाको दक्षिणी कमान्डले जमिन र पानी दुवैमा चल्न सक्ने जहाजी बेडा फोर्ट लौडरडेल (USS Fort Lauderdale) र तटीय युद्धमा अभ्यस्त बेडा बिलिङ्स (USS Billings) लाई भेनेजुयला पठाएको छ । साथमा उसले दुई विमान (C-17 Globemaster / C-130 Hercules) पनि पठाएको छ ।
मरिन कोरका मेजर जनरल केभिन जे. जेरार्डले यसअघि चौथो मरिन डिभिजनको नेतृत्व गरेका थिए । जून २५ को रात उनी भेनेजुयलाको राजधानी काराकस सहर पुगे । भेनेजुयली भूमिमा अमेरिकी युद्ध मन्त्रालयका अपरेसनहरूको निर्देशन गर्न उनी त्यहाँ पुगेका थिए । उद्दार कार्यका लागि कसैले पनि मरिन जनरललाई पठाउने चलन छैन । यस्ता जनरलले खासमा युद्ध, कब्जा र अतिक्रमणको लागि सेनाको कमान सम्हाल्ने तालिम पाएका हुन्छन् ।
दुवै युद्धबेडालाई यसअघि नै ‘अपरेसन दक्षिणी भाला’ (Operation Southern Spear) मा खटाइएको थियो । यी तिनै युद्धबेडा हुन् जसलाई पेन्टागनले भेनेजुयलाका राष्ट्रपति निकोलस मदुरो र सिलिया फ्लोरेसको अपहरणमा प्रयोग गरेको थियो । ती युद्धबेडाले त्यस अपहरणमा संलग्न अमेरिकी विशेष सैन्यबललाई सहयोग गरेका थिए । आज भेनेजुयली राष्ट्रपति मदुरो न्युयोर्क सहरमा अमेरिकी थुनामा हुनुहुन्छ ।
काराकसमा अमेरिकी मरिन जनरलको आगमनको अर्थ निकाल्नुअघि बुझ्नुपर्ने तथ्य के भने हो आज भेनेजुयला अमेरिकी कब्जामा छ ।
यस कब्जाका विभिन्न आयाम छन्; आफै लाइसेन्स जारी गर्ने, बैङ्क खाता बन्द गर्ने, तेल बेच्न अनुमति नदिने, भुक्तानी रोक्का गर्ने, राष्ट्रपति अपहरण गर्ने र राजस्व कब्जा गर्ने ।
हाल भेनेजुयलामा राष्ट्रपति डेल्सी रोड्रिगेज कायममुकायम राष्ट्रपति हुनुहुन्छ । भूकम्प जानुभन्दा अगाडिदेखि नै उहाँले वासिङटनले थोपरेको सर्तमा शासन गर्दै हुनुहुन्छ । अमेरिकी राजकोष मन्त्रालयको ‘विदेशी सम्पत्ति नियन्त्रण कार्यालय’ (OFAC) ले यसअघि नै भेनेजुयालमाथि छायाँ अर्थमन्त्रालयको रूपमा काम गर्दै आएको छ । भेनेजुयलाले कुन तेल सम्झौता गर्ने, कुन कम्पनीले काम गर्ने र पैसा कहाँ जाने आदि निर्णय सोही कार्यालयले गर्छ । यो परिबन्द भूकम्पले ल्याएको होइन । बरु, भेनेजुयलामाथि अमेरिकी कब्जालाई पछिल्लो भूकम्पले मानवीयताको जामा लगाइदिएको हो ।
ला ग्वाइरा र काराकसका उद्दारकर्मीहरूले आफूसँग भएका उपकरणको मद्दतले जनताको ज्यान जोगाउँदै छन् । जनताले भग्नावशेषमा पुरिएका छिमेकीलाई बाहिर निकाल्दै छन् । कातिया ला मारका बासिन्दाले ट्रकहरू रोकेर सडकमै रोटी र पानी झार्न भने । सरकारले दिन नसक्ने राहत वितरण गर्न भालेन्सियाका स्वयंसेवीहरूले रातभर गाडी चलाएर लामो यात्रा गरे । साथै, भुइँ तहका सङ्घ सङ्गठनले राहतका लागि देशैभरि खाना, लुगा र औषधिहरू जम्मा गरे । तिनले विस्थापितहरूका लागि अस्थायी बासस्थान बनाए ।
भेनेजुयली सेनाले भूकम्पग्रस्त क्षेत्रमा घुम्ती टोलीहरू पठायो । मेक्सिको, डोमिनिकन रिपब्लिक र एल साल्भाडोरबाट २४ घण्टाभित्रै आपत्कालीन टोलीहरू पनि आए । यसपछि कोलम्बिया र ब्राजिलबाट सहयोगी ब्रिगेडहरू आए । कामचलाउ राष्ट्रपति रोड्रिगेजले बोलिभारियाली राष्ट्रिय गार्डका कमान्डर मेजर जनरल अर्नेस्टो सुल्बरान क्विनतेरोलाई आपत्कालीन परिस्थिति सम्हाल्ने पूर्ण जिम्मेवारी दिनुभएको छ । उहाँले भूकम्प प्रभावित क्षेत्र ला ग्वाइरालाई सैन्य प्रशासनअन्तर्गत राख्नुभएको छ ।
यही हो बोलिभारियाली क्रान्तिको सङ्गठनको आधार – कम्युन, कम्युन परिषद्, मजदुर सङ्गठन, सशस्त्र बल र राज्य संरचना । भूकम्पपछि यी सबै आआफ्ना स्थानबाट क्रियाशील भएका छन् । अमेरिकी कब्जापछि बचेखुचेका स्रोतसाधनको मद्दतले उनीहरूले जतिसक्दो उद्दार र राहतका काम गर्दै छन् ।
अमेरिकाको लामो नाकाबन्दीपछि भेनेजुयलाको हात बाँधिए जस्तो भयो । हात बाँधिएकै अवस्थामा उसले भूकम्पीय महाविनाशको सामना गर्दै छ । सन् २०१७ मा डोनाल्ड ट्रम्पले भेनेजुयलाविरुद्ध आर्थिक प्रतिबन्ध चर्काएका थिए । राष्ट्रपति बाइडेनले त्यसलाई जारी राखे र प्रतिबन्ध थप कसिलो पारे । झन्डै एक दशकमा भेनेजुयलाको अर्थतन्त्र झन्डै ८० प्रतिशत खस्केको छ । ८० लाखभन्दा बढी जनता देश छोड्न बाध्य भएका छन् । अस्पतालहरूमा आवश्यक सामग्रीको आपूर्ति ठप्प छ । विकास निर्माण र मर्मत सम्भारको लागि बजेट ख्वात्तै घटेको स्थिति छ ।
भारी आकारका उद्दार उपकरण र अन्य सामग्री प्रदान गर्ने सरकारी क्षमता नाकाबन्दीका कारण पङ्गु बनेको छ ।
अमेरिकी कब्जाले भूकम्प भनेन । भूकम्पको बेला पनि कब्जा रोकिएन ।
जून २५ गते अमेरिकाको राजकोष मन्त्रालयले जनरल लाइसेन्स–६० जारी ग¥यो । यो आदेशअनुसार राहतका लागि मात्र विदेशीसँग पैसाको लेनदेन गर्न मिल्नेछ । तर, विदेशमा राखिएको भेनेजुयली धन भने अझै रोक्कामा छ । यसको अर्थ क्षतिग्रस्त भेनेजुयलालाई सहयोग गर्न वासिङटनको अनुमति लिनुपर्छ ।
भेनेजुयला सरकारले आज पनि आफूले ‘बैङ्क अफ इङल्यान्ड’ मा राखेको सुन छुन पाएको छैन । अन्तर्राष्ट्रिय मुद्राकोषमा आफैले जम्मा गरेको ५ अर्ब डलर बराबरको रकमलाई उसले खुला रूपमा प्रयोग गर्न पाएको छैन । तेल निर्यात गरेर आउने राजस्व अझै पनि अमेरिकी चौकीबाट गुज्रिनुपर्छ ।
बैङ्किङको भाषामा भन्नुपर्दा यो पनि एकखाले कब्जा हो ।
विश्वले भेनेजुयलाप्रति जाहेर गर्ने ऐक्यबद्धता यिनै तथ्यबाट सुरु हुन्छ । भेनेजुयलाप्रति ऐक्यबद्धता जाहेर गर्नुको अर्थ हो – भेनेजुयली सरकारले विदेशमा रहेको आफ्नो सुन, रोक्का गरिएको बैङ्क खाता र निर्यातबाट आउने राजस्व निःसर्त उपभोग गर्न पाउनुपर्छ । भूकम्पग्रस्त क्षेत्रमा अमेरिकी मरिन जनरलको प्रवेशलाई अर्को अर्थ लगाउन पाइँदैन । त्यसलाई उद्दारको निहुँमा भेनेजुयलामाथि कब्जाकारी जरा गाड्ने योजना भन्नुपर्छ ।
(स्रोत : एमआर अनलाइन । सम्यक)
Leave a Reply