थाहा खबर डटकम नयाँ बानेश्वरका सुरक्षा गार्ड किशोर घिमिरेको कागज व्यहोरा :
भदौ २३ गते अन्दाजी ११.३० बजे माइतीघरतर्फबाट हजारौँको सङ्ख्यामा मानिसहरू नयाँबानेश्वरतर्फ आउँदै गरेको देखेँ । अन्दाजी १२.३० बजे आन्दोलनकारीहरू निषेधित क्षेत्र तोडेर संसद् भवनतर्फ बढिरहँदा सुरक्षाकर्मीको तर्फबाट अश्रुग्याँस प्रहार भएको थियो । भिड आक्रामक हुँदै गएपछि सुरक्षाकर्मीको टोली पछाडि हट्दै संसद् भवनभित्र प्रवेश ग¥यो । त्यसबेला प्रदर्शनकारीहरू तारबार, भित्ता, गेट भत्काएर “संसद् भवन कब्जा गरौँ” भन्दै हो–हल्ला गरिरहेका थिए । प्रदर्शनकारीहरूका हातमा पेट्रोल भरिएको सिसाका बोतलसमेत थिए ।
संसद् भवनतर्फबाट प्रहार गरिएको अश्रुग्याँस आकाशतर्फ गएर मुनि झर्ने हुँदा प्रदर्शनकारीहरूले हाम्रो अफिसको छतबाट गोलि प्रहार गरिरहेको हो कि भन्ने शङ्का गरे । यसैकारण ८–१० जना प्रदर्शनकारीहरूले ४ पटक हाम्रो अफिसको छतमासमेत गएर हेरे । आन्दोलनकारीहरूले हाम्रो अफिस नजिक आएर ‘यो प्रचण्डेको हो, भोलि यसको आगो लाग्ने पालो’ पनि भनेका थिए ।
भदौ २४ गते बिहान अन्दाजी ०८.०० बजेसम्म स्थिति सामान्य नै थियो । अं ०८.३० बजेको समयमा एउटा ट्रकमा नेपाली सेनाको टोली आएर हवाई फायर भयो । हवाई फायरपछि भिड थापाथली, माइतीघर र तीनकुनेतर्फ लाग्यो । त्यसपछि सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको सुरक्षाकर्मीले नयाँबानेश्वर चोक र तीनकुनेतर्फ ब्यारिकेड लगाए । पौनेघण्टा जतिपछि नेपाली सेनाको टोली फिर्ता भयो । फेरि अन्दाजी अन्दाजी ११.०० बजेतिर प्रदर्शनकारीहरूले संसद् भवन जलाउन खोज्ने र प्रहरीले अश्रुग्याँस तथा गोली प्रहार गर्ने क्रम चलिरह्यो । त्यसबेला एउटा एम्बुलेन्स र एउटा मोटरसाइकल जलिरहेको थियो । हाम्रो अफिसमा पनि एउटा गोलीले गेट छेडेर चेन्जिङ रुमको भित्तामा प्वाल पारेको थियो । अन्दाजी ०१.०० बजे नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका प्रहरीहरूले हार मानेर बाहिर निस्केपछि प्रदर्शनकारीहरूले संसद् भवन पूर्णरूपमा आगजनी गरे ।
अन्दाजी १७.४५ बजे प्रदर्शनकारीहरूले “यो प्रचण्डेको हो, जलाउनुपर्छ” भन्दै आगजनी गरे । एक घण्टाअगाडि नै अफिसको मेनस्वीच अफ गरेकोले धेरै क्षति हुन पाएन । प्रदर्शनकारीहरूले हाम्रो अफिसमा रहेको मोटरसाइकलबाट पेट्रोलसमेत निकालेर लगे ।
थाहा खबर डटकम नयाँ बानेश्वरका सुरक्षा गार्ड नेत्रप्रसाद चौधरीको कागज व्यहोरा
भदौ २३ गते बिहान अन्दाजी १२.३० बजे आन्दोलनकारीहरू निषेधित क्षेत्र तोडेर संसद् भवनतर्फ बढिरहेका थिए । भिड आक्रामक हुँदै गएपछि सुरक्षाकर्मीको टोली ब्याक हुँदै संसद् भवनभित्र प्रवेश गरे । सो दिन प्रदर्शनकारीहरू हाम्रो अफिसको ताला तोडेर भित्र प्रवेश गर्ने, लुक्ने र फेरि निस्कने गरिरहेका थिए । यो क्रम साँझ अन्दाजी १९.३० बजेसम्म चलिरह्यो ।
भदौ २४ गते अन्दाजी ०९.३० बजे प्रदर्शकारीहरू कोटेश्वर, शङ्खमूल, थापाथली र पुरानो बानेश्वरतर्फबाट भेला हुन थाले । हजारौँको सङ्ख्यामा भेला भएको भिडले ब्यारिकेड तोडेर संसद् भवनलाई चारैतिरबाट घेरे । आन्दोलनकारी र सुरक्षाकर्मीबिच मुठभेड भइरहँदा हाम्रो अफिसमा पनि एउटा गोलीले चेन्जिङ रुमको भित्तामा प्वाल पारेको थियो ।
अन्दाजी ०१.०० बजे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रहरीहरू हार मानेर बाहिर निस्केपछि प्रदर्शनकारीहरूले संसद् भवन आगजनी गरे । त्यतिबेला नेपाली सेनाको उपस्थिति थिएन । बेलुका १८.०० बजेतिर प्रदर्शनकारीहरू प्रहरीको पोशाकमा बन्दुक बोक्दै विजय ¥याली निकालेर हो–हल्ला गरिरहका थिए ।
महेशकुमार श्रेष्ठको कागज व्यहोरा :
म २० वर्षदेखि नयाँबानेश्वरमा “HARDFORD EDUCATION” सञ्चालन गरी विद्यार्थीहरूलाई विदेश पठाउने काम गर्दै आएको छु । भदौ २३ गते बिहान ११ः०० बजे मानिसहरूको भिड एभरेस्ट होटल अगाडिको व्यारिकेड तोडेर चोकमा जम्मा हुँदै गए । प्रदर्शनकारीहरूले संसद् भवनको पर्खाल भत्काए । उनीहरू संसद् भवनको १ नं. गेट नाघेर भित्र प्रवेश गर्दै थिए ।
अन्दाजी १४ः१८ बजेतिर मेरो कार्यकक्षको पूर्वपट्टिको झ्यालको सिसामा एक्कासि गोली पड्केको आवाज आयो । हामी त्यहाँबाट भागेर अर्को कोठामा गई बस्यौँ र अन्दाजी १८ः३० बजे घर–कोठा गएका हौँ ।
शिवराम बाँडाको कागज व्यहोरा
२०८२/०५/२४ गते आन्दोलनकारीहरूले नाराबाजी गर्दै प्रहरी प्रभाग कोटेश्वरमा तोडफोड तथा आगजनी गरे । आक्रमणपछि केही प्रहरी ज्यान जोगाउन मेरो होटलको छतबाट भाग्दै भित्र प्रवेश गरे । त्यसबेला लुगा च्यातिएको, चोटपटक लागेको, जुत्ता–चप्पल नभएको अवस्थामा प्रहरीहरू आएका थिए । प्रहरीहरूलाई बाहिर जाँदा ज्यानको खतरा हुन सक्ने भएकोले मैले होटलको विभिन्न कोठामा लुकाई बाहिरबाट चाबी लगाएर सुरक्षित गरेको हुँ । त्यसबेला आन्दोलनकारीहरूले मेरो होटलको गेटमा राखिएको सीसीटीभी, कौसीमा रहेको सोलार र झ्यालको सिसासमेत ढुङ्गाले हानेर फुटाइदिए । मेरो करिब १, ००,०००/– एकलाख जतिको क्षति भएको छ ।
लक्ष्मण श्रेष्ठको कागज व्यहोरा :
मेरो घर नयाँ बानेश्वर रत्नराज्यलक्ष्मी कलेज सडक खण्डमा आइप्लेक्स मलको विपरीत संसद् भवनतर्फ रहेको छ । २०८२ भदौ २३ गते करिब १२ः०० बजेसम्म स्थिति सामान्य थियो । दिनको १३ः०० बजेतिर पुरानो बानेश्वरतर्फबाट स्कूल–कलेज ड्रेसमै विद्यार्थीको भिड नारा लगाउँदै संसद् भवनतर्फ बढेको थियो । अराजक भिडले जथाभावी ढुङ्गामुढा गरे । भिडले मेरै पसल अगाडि एउटा एम्बुलेन्सलाई पनि तोडफोड गरिदिए र एक नम्बर गेटमा आगजनीसमेत गरेछन् । गोली लागेका एकजना प्रदर्शनकारीलाई मोटरसाइकलमा राखेर यस कलेजको बाटो हुँदै उपचारको लागि लगेको देखेको हुँ । दिनभर संसद् भवन वरपर तनावपूर्ण अवस्था रह्यो । सडकमा आवतजावत गर्ने अवस्थासमेत थिएन । साँझ १९ बजेमात्र नयाँ बानेश्वर एरियाको सडकमा सामान्य अवस्था बनेको थियो । राति सामाजिक सञ्जालबाट धेरै मानिसहरूको मृत्यु भएको र घाइते भएको थाहा पाएँ ।
Leave a Reply