भर्खरै :

‘ख्वपको पहिचान’ अन्तर्गत मेयरसँग विद्यार्थी कार्यक्रम

‘ख्वपको पहिचान’ अन्तर्गत मेयरसँग विद्यार्थी कार्यक्रम

भक्तपुर, १० भदौ । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापति र बासु माध्यमिक विद्यालयका विद्यार्थीहरूबिच ‘ख्वपको पहिचान’ अन्तर्गत ‘मेयरसँग विद्यार्थी’ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले नैतिकता मानिसको सबैभन्दा महत्वपूर्ण पहिचान भएको बताउँदै नैतिकता समाप्त भए मानिसको वास्तविक पहिचान पनि समाप्त हुने धारणा राख्नुभयो । उहाँले विद्यार्थी अनुशासनमा रहनुपर्ने र शिक्षकको कुरालाई सम्मानजनक ढङ्गले पालना गर्नुपर्नेमा जोड दिनुभयो ।
परीक्षामा असफल हुँदैमा निराश हुन नहुने बताउँदै उहाँले मेहनत र परिश्रम गर्न कहिल्यै नछोड्न विद्यार्थीलाई आग्रह गर्नुभयो ।
उहाँले हजारौँ असफलताबाट प्राप्त हुने सफलताको विशेष महत्व हुने बताउँदै माध्यमिक तहको जग बलियो बनाउन सके उच्च शिक्षा अध्ययनमा पनि सहयोग पुग्ने बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुरको शिक्षा क्षेत्रको विगत र वर्तमान अवस्थाबारे जानकारी दिँदै शिक्षाको क्षेत्रमा आएको परिवर्तनसँगै अन्य क्षेत्रको विकास पनि अघि बढ्दै गएको बताउनुभयो । “शिक्षा नै परिवर्तनको मूल आधार हो भन्ने भाष्य भक्तपुरबाट स्थापित भएको छ,” उहाँले भन्नुभयो ।
भक्तपुरमै विद्यालय तथा कलेज सञ्चालनमा आएसँगै यहाँका विद्यार्थीलाई अध्ययन गर्न सहज भएको बताउँदै उहाँले मेडिकल कलेज सञ्चालनका लागि पनि तयारी भइरहेको जानकारी दिनुभयो । स्वास्थ्य क्षेत्रमा पनि राम्रो व्यवस्था भएको तथा सामुदायिक शिक्षाको विकासका कारण आर्थिक रूपमा कमजोर परिवारका विद्यार्थीले समेत सहज रूपमा उच्च शिक्षा प्राप्त गर्न सकेको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, “भक्तपुर नगरपालिकाले चुनौतीपूर्ण काम गर्दै सफलता हासिल गरेको छ र देशमै फरक ढङ्गले अगाडि बढेको नगरका रूपमा भक्तपुर स्थापित भएको छ ।”
नगर प्रमुख प्रजापतिले ख्वप विश्वविद्यालय स्थापना गर्न भक्तपुर नगरपालिका निरन्तर प्रयासरत रहेको बताउँदै सरकारको वक्रदृष्टि र पूर्वाग्रही सोचका कारण हालसम्म विश्वविद्यालय स्थापना गर्न अनुमति प्राप्त हुन नसकेको उहाँले बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले विद्यार्थी लक्षित विभिन्न गतिविधिहरू सञ्चालन गर्दै आएको जानकारी दिँदै सामुदायिक तथा संस्थागत विद्यालयलाई समान महत्व र प्राथमिकता दिँदै शिक्षाको विकासमा काम भइरहेको उहाँको भनाइ थियो ।
भक्तपुरलाई व्यवस्थित बस्तीका रूपमा विकास गर्न नगरपालिकाले चारवटा आवास योजना सञ्चालन गरेको बताउँदै उहाँले योजनाबद्ध बस्ती विकास र जनसङ्ख्या व्यवस्थापनमा नगरपालिकाले विशेष ध्यान दिइरहेको जानकारी दिनुभयो ।
नगर प्रमुख प्रजापतिले भक्तपुरको साँढे धपाउने आन्दोलनबारे पनि विद्यार्थीहरूलाई जानकारी गराउँदै उक्त आन्दोलनको ऐतिहासिक पृष्ठभूमि, उद्देश्य र महत्वबारे शिक्षित गराउनुभयो ।
कार्यक्रममा विद्यार्थीहरूले भक्तपुरमा जनसङ्ख्यामा उतारचढाव आउनुको कारण, विद्यार्थी लक्षित कार्यक्रम, जनसङ्ख्या व्यवस्थापनका लागि आवास योजनाको अवस्था, साँढे धपाउने आन्दोलन, विश्वविद्यालय स्थापना गर्ने योजना, ख्वप नगरलाई अझ व्यवस्थित बनाउन विद्यार्थीको भूमिका तथा पर्यटन शुल्कबाट विद्यार्थीलाई हुने फाइदालगायत राष्ट्रिय अन्तर्राष्ट्रिय राजनीतिक विषयमा जिज्ञासा राखेका थिए ।
कार्यक्रमको सहजीकरण बासु माविका शिक्षक विष्णुप्रसाद दुमरुले गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *