भर्खरै :

आइतबारको बिदा

आइतबारको बिदा

आइतबारको दिन थियो । सरकारले बिदा घोषणा गरेको दिन थियो । समय बिहानको ११ बजेको थियो । एउटा गाउँका दुइटा विद्यालयका शिक्षकहरू चौतारीमा तास खेल्दै थिए । एक जना शिक्षक किताब पढ्दै थिए । त्यही बेला दुई जना गाउँले अभिभावक आफ्ना छोरीहरूलाई सँगै लिएर वस्तुभाउ चराउँदै त्यही चौतारीमा आइपुगे । ती छोरीहरूले शिक्षकहरूले तास खेल्दै गरेको देखे । तिनीहरूले आफ्ना बुबाहरूसँग सोधे, बुबा ! सरहरूले त्यसरी तास खेल्न मिल्छ ? एक जना सरले भने किताब पढिरहेका थिए ।
ती नानीहरूको जिज्ञासा मेटाउँदै एक बुबाले भने, तास खेल्न नहुने हो । विचरा सरहरू पनि कहाँ जानु, खराब सरकारले आइतबार पनि बिदा दिएपछि । आइतबार बिदा नदिएको भए उनीहरू सबै कक्षामा विद्यार्थीलाई पढाइरहन्थे । तिमीहरू पनि त्यस्तै त हो नि । कोही अहिले दिनभरि मोबाइल खेलेर घरमा दुःख दिइरहेका होलान् । कोही खोलामा पौडी खेल्न, घुम्न गइरहेका होलान्, कहाँ पढ्नु ? तिमीहरूलाई हामीसँगै नल्याएको भए त्यस्तै हुने भयो । यसले त देश अनि विद्यार्थीको भविष्यमाथि न खेलबाड हुने भयो । देश डामाडोल हुने भयो । बहुसङ्ख्यक किसान र मजदुरका छोरा छोरीहरूलाई भँेडा र गधा बनाउने भयो । सन्तान घरमै हुने हुँदा काममा जान नपाउने र हातमुख जोड्न नपाउने भयो । जेलेन्सकीले जस्तै यो सरकारले पनि देशलाई धरापमा पार्ने भयो । यसको विरोधमा त देशभरका अभिभावकहरू उठ्नुपर्ने थियो । कसैले अदालत गुहार्नुपर्ने थियो ।
अर्को अभिभावक बुबाले अलि रिसाएर भने, यी शिक्षकहरूलाई देशको शैक्षिक अवस्था, विद्यार्थीको भविष्य, विद्यार्थीको पढ्ने हक खोसिएको देशघाती काम हो । सरकारलाई देश र समाजप्रति कुनै वास्ता छैन । शिक्षक भनेको देशको सचेत र बौद्धिक वर्ग भनिन्छ । सायद विदेशीले एनजीओ, आइएनजीओको डलर खुवाएर, वर्तमान सरकारले विदेशीसँग खर्बौँ ऋण लिएर तलब बढाएर नुन खुवाएकोले पनि त्यसको सोझो गरेर जे गरे पनि बुँख्याचा भएर बसिरहेका होलान् । यदि देश र शिक्षाप्रति समर्पित, कर्तव्यबोध शिक्षकहरू भएका भए यति बेला देशभरबाट शिक्षक र अभिभावकले आन्दोलन गरिसक्थे । शिक्षक र विद्यार्थीहरू आफ्ना सङ्गठनको कार्यालय हटाइदिँदा र प्रतिबन्ध लगाइदिँदा पनि सहेर बसे । गत वर्ष देशभरबाट काठमाडौँमा आफ्ना माग लिएर धर्ना र आन्दोलन गर्न आउन सक्ने शिक्षक सङ्गठन र शिक्षकहरू यसको विरोधमा आन्दोलनमा किन उत्रन सकेनन् ? के शिक्षक र अभिभावकहरू जिउँदा लासजस्ता नै भए ?
नजिकै तास खेलिरहेका र पुस्तक पढिरहेका शिक्षकहरू खेलिरहेको तास च्याटचुट पारी हामीलाई पनि त्यसरी खेल्न कहाँ मन छ र ! यो आइतबारे बिदाले त हामी शिक्षक र विद्यार्थीलाई नै बिगार्ने भयो । तपाईँहरूले भन्नुभएको कुरा एकदम ठीक छ । आइतबारे बिदा हटाउन या फिर्ता गराउन पढाइमा बाधा नपुग्ने गरी देशभरबाट अभिभावक अनि शिक्षकहरू एक भएर आन्दोलन गर्नुपर्छ । खाजा खान सबै घरतिर गए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *