भर्खरै :

अलिल जिब्रानका दुई साना कथा

अलिल जिब्रानका दुई साना कथा

शरीर र आत्मा

एउटा लोग्नेमान्छे र एउटी स्वास्नीमान्छे बगैँचामा बसेर वसन्तश्रीको आनन्द लिइरहेका थिए । उनीहरू एक–दोस्रासँग बिल्कुलै टाँसिएर बसेका थिए । ती स्वास्नीमान्छेले भनिन्, “म तिमीलाई माया गर्दछु, तिमी राम्रा छौ, धनी छौ र सधैँ राम्रा राम्रा लुगा लाउँछौ ।”
अनि लोग्ने मान्छेले भन्यो, “म तिमीसँग प्रेम गर्दछु । तिमी एक सुन्दर कल्पना हौ, एउटा यस्तो सूक्ष्म वस्तु हौ जसलाई हातले समाउन सकिँदैन, तिमी मेरो सपनामा झङ्कृत हुने एउटा मीठो सङ्गीत हौ ।”
तर, ती स्वास्नीमान्छेले झोक्किएर आफ्नो मुन्टो फर्काइन् र भनिन्, “भैगो महाशय ! म कल्पना होइन तिम्रो सपनामा आउने जाने वस्तु होइन, म स्वास्नीमान्छे हुँ, म चाहन्छु कि तिमी मलाई आफ्नी स्वास्नी र भावी शिशुको आमाको रूपमा ग्रहण गर ।”
पछि उनीहरू छुट्टिए ।
लोग्नेमान्छेले मनमा भन्यो, “फेरि एउटा सपना अँध्यारो भयो ।”
अर्कोतिर स्वास्नीमान्छेले भनिन्, “राम्रै भयो यस्तो मान्छेको के ठेकान जो मलाई अँध्यारो र सपना बनाउन चाहन्छ ।”

बौलाहा
एउटा पागलखानाको बगैँचामा एउटा तन्नेरीसँग मेरो भेट भयो । त्यसको अनुहार पहेलो, राम्रो र विस्मयको भावनाले भरिएको थियो ।
म उसको छेउमा बेञ्चमाथि बस्न पुगेँ र ऊसँग सोधेंँ, “होइन, तिमी यहाँ कसरी आइपुग्यौ ?”
उसले अचम्म मानेर मतिर हेरेर भन्यो, “तपाईँको सोधनी अनौठो छ तापनि म जवाफ दिन्छु । मेरो बुबा र कान्छाबुबा मलाई आफूजस्तै बनाउन चाहन्थे । मेरी आमा मलाई आफ्नै बुबाको प्रतिमूर्ति देख्न चाहन्छिन् । मेरी बहिनी मेरो अघिल्तिर आफ्नो साविक लोग्नेको आदर्श देखाउँछे र मेरो भाइ मलाई आफूजस्तै राम्रा खेलाडी बनाउने कुरा सोच्दछ ।”
“मेरा गुरूहरू अर्थात् दर्शन, सङ्गीत र तर्कशास्त्रका अध्यापकहरू सबै यस कुरामा कटिबद्ध छन् कि उनीहरू ममा ऐनामा जस्तै आफ्नो छाया देखून् । त्यसैले यहाँ आउनुपर्यो । यहाँ मलाई धेरै सञ्चो सुबिस्ता छ । कमसेकम आफ्नो व्यक्तित्व त छ । ”
तब उसले अपर्झट मतिर फर्केर भन्यो, “तर यो त बताउनुहोस्, तपाईं यहाँ कसरी आउनुभयो ? के तपाईंलाई तपाईंको शिक्षा र सद्बुद्धिले यहाँ आउनको निम्ति प्रेरित गर्यो ?”
मैले जवाफ दिएँ, “होइन, म त एउटा दर्शकको रूपमा आएको हुँ ।”
उसले भन्यो, “ए ! बुझेँ, तपाईं यस पर्खाल बाहिरको ठुलो पागलखानाको बासिन्दा हुनुहुन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *