भर्खरै :

अलिल जिब्रानका तीन वटा साना कथा

अलिल जिब्रानका तीन वटा साना कथा

धेरै पुरानो रक्सी
कुनै समयमा एउटा मान्छे थियो । जसलाई आफ्नो रक्सी भण्डार र भण्डारको रक्सीको ठुलो घमण्ड थियो । त्योसँग एउटा धेरै पुरानो रक्सीले भरिएको भाँडो थियो जसलाई कुन्नि कहिलेको निम्ति उसले जोगाएर राखेको थियो ।
एक पटक जब उसकहाँ राज्यको गभर्नर आए तब उसले मनमा विचार गर्यो, “नाथे एउटा गभर्नरको निम्ति मात्र यसलाई किन झिकूँ ।”
यसै गरी उसकहाँ विशप आए, तर उसले मनमा सोच्यो, “होइन म त्यो भाँडो कहिल्यै झिक्दिन । बरा, त्यसले त्यसको मोल के जान्ला र त्यसको नाकले त्यसको वासना के चाल पाउला ।”
फेरि एकपटक त्यसकहाँ त्यस मुलुकको राजा पनि आए । त्यसले उनको साथमा खानेकुरा पनि खाए । तर त्यसले त यही विचार गर्यो, “यो रक्सी त एउटा राजा जस्तो मानिसको तुलनामा धेरै गौरवप्रद छ ।”
यहाँसम्म कि आफ्नो भतिजोको विहेको बेलामा आएका पाहुनाहरूलाई देखेर उसले विचार गर्यो, “होइन, होइन, यो भाँडो यी पाहुनाहरूका निम्ति पनि खोल्न सकिँदैन ।
यसैगरी वर्ष वर्ष बित्दै गयो र त्यसको मृत्यु पनि भयो । त्यस बूढालाई त्यसै प्रकार माटो मुनि गाडियो जसरी एउटा बिउलाई माटोमा रोपिन्छ ।
जुन दिन त्यसलाई माटोमा गाडियो रक्सीका अरू भाँडाहरूका साथ त्यो अति पुरानो रक्सी पनि बाहिर झिकियो र छर छिमेकमा खेतालाहरूले निकै मन फुकाएर खाए । तर त्यसको प्राचीनताको ज्ञान कसैलाई पनि थिएन ।
उनीहरूको निम्ति त त्यो रक्सी बटुकोमा खन्याइने एउटा साधारण रक्सी मात्र थियो ।

दुई काव्य
कैयौँ शताब्दी पहिलेको कुरा हो एथेन्सको राजमार्गमा दुईजना कविहरूको भेट भयो । दुवैजना एकअर्कालाई देखेर औधि नै रमाए ।
उनीहरूमध्ये एउटाले अर्कोसँग सोध्यो, “यता तिमीले कुन चाहिँ कविता लेखेका छौ ? त्यो तिम्रो वीणाको स्वरमा त निकै गम्किँदो होला ।”
अर्को कविले गर्वपूर्वक जवाफ दिए “अँ, मैले भर्खरै एउटा कविता लेखिसकेको छु । त्यो मेरो अरू कविताहरूभन्दा सबभन्दा राम्रो त छँदैछ, त्यसको साथै ग्रीक भाषामा लेखिएको जम्मै काव्यहरूमध्ये श्रेष्ठ छ । यो कविता मेरो कुल देउताका स्तुतिमा लेखिएको छ ।”
त्यहीबेला उनले आफ्नो लुगाभित्रबाट एउटा पाण्डुलिपी झिक्दै भने, ” यता हेर, यो मसँग छ र यसलाई पढेर सुनाउँदा मलाई धेरै खुसी हुनेछ । हिँड त्यो रूखको छायामुनि बसौँ ।”
ती कविले आफ्नो कविता सुनाए जुन निकै लामो थियो ।
अर्को कविले नम्रतापूर्वक भने, “साँच्चिनै यो निकै नै माथिल्लो स्तरको काव्य हो । यो युगयुगसम्म अमर रहने चीज हो र यसैले तिम्रो ख्याति अमर हुनेछ ।”
अनि पहिलो कविले अलिक हियाएर सोधे, “लौ यो त भन हिजोआज तिमी के लेखिरहेका छौ ?”
अर्को कविले जवाफ दिए, “मैले लेखेको त छ तर आठ लाइन मात्र । त्यो पनि खेलबाडमा मग्न भएको एउटा बालकको सम्झनामा ।”
अनि उनले त्यो कविता पढेर सुनाइदिए ।
पहिलो कविले भने, “त्यस्तै धेरै नराम्रो त छैन, त्यति सा¥हो नराम्रो त छैन ।”
त्यसपछि उनीहरू आफ्नो आफ्नो बाटो लागे ।
अहिले दुई हजार वर्ष बितिसकेपछि पनि ती कविको त्यो सानु कविता प्रत्येक भाषामा निकै चाख र प्रेमसहित पढिन्छ ।
अर्को कविता भने साँच्ची नै कैयौँ शताब्दीदेखि पुस्तकालयहरूमा र विद्वानहरूको आलमारीमा जोगाएर अवश्य राखिँदै आएको छ । मानिसहरूको ध्यान त्यसतर्फ जान्छ तैपनि न मानिसहरू त्यसलाई मन पराउँछन् न त पढ्छन् नै ।

श्रीमती रूथ
एकबखत तीनजना मानिसहरूले टाढैबाट के देखे भने हरियो भरियो पहाडमाथि एउटा सेतो घर उभिएको छ । तिनीहरूमध्ये एउटाले भन्यो, “यो उनै श्रीमती रूथको घर हो जो एउटी पुरानो जादुगरनी हुन् ।”
दोस्रोले भन्यो, “तिमीले ठीक भनेनौ । श्रीमती रूथ त एउटी राम्री आइमाई हुन् जो सधैं आफ्नो सपनामा लीन रहन्छिन् ।”
तेस्रो मान्छेले भन्यो, “तिमीहरू दुवै भ्रममा छौ । श्रीमती रूथ त यो फराकिलो जग्गाको मालिक्नी हुन् र आफ्ना खेतालाहरूको रगतसम्मको शोषण गर्दछिन् ।
यस्तै तरहले उनीहरू श्रीमती रूथका सम्बन्धमा कुराकानी गर्दै हिँडिरहेका थिए ।
जब उनीहरू एउटा चौबाटोमा पुगे तब एउटा बूढोसँग उनीहरूको भेट भयो । उनीहरू मध्ये एउटाले सोध्यो, “के तपाईं कृपा गरेर श्रीमती रूथका सम्बन्धमा केही बताउन सक्नुहुन्छ जो पहाडको सेतो घरमा बस्दछिन् ? ”
अनि त्यो बूढोले आफ्नो टाउको उठाउँदै मुसुमुसु हाँसेर भने, “म नब्बे वर्षको छु र जब म सानो बालक थिएँ त्यतिबेलादेखि नै श्रीमती रूथबारे अलिअलि सम्झना छ । तर श्रीमती रूथ मरेको पनि अस्सी वर्ष भैसक्यो । तबदेखि यो घर खाली छ जहाँ कहिलेकाहीँ लाटोकोसेरो कराउँछ र केही मानिसहरूले के लख काटेका छन् भने यहाँ प्रेतहरूको बसोबास छ ।
(खलिल जिब्रानको कथासङ्ग्रह ‘The Wanderer’ बाट
अनुवादक – भवानी घिमिरे

Leave a Reply

Your email address will not be published. Required fields are marked *