भर्खरै :

ख्वप अस्पताललाई अरनिको समाज नेपालद्वारा सीएलआइए मेसिन हस्तान्तरण

ख्वप अस्पताललाई अरनिको समाज नेपालद्वारा सीएलआइए मेसिन हस्तान्तरण

भक्तपुर, २१ साउन । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताललाई अरनिको समाज नेपालले अत्याधुनिक CLIA (Chemiluminescence Immunoassay Analyzer) मेसिन हस्तान्तरण गरेको छ ।
अस्पतालमा प्रयोगशाला सेवाको गुणस्तर तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा उक्त मेसिन ख्वप अस्पताल व्यवस्थापन समिति अध्यक्ष एवम् भक्तपुर नगरपालिकाका नगर प्रमुख सुनिल प्रजापतिलाई हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले CLIA मेसिन सहयोगका लागि अरनिको समाजमार्फत चिनियाँ जनतालाई धन्यवाद व्यक्त गर्दै भक्तपुरले शिक्षा, स्वास्थ्य र संस्कृतिका माध्यमबाट देशको सेवा गर्दै आएको बताउनुभयो ।
सचिव सुवालले चिनियाँ मित्रहरूबाट प्राप्त सहयोगलाई ख्वप अस्पतालले जनताको सेवामा सदुपयोग गर्ने विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख तथा ख्वप अस्पताल व्यवस्थापन समिति अध्यक्ष सुनिल प्रजापतिले ख्वप अस्पतालले हरेक वर्ष आफ्नो सेवा विस्तार गर्दै आएको बताउँदै चीन सरकार तथा चिनियाँ मित्र संस्थाहरू तथा भनपाको भगिनी सम्बन्ध रहेको शाननान नगरपालिकाबाट समय–समयमा प्राप्त सहयोगले अस्पतालको सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउन सहयोग पुगेको बताउनुभयो ।
उहाँले सहयोगका लागि चीन सरकार, अरनिको समाजप्रति भक्तपुर नगरपालिका र ख्वप अस्पतालको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।
ख्वप अस्पतालमा उपचारका लागि आउने करिब ८० प्रतिशत बिरामी स्वास्थ्य बीमामा आबद्ध रहेको जानकारी दिँदै स्वास्थ्य बीमाको रकम समयमै भुक्तानी नहुँदा पनि अस्पतालले बिरामीलाई निरन्तर सेवा प्रदान गर्दै आएको बताउनुभयो ।
अरनिको समाज नेपालका महासचिव मनोजमान श्रेष्ठले ख्वप अस्पताल प्रेरणादायी अस्पतालका रूपमा स्थापित भएको उल्लेख गर्दै स्वास्थ्य सेवा चुनौतीपूर्ण क्षेत्र भए पनि अस्पतालले उत्कृष्ट कार्य गरिरहेको बताउनुभयो ।
उहाँले अस्पतालले अझ प्रभावकारी सेवा प्रदान गर्न सकोस् भन्ने उद्देश्यले CLIA मेसिन सहयोग गरिएको र ख्वप अस्पताल भक्तपुरको शान तथा जनविश्वासको केन्द्र बनेको बताउनुभयो ।
अस्पतालका निमित्त मेडिकल डाइरेक्टर डा. मजेशप्रताप मल्लले बिरामीको चाप निरन्तर बढिरहेको र प्रयोगशाला सेवामा चुनौती थपिँदै गएको अवस्थामा CLIA मेसिनले परीक्षण सेवा छिटो, सहज र गुणस्तरीय बनाउन महत्वपूर्ण सहयोग पुग्ने बताउनुभयो । उहाँले मेसिन सहयोगका लागि अरनिको समाज नेपालप्रति आभार व्यक्त गर्नुभयो ।
अस्पताल व्यवस्थापक विश्वजित प्रजापतिले ख्वप अस्पतालले प्रदान गरिरहेका स्वास्थ्य सेवा तथा सुविधाबारे प्रस्तुतीकरण गर्नुभएको थियो ।
स्वास्थ्य शाखा प्रमुख रत्नसुन्दर लासिवाले ख्वप अस्पतालले आजभन्दा करिब ३० वर्षअघि अरनिको समाजसँग सहकार्य गर्दै विभिन्न स्वास्थ्य गतिविधि सञ्चालन गरेको स्मरण गर्नुभयो । उहाँले वर्तमान सहयोगले दुई संस्थाबिचको सम्बन्धलाई अझ सुदृढ बनाएको बताउनुभयो ।
ऋीक्ष्ब् मेसिनबाट हर्मोन, भिटामिन, ट्युमर मार्कर तथा रोग प्रतिरोधात्मकसम्बन्धी विभिन्न परीक्षणहरू छिटो, भरपर्दो र उच्च शुद्धताका साथ गर्न सकिने भएकोले यसले ख्वप अस्पतालको प्रयोगशाला सेवा थप प्रभावकारी बन्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *