भर्खरै :

बर्ड फ्लु, डेङ्गु र सर्पदंशको समस्या : जनजीवन प्रभावित

बर्ड फ्लु, डेङ्गु र सर्पदंशको समस्या : जनजीवन प्रभावित

काठमाडौँ, २१ साउन । वर्षायामसँगै आउने बाढी पहिरो, हुरी बतास र असिनाले हरेक वर्ष अरबौँ खरबौँ रकम बराबरको क्षति हुन्छ । पहिरोले बस्ती बगाउने, बाढीले डुवानमा पर्ने र हुरी बतासले बालीनाली बिगारेको हुन्छ । यसरी बाढीपहिरोबाट कष्टकर जीवन बिताउन बाध्य भइरहेको यो वर्षायाममा सर्पदंशको घटना पनि बढेको छ । गर्मी सुरु भएसँगै सर्पदंशको सङ्ख्या बढेको कारण सर्पदंशविरुद्धको औषधिको अभाव भएको खबर प्रकाशमा आयो । औषधिको अभावले विषालु सर्पले डसेका सयौँ बिरामीको ज्यान जोखिममा परेको बताइएको छ । गएको वैशाखदेखि साउनको दोस्रो हप्तासम्ममा सर्पदंशकै कारण ५२ जनाको मृत्यु भइसकेको छ भने ७१६ जना बिरामी भएका छन् ।
सरकारले ज्वरो, झाडापखाला, रेबिज या अन्य रोगको औषधि जहिले पनि तयारी अवस्थामा राख्नुपर्छ । कहिले सर्पदंशको औषधि एन्टि भेनम त कहिले बहुला कुकुरले टोक्दा रेबिजको सुइ या औषधि त कहिले झाडापखालाको बेला जीवनजलको अभाव हुन्छ । यस्ता हरेक वर्ष आउने रोगको औषधि उपचार गर्न सरकार जहिले पनि तत्पर हुनुपर्छ† रोगको औषधि समयमै उपलब्ध गराएर रोग निको पार्ने अवसर हरेक नागरिकलाई प्रदान गर्नुपर्छ । औषधिको अभाव र समयमा उपचार गर्न नपाउँदा अनाहकमा सर्वसाधारण जनताको ज्यान जान्छ । सर्प, बहुला कुकुर, बिरालो, मुसा, स्याल, जसले टोके पनि सोको औषधि राज्यले तयारी अवस्थामा राखिराख्नुपर्छ । समयमा उपचार गर्न नपाउनाले पनि बिरामीको मृत्यु हुन्छ ।
अहिले ७२ जिल्लामा डेङ्गु फैलिएर दुई हजारभन्दा बढी सङ्क्रमित भएको समाचार स्रोतले जनाएको छ । डेङ्गुको बढी प्रभाव कोसी र गण्डकी प्रदेशमा देखिएको छ । डेङ्गुले गएको वर्ष नेपाली जनजीवनमा नराम्रोसँग प्रभाव पारेको थियो । कोरोनाझैँ यो डेङ्गु रोगले पनि तीन चार वर्षसम्म सर्वसाधारण जनतालाई सताएको थियो । नेपालमा सन् २०२३ मा डेङ्गुले ५१ हजारभन्दा बढी सङ्क्रमित र २० जनाको मृत्यु भएको थियो । सन् २०२२ मा ५४ हजार ७९७ जना सङ्क्रमित र ८८ जनाको ज्यान गएको थियो । त्यस्तै, सन् २०१९ मा १७ हजार ९ सय ९२ जनालाई डेङ्गु पुष्टि भएको थियो भने ६ जनाको मृत्यु भएको थियो । लामखुट्टेबाट सर्ने यो रोगको नियन्त्रणको लागि लामखुट्टेको बासस्थान पहिचान गरी नष्ट गर्ने अभियान सञ्चालन गर्नुपर्छ ।
यसरी नै केही महिनादेखि यहाँ बर्ड फ्लुको सङ्क्रमण बढेको थियो । यो सङ्क्रमणले हजारौँ हजार कुखुरामा असर परेको थियो । बर्ड फ्लुको कारण सयौँ हजारौँ कुखुरा व्यवसायीहरू मर्कामा परेका छन् । कति कुखुरा व्यवसायीहरू टाट पल्टेका छन् । कुखुरापालन गर्न लिएको ऋण तिर्न नसकेर घर खेत बेच्न बाध्य भएका छन् । बर्ड फ्लुका कारण पीडा या समस्यामा परेका कुखुरापालन व्यवसायीहरूलाई राज्यले पर्याप्त क्षतिपूर्ति दिनुपर्छ । क्षतिपूर्तिको रकम थोरै भएको कुखुरापालन व्यवसायीहरूको गुनासो छ । राज्यले पर्याप्त क्षतिपूर्ति नदिएको कारण कुखुरापालन व्यवसायीहरू पनि सरकारदेखि आक्रोशित छन् ।
हुरीबतासले मकैबाली ढलेर क्षति भएको छ । बाँदर र जङ्गली पशुहरूले मकै खाएर नास गर्छन् । बाढीको कारण डुवानमा परेर धान खेतीमा क्षति भएको छ । किसानहरू कहिले अनावृष्टि भएर समयमा धान रोप्न नपाउने, कहिले अतिवृष्टि भएर डुवानमा पर्ने त कहिले मलको कमी भएर बाली नसप्रिने आदि समस्याबाट आजित छन् । उखु कृषकहरू समयमा उखुको मूल्य पाउँदैनन् । कहिले चिनी कारखानाले उखु नै खरिद गर्दैन । यसरी किसान र साना व्यवसायीहरू मर्कामा परेका छन्† मर्कामा परेर उनीहरूको जीवन कष्टकर बनेको छ । कुनै पेसा या व्यवसायमा लागेका र मर्कामा परेका व्यवसायी र किसानहरूको पीडा सरकारले बुझ्नुपर्छ र पीडा बुझेर निदान गर्नेतर्फ लाग्नुपर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *