भर्खरै :

ख्वप इन्जिनियरिङ कलेजमा समर खेलकुद प्रतियोगिता सुरु

ख्वप इन्जिनियरिङ कलेजमा समर खेलकुद प्रतियोगिता सुरु

भक्तपुर, २२ साउन । विद्यार्थीहरूको शैक्षिक विकासका साथै शारीरिक र मानसिक तन्दुरुस्तीलाई प्रवद्र्धन गर्ने उद्देश्यले ख्वप इन्जिनियरिङ कलेजमा अन्तरकक्षा समर खेलकुद प्रतियोगिता सुरु भएको छ । कलेजको आयोजनामा सञ्चालित उक्त प्रतियोगिता साउन २४ गते आइतबारसम्म सञ्चालन हुनेछ ।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित बेखाल टेबलटेनिस हलमा एक विशेष समारोहका बिच कलेजका उपप्राचार्य डा. सुवेगमान बिजुक्छेँले टेबलटेनिस खेलका निर्णायक इन्द्रभक्त पञ्चलाई खेल सामग्री हस्तान्तरण गर्दै प्रतियोगिताको औपचारिक उद्घाटन गर्नुभयो । प्रतियोगिताको पहिलो दिन शुक्रबार टेबलटेनिसका त्ेन्टहरू निकै उत्साहजनक रूपमा सम्पन्न भएका छन् । कलेजका विभिन्न सङ्काय र ब्याचका विद्यार्थीहरू सम्मिलित यस खेलका छात्र तथा छात्रातर्फका क्वाटरफाइनलसम्मका खेलहरू निकै प्रतिस्पर्धात्मक रूपमा सम्पन्न भएको आयोजक खेलकुद प्रशिक्षकले बताउनुभयो ।
इन्जिनियरिङको पढाइ चुनौतीपूर्ण र व्यस्त हुने हुँदा विद्यार्थीलाई मानसिक तनावबाट मुक्त राख्न र सामूहिक भावना (टीमवर्क) को विकास गर्न यस्ता खेलकुद निकै प्रभावकारी हुने कलेज प्रशासनको बुझाइ छ ।
ख्वप इन्जिनियरिङ कलेज विद्यार्थी परामर्श समितिका संयोजक तथा कलेजका उप–प्राचार्य डा. सुवेगमान बिजुक्छेँका अनुसार विद्यार्थीहरूलाई पढाइको चापका बिच पनि सक्रिय र ऊर्जावान् बनाइराख्न कलेजले हरेक महिना यस्ता विविध खेलकुद प्रतियोगिताहरू आयोजना गर्दै आएको छ । “कलेज प्रशासनले खेलकुदलाई पाठ्यक्रमकै एक अभिन्न हिस्साका रूपमा लिँदै विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा उच्च प्राथमिकता दिएको छ,” उहाँले भन्नुभयो ।
शनिबार टेबलटेनिस खेलका सेमिफाइनल र फाइनल खेलहरू हुनेछन् भने सोही दिन लिबालीस्थित कभर्ड हलमा ब्याडमिन्टन र कलेज परिसरमा चेस खेलहरू सञ्चालन हुने कलेजका खेलकुद प्रशिक्षक श्यामकृष्ण बासुकलाले जानकारी दिनुभयो ।
समर खेलकुद प्रतियोगितामा छात्र–छात्रा टेबलटेनिसमा ७० जना, ब्याडमिन्टनमा ८५ जना र चेसमा ६० जना गरी जम्मा २१५ जना विद्यार्थीको सहभागिता रहेको छ । ब्याडमिन्टन र चेस खेलहरू आइतबारसम्म सञ्चालन हुनेछन् र सोही दिन फाइनल खेलहरू हुने र विजेताहरूलाई पुरस्कार वितरण गरी प्रतियोगिता सम्पन्न हुने आयोजकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *