भर्खरै :

देश र जनताविरुद्ध अपराध गर्ने जोसुकै भए पनि दण्डको घेरामा ल्याउनु जरुरी

देश र जनताविरुद्ध अपराध गर्ने जोसुकै भए पनि दण्डको घेरामा ल्याउनु जरुरी

भक्तपुर, २४ साउन । नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका पूर्वअध्यक्ष जयराम बासुकलाको २२ औँ स्मृतिसभा आइतबार सम्पन्न भयो ।
सभामा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले नेमकिपाको सिद्धान्तअनुसार देश र जनताको निःस्वार्थ सेवामा लाग्नुभएका जयराम बासुकला पार्टीका एक योद्धा हुनुहुन्थ्यो भन्नुभयो ।
देश र जनताको निःस्वार्थ सेवा गरेका योद्धाहरूलाई जनताले सदा सम्झनामा राख्ने भएकाले जयरामजीलाई पनि जनताले सम्झिरहने उहाँले बताउनुभयो ।
सचिव सुवालले भन्नुभयो, “नेताहरू पालैपालो प्रधानमन्त्री र मन्त्री भए तर, तिनीहरू देश जनताको निःस्वार्थ सेवामा लागेनन् । यसकारण पनि भदौ २३ गते निहत्था जनताको हत्या र भदौ २४ गते देशभरि आगजनीको उपद्रव गर्ने र गराउनेहरूलाई मौका मिलेको हो । भदौ २३ र २४ गतेको उपद्रवबारे गठित छानबिन आयोगमा सरोकारवालाहरूले सुरक्षा संयन्त्रलाई ‘माथिको आदेश’ भनी काममा रोक लगाइएको हुँदा थप क्षति भएको बताए । देश र जनताविरुद्ध अपराध गर्ने जोसुकै भए पनि दण्डको घेरामा ल्याउनु जरुरी छ ।”
नेमकिपा भजिसका सचिव पाण्डव सुवालले राजनीतिमा भ्रष्टाचार मौलाएको हुँदा देश दुर्गतिमा पुगेको चर्चा गर्दै निःस्वार्थरूपमा देश र जनताको सेवा गर्ने नेमकिपाको विचार र सिद्धान्तमा लाग्नु आवश्यक छ भन्नुभयो ।
जयराम स्मृति अक्षय कोष समितिका अध्यक्ष राजाराम छुकांको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेमकिपा चाँगुनारायण नगर समितिका उपाध्यक्ष केशवप्रसाद तिमिल्सिना, वडा नं. ९ का वडाध्यक्ष गणेश त्यात, अक्षय कोष समितिका सदस्य चन्द्रबहादुर थुयाजु, एकबहादुर खत्री, घनश्याम खड्का, केशरबहादुर खड्काले जयराम बासुकलाको योगदानबारे चर्चा गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *