“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
भक्तपुर, ३१ जेठ । ६८ वर्षअघि स्थापना भएको जनज्योति पुस्तकालयको काँचुली फेरिएको छ । भक्तपुर नगरपालिकाअन्तर्गत सञ्चालनमा रहेको पुस्तकालय वडा नं २ स्थित नःपुखुमा रहेको नगरपालिकाको भवनमा स्थानान्तरण गरे पछि अझ व्यवस्थित सञ्चालनमा आएको हो । विगतमा भक्तपुर दरबार क्षेत्रस्थित नगरपालिकाको सानो भवनका साँघुरा दुई कोठामा सञ्चालनमा रहेको पुस्तकालय हाल नःपुखुको उत्तरमा रहेको भवनको फराकिला कोठामा स्थानान्तर गरिएको हो । भक्तपुर नगरपालिकामा हालका जनप्रतिनिधिहरुले काम थालेको एक वर्षको अवसरमा जेठ ७ गते आयोजित कार्यक्रमबीच नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले नःपुखुस्थित पुस्तकालयको नयाँ कोठाको उद्घाटन गर्नुभएको थियो ।
२००७ सालमा तात्कालीन राजा त्रिभुवनबाट जनज्योति पुस्तकालयको उद्घाटन भएको थियो । उत्तिबेला घट्खा टोलमा रहेको सो पुस्तकालय पछि मात्र भक्तपुर नगरपालिकाअन्तर्गत सञ्चालनमा आएको हो ।
नःपुखुको मनोरम दृश्यसँगै फराकिलो, शान्त र उज्यालो कोठामा पुस्तक र पत्रपत्रिका पढ्न पुस्तकालय धाउने पाठक–अध्येतालाई सजिलो भएको छ । नयाँ ठाउँमा सरेकाले पुस्तकालयमा आउने पाठकको सङ्ख्या धेरै नभए पनि बढ्ने क्रम जारी रहेको पुस्तकालयका प्रमुख भुपाल मुलले भने । पुस्तकालयमा पुराना पुस्तकबाहेक हालै पाँच लाख रुपैंया बराबरको नयाँ पुस्तकहरु थपिएका छन् । साहित्य, राजनीति, दर्शनलगायत थुप्रै विषयका नयाँ पुस्तकहरुले पुस्तकालयको रुपलाई नयाँ बनाएको छ । साथै पुस्तकालयका भित्तामा झुण्ड्याइएका लेखक–साहित्यकारहरुका तस्बीरहरुले पुस्तकालयमा पठनीय वातावरण बनेको छ ।
पुस्तकालयमा नयाँ र पुराना गरी हाल १२१० सदस्य छन् । तर नःपुखुमा सरेयता भने झण्डै एक महिनाको अन्तरालमा सदस्य सङ्ख्या ८ जना मात्र बढेको छ ।
‘नयाँ ठाउँ भएर धेरैले थाहा पाएका छैनन् । सदस्य सङ्ख्या क्रमशः बढ्ने आशा गरेका छौं ।’, मुलले भने ।
पुस्तकालयको नयाँ भवनमा दैनिक ३५–४० जना पाठकहरु आउने गरेको २०३६ सालदेखि जनज्योति पुस्तकालयमा कार्यरत शकुन्तला भद्राले भनिन् ।
पुस्तकालय व्यवस्थित रुपमा सञ्चालन गर्ने क्रममा हाल पुस्तकालयभित्र सीसी क्यामरा जडान गरिएको छ । पुस्तकालयमा रहेका १२ हजार पुस्तकको विद्युत्तीय दर्ता गर्ने तयारी भइरहेको पनि प्रमुख मुलले भने ।
जनज्योतिमा हाल १९ वटा दैनिक, १५ वटा साप्ताहिक र १८ वटा पाक्षिक र मासिक पत्रिका आइरहेका छन् । नेपाली, अंग्रेजी, नेपालभाषा र हिन्दी भाषाका पत्रपत्रिका र पुस्तकहरु पुस्तकालयमा राखिएका छन् ।
पुस्तकालयले गोरखापत्र दैनिकका २०५६ सालयता सबै अङ्कको व्यवस्थित अभिलेख राखेको छ भने अन्य पत्रपत्रिकाको दुई दुई वर्षका अभिलेख राख्ने बन्दोबस्त मिलाइएको छ ।
भक्तपुर नपाका चार जना कर्मचारीहरुको जिम्मेवारीमा चलिरहेको यो पुस्तकालयमा मूलतः जनशक्तिको अभाव रहेको प्रमुख मुलले भने । ‘प्राविधिक क्षमता भएका जनशक्ति भए अझै पुस्तकालय व्यवस्थित सञ्चालनमा ल्याउन सकिनेछ ।’
नःपुखुमा पुस्तकालय सञ्चालन शुरु गरे पनि पहिले पुस्तकालय सञ्चालनमा रहेको भवनमा पनि पत्रपत्रिका पढ्ने बन्दोबस्त गर्ने तयारी भइरहेको उनले जानकारी दिए ।
पुस्तकालयको सदस्य बनेका केही सदस्यहरुले पुस्तक नफर्काउँदा नयाँ अध्येताहरु ती पुस्तक पढ्ने अवसरबाट बञ्चित बनेको पनि उनको भनाई थियो ।
‘ती सदस्यहरुले नःपुखुको नयाँ भवनमा आएर पुस्तक बुझाइदिनुभए आभारी हुनेथियौं ।’, मूलले अनुरोध गरे ।
Leave a Reply