भर्खरै :

मेरो आँखामा ‘मजदुर’ दैनिक

मेरो आँखामा ‘मजदुर’ दैनिक

केही मानिसहरू ‘मजदुर’ दैनिकलाई भक्तपुरभित्रै सीमित रहोस्, भक्तपुरका साना–साना कोठे बैठकहरूको मात्रै समाचार छाप्ने तल्लो स्तरको दैनिक पत्रिका होस् भन्ने चाहन्छन् । कति मानिसहरू त्यसलाई पुँजीवादी पत्रिकाहरूकै समाचारहरू मात्रै छापोस् भन्ने चाहन्छन् । तर, अन्य व्यापक दृष्टिकोण राख्ने, प्रगतिशील आँखाले हेर्ने मजस्ता पाठकहरू ‘मजदुर’ लाई साम्राज्यवाद र विस्तारवादविरोधी तेस्रो विश्वका दलित र पीडित जनताको हितबारे बारम्बार लेखिएका लेख, समाचारका अंशहरू प्रकाशित भएको हेर्न चाहन्छन् । अरुको श्रम र सम्पत्ति आफ्नो थैलीमा पुगोस् भन्ने नक्कली कम्युनिस्ट र झूटा समाजवादीहरूको मुखपत्र नहोस् ‘मजदुर’ दैनिक । म ‘मजदुर’ दैनिकलाई कमाऊ खाऊ भन्ने भावनाबाट प्रेरित भएको हेर्न चाहन्न† कामदार र सचेत नेपाली जनतालाई विश्वका क्रान्तिकारी पक्षका पनि एक हिस्सा बनोस् भन्ने चाहन्छु ।
कहिलेकाहीँ ‘मजदुर’ दैनिकमा जसोतसो पृष्ठ भरियोस् भन्ने खालका लेख, रचना र उत्साहहीन, चाहिने–नचाहिने गन्थनमात्र भएको लेखनी हेर्नुपर्दा झस्कन्छु – के ‘मजदुर’ दैनिक थाकेकै हो ? वा केही व्यक्तिमात्रै थाकेका हुन् अथवा बाटो बिराएका हुन् ?
केही भन्छन्, २–४ जना जहाँ पनि हिजो राम्रा मानिसहरू थाकेर आफ्नो घर खेतलाई प्राथमिकता दिन पुग्छन्, केही मानिस आफ्नो आम्दानीको स्रोत बलियो भएपछि दुई तोलाको ‘कलम’ लाई बोझ सम्झन पुग्छन् । त्यस्ता व्यक्तिहरू ‘मजदुर’ दैनिक छोडेर गई ‘कमाउ’ धन्दामा लागेका छन् र कामदारविरोधी लाममा पुगेका छन् । तर, आँधी आउँदा सुकेका पातहरू झर्छन् । पुनः झरेका पातहरूको ठाउँमा वसन्तमा नयाँ पालुवाहरूले ठाउँ लिन्छन् र हेर्दाहेर्दै वातावरण नै हरियो र आनन्द लाग्दो स्थितिमा गाउँ र सहरहरू पुग्छन् ।
तर, आफ्नै घरमा चोरी हुँदा केही नभएको जस्तो बस्ने परिवारका सदस्यहरू जस्तै प्रेसमाथि हमला हुँदा वा प्रेसमा चोरी हुँदा पहिले आफ्नो खल्ती छामेर मेरो पैसा त हराएको छैन भन्ने परिवारका सदस्यहरू पनि यदाकदा सुन्नमा आउँछ ।
तर, जनताको आँखा दूरवीनसरह हुन्छ भनेजस्तै को कता गयो, को विदेश पलायन भयो भनी जनताले हिसाबकिताब गरेकै हुन्छ भन्ने मानिसहरूको पनि कमी छैन । कसैले अनुमान लगाउँछन्, ‘काँक्रोबारीको बारले नै काँक्रो चोरेपछि’, ‘आफ्नै घरको सुगाले सुनको हार चोरे पछि’ कसको के लाग्छ ?
जनता सधैँ मौन बस्दैनन् । यसकारण, सबैले आ–आफ्नो धर्म र सिद्धान्तलाई चालू राख्नु उपयुक्त हुन्छ । स्वार्थी भावना त्यागौँ र ‘मजदुर’ दैनिक पहिलेभन्दा अझ राम्रो भन्ने भावना सबै ग्राहकहरूमा पुगोस् भन्ने कामना गर्न चाहन्छु ।
– एक नियमित पाठक

Leave a Reply

Your email address will not be published. Required fields are marked *