भर्खरै :

“आत्मनिर्भर बन्न औद्योगिकीकरणमा जोड दिनुपर्छ”

“आत्मनिर्भर बन्न औद्योगिकीकरणमा जोड दिनुपर्छ”

भक्तपुर, २९ साउन । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाललाई आत्मनिर्भर बनाउन औद्योगिकीकरणमा जोड दिनुपर्ने बताउनुभएको छ ।
भक्तपुर रेडिमेड व्यापार सङ्घको १० औँ वार्षिक साधारणसभा तथा पाँचौँँ अधिवेशनमा उहाँले रेडिमेड व्यवसायलगायत धेरै क्षेत्र विदेशमा निर्भर रहेको बताउनुभयो ।
नेपालमा हरेक वर्ष अर्बौँ रूपैयाँ बराबरका सामान विदेशबाट आयात हुने गरेको उल्लेख गर्दै उहाँले देशको आर्थिक अवस्था चुनौतीपूर्ण रहेको बताउनुभयो ।
घरेलु उद्योगका लागि आवश्यक कच्चा पदार्थसमेत विदेशबाट उच्च कर तिरेर आयात गर्नुपर्ने अवस्था रहेको भन्दै नगर प्रमुख प्रजापतिले देशको ठुलो रकम बिदेसिरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “पैसा विदेश नजाने अवस्था सिर्जना गर्नु र आफ्नै उत्पादन बढाउनु नै आत्मनिर्भर बन्नु हो ।”
देश विकासका लागि चुनौती बढ्दै गएको उल्लेख गर्दै उहाँले सरकारले औद्योगिकीकरणलाई प्राथमिकता दिनुपर्ने बताउनुभयो ।
उद्योग स्थापना तथा विस्तारबाट रोजगारी सिर्जना हुनुका साथै ठुलो आम्दानी हुने उहाँको भनाइ थियो ।
युवा, विद्यार्थी तथा दक्ष जनशक्ति विदेश पलायन भइरहेकाले देशको अवस्था थप चुनौतीपूर्ण बन्दै गएको बताउँदै नगर प्रमुख प्रजापतिले योग्य तथा दक्ष जनशक्तिलाई नेपालमै टिकाउने वातावरण सरकारले बनाउनुपर्नेमा जोड दिनुभयो ।
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका अध्यक्ष मनोजबाबु श्रेष्ठले उद्योग तथा व्यवसाय सञ्चालनलाई सहज बनाउन सरकारले व्यवसायीलाई थप सहयोग गर्नुपर्ने बताउनुभयो ।
उहाँले सरकारले उद्योग तथा व्यवसायीलाई सहयोग गर्ने नीति लिनुपर्ने र मूल्य अभिवृद्धि करको दर घटाउनुपर्ने माग व्यवसायीहरूको रहेको बताउनुभयो ।
नेपाल राष्ट्रिय व्यवसायी महासङ्घका संस्थापक अध्यक्ष नरेश कटुवालले व्यवसायीबिच एकताको अभावका कारण उद्योग व्यवसाय क्षेत्रमा अपेक्षित सुधार हुन नसकेको बताउनुभयो ।
उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भक्तपुरका अध्यक्ष रामप्रसाद कुस्माले कार्यालयको कार्यक्षेत्रबारे स्पष्ट पार्दै व्यवसायमा चुनौती र अवसर दुवै हुने बताउनुभयो ।
नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य नयनबहादुर पण्डित क्षेत्रीले व्यवसायीका समस्या समाधानका लागि सम्बन्धित निकायले व्यवसायीसँग प्रत्यक्ष छलफल गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष कृष्णमुरारी न्यौपानेले व्यवसायीहरूको एकता नै व्यवसाय क्षेत्रको शक्ति भएको बताउनुभयो । उहाँले रेडिमेड व्यापारले रोजगारी सिर्जना, व्यवसाय विस्तार तथा स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो । पछिल्लो समय आर्थिक गतिविधि बढ्दै गएको भए पनि अनियन्त्रित आयात, बढ्दो प्रतिस्पर्धा, उपभोक्ताको बदलिँदो रुचि, कर तथा डिजिटल बजार व्यवसाय क्षेत्रका प्रमुख चुनौती रहेको उहाँको भनाइ थियो । यस्ता चुनौतीलाई अवसरका रूपमा लिएर व्यवसाय विस्तार गर्नुपर्ने तथा भक्तपुरको मौलिकता झल्किने व्यवसायलाई प्रवद्र्धन गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
भक्तपुर इँटा उद्योग व्यवसायी सङ्घका अध्यक्ष नातिभाइ ह्योम्बाले व्यापार व्यवसाय सञ्चालनका लागि सबै व्यवसायी एकजुट हुनुपर्ने बताउनुभयो । व्यवसायीलाई राज्य तथा स्थानीय सरकारको साथ र सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो । राज्यले इँटा उद्योग बन्द गर्ने विषय उठाइरहँदा धेरै श्रमिक रोजगारीबाट वञ्चित हुने उल्लेख गर्दै उहाँले निश्चित मापदण्ड तयार गरी इँटा उद्योग सञ्चालन गर्न दिनुपर्ने माग गर्नुभयो ।
नेपाल पत्रकार महासङ्घ भक्तपुरका अध्यक्ष सुन्दर शिल्पकारले अधिवेशनको सफलताको शुभकामना दिँदै उपभोक्तालाई गुणस्तरीय सामान सरल रूपमा उपलब्ध गराउने तथा मूल्यमा एकरूपता कायम गर्ने प्रयास सकारात्मक रहेको बताउनुभयो ।
भक्तपुर घरेलु तथा साना उद्योग सङ्घका अध्यक्ष श्यामसुन्दर श्रेष्ठले बजारमा विभिन्न आयातीत सामानसँगै स्थानीय उत्पादनलाई पनि व्यवसायिक स्थलमा राख्ने व्यवस्था गर्नुपर्ने बताउनुभयो । स्थानीय उत्पादनको प्रवद्र्धनले स्वदेशी व्यवसाय तथा अर्थतन्त्रलाई थप बलियो बनाउने उहाँको भनाइ थियो ।
ललितपुर तयारी पोशाक व्यापार सङ्घका अध्यक्ष शेरबहादुर महर्जनले अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा भक्तपुर रेडिमेड व्यापार सङ्घका अध्यक्ष राजेन्द्रकुमार प्रजापतिले सङ्घले व्यवसाय प्रवद्र्धन तथा व्यवसायीहरूको हकहितका लागि विभिन्न गतिविधि गर्दै आएको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर रेडिमेड व्यापार सङ्घका पूर्वअध्यक्ष राजु त्वानाबासुले धन्यवादज्ञापन गर्नुभएको थियो भने भक्तपुर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष विश्वराम दुवालले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *