गजल
- श्रावण २९, २०८३
नाट्यकर्मी समाज नेपालले साउन ९–१९ गतेसम्म, १० दिन प्रसिद्ध हास्यव्यङ्ग्य कलाकार एवं साहित्यकार रामशेखर नकर्मीको ख्याल आस्था सांस्कृतिक केन्द्रको हलमा मञ्चन ग¥यो । ‘खेल खत्तम’ भक्तपुर साकोस, ‘छेरावती द्यः’ ख्वप कलेज, ‘१२ बजे’ स्टार वाचनालय, ‘खुँयाता ज्वँ ज्वँ’ बहुरङ्गी रङ्गकर्मी समूह, ‘तन्त्र ट्याबलेट’ (नेपाली भाषामा) बाल विकास ई. स्कूल, ‘खुँ’ प्रभात मा.वि., ‘तन्त्र ट्याबलेट’ श्रमिक साकोस, टुरिस्ट गाइड नेक्राविसङ्घ भनपा – १ ‘अस्पतालया जा’ सहिद निर्मल पुष्प स्मृति वाचनालय र ‘रानी पुखु’ जेँला सांस्कृतिक समाजले नाटक मञ्चन गरेका थिए । सबै ख्याल राम्रा छन् भन्ने कुरा दर्शकहरूको प्रतिक्रिया र सहभागिताले पनि प्रस्ट पारेको छ । जनताको अनुरोध र भक्तपुर नगरपालिका वडा नं. ९ को पहलमा ‘छेरावती द्यः’ ख्याल साउन २३ गते शनिबार पुनः मञ्चन भयो । मैले पनि त्यो ख्याल हेर्ने अवसर पाएँ । दिउँसो ३ बजेको ख्याल हेर्न गएँ । दर्शक भरिभराउ भएर हेर्न पाइनँ । ५ बजेको मञ्चनमा जसरी पनि हेर्नुपर्छ भनेर ४ बजे नै गएर बसिराखेँ । यो मञ्चनमा पनि दर्शकहरू भरिभराउ थिए ।
कलाकारहरू सबै एकसेएक छन् भन्दा फरक नपर्ला । नाटकले नगरवासीको सरसफाइ, रोग र नागरिक भावना, चेतनाको कमी र नगरपालिकाको बेलैमा कर्तव्य पालन गर्न नसकिएको अवस्था तथा सरकार, नेता, दललाई पनि व्यङ्ग्य गरेको पाइन्छ । जनअदालतको दृश्य छ । सारसज्जा राम्रो छ । नाटकका मुख्य पात्रहरूमा छेरावती द्यः को रूपमा राज प्रजापति, न्यायाधीश सनम फैजु, सृष्टि बाग, दीना जाकिबञ्जार, बसिल त्वायना, सतिस मुस्याख्व देखिन्छ भने अरु सहायक पात्रहरूका रूपमा रहेका छन् ।
‘छेरावती’ द्यः ख्यालमा जन अदालतका न्यायाधीश जज साहेब नाच्दै मञ्च प्रवेशबाट सुरु हुन्छ । एकछिनपछि द्वारपालको प्रवेश हुन्छ । जज साहेबले द्वारपाललाई छेरावती द्यः नयवासीलाई कठघरामा उभ्याउन बोलाउँछ । द्वारपालले नयवासीलाई रातो कपडाले बेरेको स्वस्थानीको पुस्तकमाथि हात राख्न लगाएर ‘म सबै कुरा साँचो बोल्छु, झूट कुरा आधी अक्षर पनि बोल्दिनँ, यदि असत्य कुरा बोल्यो भने यही कठघरामा भस्म होस् भनी’ कबुल गर्छ । तिमी कसरी छेरावती द्यः अर्थात् ल्हुछी चाको घर अगाडि गएर किन दिसा बसेको ? भनी जज साहेबले सोध्छ । उनले आफ्नो कथा व्यथा यसरी अभिनय कला देखाएर दर्शकलाई हसाउँदै कठघराबाट निस्केर सविस्तार बताउँछन् । जज साहेब, मैले जानी जानी त्यसरी ल्हुछीचाको घरअगाडि दिसा बसेको धरोधर्म होइन । म काम विशेषले जाँदै थिएँ । जाँदाजाँदै बिच बाटोमा पेट दुख्न थाल्यो र दिसा बस्न हतार भयो ।
दिसाले च्यापिएर मिनिबस पार्कको शौचालय गएँ । त्यहाँ मान्छेको नागरिक भावना, सांस्कृतिक स्तर नभएर पनि होला, निकास बन्द छ । शौचालय नै फोहर घीनलाग्दो, असाध्यै दुर्गन्धित छ । त्यो देखेपछि त्यही पछाडिबाट होइन माथि मुखबाटै बान्ता होला जस्तो भयो । जबरजस्ती सहेँ, बचेर फर्केँ । व्यथाले च्याप्दै लग्यो । जबरजस्ती रोकेर एउटा घरभित्र ट्वाइलेटमा दिसा बस्न पसेँ । तुरुन्तै घरको मालिकले चाल पाएर यो तेरो बौको शौचालय हो ? कि तेरो पैसा खर्च गरेर बनाएको यो शौचालय हो भनेर कठालो समातेर मलाई हुत्याइदिए । त्यसपछि लास्टै गा¥हो भयो । अझै पनि रोकेर खुट्टा खोच्याङ खोच्याङ, स्यूँ स्यूँ गर्दै शौचालय खोज्दै हिँडेँ । हिँड्दा हिँड्दै अलिकति पाइन्टमा लागिहाल्यो । अति भएर सहन नसकेपछि मलाई त्यो घर ल्हुछीचाको हो भनेर के थाहा त्यसको घर अगाडि लुगाले टाउको मुख छोपेर दिसा बसेँ । जज साहेब !”
पुनः जज साहेबले सोधिन्, “अनि ल्हुछीचाको घरअगाडि दिसा बस्न केले बाध्य पा¥यो ? कारक के हो ?”
छेरावती द्यः नयवासीले जवाफ दिन्छन्, “जज साहेब, कामदार हुँ घर बस्न पाइँदैन । काम गरेर हातमुख जोड्नुपर्छ, परिवार पाल्नुपर्छ† त्यसको लागि बल चाहिन्छ । शरीर बलियो बनाउनुपर्छ । त्यसैले, त्यहाँ बजारमा मासु बेच्ने पानवती मैयाँसँग मासु लगेर खाने गर्छु । सायद त्यही मासु बासी प¥यो होला । यसको कारण म छेरावती द्यः भएको हुँ जज साहेब ।”
ल्हुछीचाको श्रीमान् पनि त्यस्तै पुरानो वासी मासु झिँगा बसेको खाना खाँदा छेरावती द्यः भएर स्वर्गवास भएको थियो । त्यसैले, उनी विधुवा भइन् । ल्हुछीचाले पनि भनिन्, “त्यो त्यहीँ छेरावती द्यः नयवासीले मेरो घरअगाडि दिसा बसेकै कारण त्यसमा बसेको झिँगा आफ्नो श्रीमान्ले खाँदै गरेको थालमा बसेकोले मेरो श्रीमान् बित्यो जज साहेब । त्यसैले, उसलाई कारबाही गरी पाऊँ । यस्तो जवानीमा म एक्लै कहाँ बस्न सक्छु र ! मलाई उहाँजस्तै अर्काे श्रीमान् क्षतिपूर्ति स्वरूप पाउनुपर्छ ।”
मेयर साहेब, छेरावती द्यः नयवासीले आफूहरू ल्हुछीचाको मागबमोजिम क्षतिपूर्तिस्वरूप उसको लोग्ने हुन जानुप¥यो भने त घरकी गृहमन्त्रीले बाँकी राख्दैन । त्यस्तै, मासु बेच्ने पानवती मैयाँले पनि उनलाई आफ्नो लोग्ने क्षतिपूर्ति दिनुप¥यो भने म यस्ती जवानी तरुनी एक्लै कसरी बस्न सक्छु र भनेर बेचैन हुन्छिन् । उनीहरूको अभिनय देखेर दर्शकहरू पेट मिचीमिची हाँस्छन् ।
छेरावती द्यः नयवासीको आफू छेरावती द्यः भएको कारण बासी मासु बेच्ने साहुनी पानवती मैयाँलाई आरोप लागेपछि द्वारपालले उनलाई कठघरामा उभ्याउँछ । उनलाई द्वारपालले स्वस्थानीको पुस्तक छुवाएर वाचा गर्न लगाउँछ । पानवती मैयाँले म ठिमीकी छोरी हुँ । अब कर्मले यहाँ भक्तपुरको त्यस्तै परिवारसँग विवाह भयो भन्दै करिब ठ्याक्कै मासु बेच्ने साहुनीकै बोली भाषामा “म सबै साँचो मात्र बोल्छु, झूट आधी अक्षर पनि बोल्दिनँ” भनेर वाचा गर्छिन् । उनी मासु बेच्ने साहुनीको जस्तै भाषा बोलेर अभिनय गर्न सक्नु राम्रो र सफल कलाकारको परिचय हो । छेरावती द्यः नयवासीले पानवती मैयाँको जवानी रूपसँग मोहित भएर हिरोइनको बासी मासु खाँदा आफू छेरावती द्यः भएको स्वीकार्छन् । यहाँ हिरोइनको अर्थ भैँसी हो भने हिरोको अर्थ राँगो बुझिन्छ । यो उनीहरूको व्यापारी भाषा हो । उनले पानवती मैयाँसँग सधैँजसो मोहित मुख हुँदै हिरोनीको बासी मासु लगेर खाने गर्थे । शौचालयको निकास बन्द हुनु, फोहोर हुनु, दुर्गन्ध फैलिनु र झिँगा फैलिनुमा सफाइ गर्ने जिम्मा पाएको नगरपालिका पनि दोषी हो भन्ने आरोप लागेपछि जज साहेबले मेयरलाई पनि कठघरामा उभ्याउँछ ।
मेयर साहेबलाई पनि कठघरामा उभ्याएर स्वस्थानी छुवाएर वाचा गराएपछि तपाईँमाथि लागेको आरोपमा के भन्नुहुन्छ भनी जज साहेबले अनुरोध गछिन् । मेयर साहेबले आफ्नो भनाइ अगाडि राख्छन्, जज साहेब ¤ निश्चय पनि नगरको सार्वजनिक शौचालयको निकास खोल्नु, सफा गर्नु नगरपालिकाको कर्तव्य हो । जनता सचेत र शिक्षित नभएसम्म नपा एक्लैले सम्भव हुँदैन । नगरवासीले पनि सार्वजनिक सम्पत्तिको माया गरे, उचित प्रयोग र सरसफाइ गरेको खण्डमा नगर फोहर हुने थिएन । यो नगरवासीको सांस्कृतिक स्तर नउठ्दा, उठाउन नसक्दा यस्तो समस्या भएको हो । जहाँसम्म उहाँहरूको फोहर भएपछि, रोग लागेपछि मात्र आँखा देख्नु, माइकिङ, बैठक, भेला, सभालगायतका प्रचार र सचेतना कार्यक्रम ग¥यो भन्ने आरोप छ अबदेखि त्यसो हुन नदिन सचेत पार्नेछु र नगरवासीको सांस्कृतिक स्तर, निःस्वार्थी सेवा भावना उठाउने प्रयास गर्नेछु । यति गर्दा पनि अत्तेर गर्नेलाई नियमानुसार कारबाही गर्नेछु । यसमा सबै नगरवासीको साथ र सहयोग पाउने आशा गर्दछु ।”
अन्तमा, छेरावती द्यःले श्रीमान् बितेको ल्हुछीचा “हे मेरो प्राण.., मेरो हिरोजस्तो श्रीमान् कहाँ गएर पाउँ” भन्दै रुँदै खोजीमा निस्किन्छिन् र ख्याल पनि अन्त्य हुन्छ ।
ख्यालमा शासक दल, सरकार, नेताहरूलाई पनि व्यङ्ख्य गरी ख्यालको शोभा बढाउने काम गरिएको छ । कलाकारहरूको अभिनयमा नयवासी राज प्रजापतिको मेहनतलाई मान्नैपर्छ । अरु कलाकारहरू पानवती मैयाँ, दीना जाकिबञ्जार, ल्हुछीचा सृष्टि बाग, जज साहेब सनम फैजु, मेयर बसिल त्वायना, द्वारपाल सतिस मुस्याख्व सबैको अभिनय प्रशंसनीय छ । दर्शकको मन जित्न सफल यो ख्यालका निर्देशक राजेन्द्र श्रेष्ठलगायत सबैको मेहनत सराहनीय छ । यो ख्यालको प्रस्तुतकर्ता ख्वप कलेज र प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोगी टोली धन्यवादका पात्र हुन् भने नाट्यकर्मी समाज नेपालले ख्याल मञ्चन र आस्था सांस्कृतिक समाजले हल उपलब्ध गराएर सबैलाई हेर्ने, सचेत बनाउने र रमाइलो गर्ने अवसर दिएकोमा साधुवाद !
Leave a Reply