भर्खरै :

मोबाइल मालिक !

मोबाइल मालिक !

नवजात शिशुले जन्मने बित्तिकै
रुन नपाइने रे !
मुसुक्क हाँसेको सेल्फी
मालिकलाई चढाउनुपर्ने
मृत्युको मुखमा पुगेको बिरामीले
भेट्न आएका जमातको मोबाइलमा
सकी नसकी हाजिरी जनाइदिनुपर्ने ।

उता खोलाले मान्छे बगाइसक्यो
आगोले खरानी बनाइसक्यो
केको उद्धार गर्नु,
मोबाइल मालिकलाई खुसी पार्न
भिडियो खिचिदिनुपर्ने ।

यो कलियुग हो मित्र
यहाँ मन्दिरभित्र पसेर
शिर निहुराएर भगवान भेटिँदैन
बाहिर ढोकामा बसेको सेल्फी अपलोड गरेर
सिधै स्वर्गलोक पठाइदिनुपर्ने ।

अचेल त
परिवारसँग बसेर खाने हैन
मालिकको अघि बसेर संसारभरिकालाई
खाएँ है, यो खाएँ, त्यो खाएँ,
यति र त्यति खाएँ भन्दै
खाको प्रमाण पेस गर्नुपर्ने ।

केटाकेटीले आफ्नो भविष्यको चिन्ता गर्न पाउनुछैन
खान पाउनु छैन, खाको फाल्न भ्याउनु छैन
नुहाउन त कता हो कता
मुखै धुन पाको छैन
आँखा झिम्क्याउने बित्तिकै गेमओभर
दत्तचित्त भएर मालिककै भक्ति गर्नुपर्ने ।

पिर नगर केटी हो !
अहिले त घर गरी खान सजिलो छ
सासुलाई आफ्नोजस्तै
भाइरल लुगा लाउन दिएर
मालिकको अघि नाचौँ भन्नू
सासूबजै मक्ख !
घर–व्यवहार भात–भान्सा
अग्रजको सेवा हैन
असल बुहारी बन्न पनि मालिककै अघि
सासू बुहारी मिलेर नाचिदिनुपर्ने ।

न समयमा सुत्न दिन्छ न त समयमा उठ्न
सासू–बुहारी, नाति–हजुरबा, नेता–जनता
सबैलाई दिनरात घोप्टो पारेर
हात गोडा नचल्ने बनाइसक्यो
मस्तिष्क त झनै सडाएर छोडिसक्यो ।

यो मालिकले त गर्नुसम्म ग¥यो
बालकको बालापन लुट्यो
आमाको ममता पनि
किशोरको क्षमता लुट्यो
युवाको पौरख पनि
वयस्कको अनुभव लुट्यो
वृद्धको साधना पनि
आखिर मानवको मानवता लुटिसक्यो ।

तर,विडम्बना
सबै सहेर दासझैँ बनेर
मालिकको अघि लुथ्रुक्क परेर
उसैलाई सुम्सुम्याइ रहनुपर्ने
सुम्सुम्याइ रहनुपर्ने
जय मोबाइल मालिक !

Leave a Reply

Your email address will not be published. Required fields are marked *