भर्खरै :

थकित अमेरिकाले अरू देशलाई पनि धम्की

थकित अमेरिकाले अरू देशलाई पनि धम्की

काठमाडौँ, ५ भदौ । संसारका सबै मुलुकहरू स्वाधीन र सार्वभौम छन् । हरेक स्वाधीन देशहरूको आ–आफ्नै अस्तित्व हुन्छ । देश सानो होस् या ठुलो आफ्नो अस्तित्वको निम्ति लड्नुपर्छ । हरेकले आफ्नो देश बनाउन कोसिस गर्दा अर्को देशले टाउको दुखाउनुपर्ने विषय होइन । कुनै ठुलो देशले अरु स्वाधीन देशमा व्यापार नगर्न, सहयोग नगर्न आग्रह गर्ने, घोषणा गर्ने र सहयोग र व्यापार गरे त्यो देशले ठुलो आर्थिक क्षति व्यहोर्नुपर्ने कुनै राष्ट्रपतिको धम्की न्यायोचित देखिँदैन । आफ्नो देश शक्तिशाली र धनी भयो भनेर शक्तिको उन्मादमा कुनै पनि देशलाई नाकाबन्दी गर्ने, व्यापार व्यवसाय रोक्ने, आक्रमण गर्ने र आन्तरिक विवाद चर्काएर देशमा द्वन्द्व बढाउने र युद्ध निम्त्याएर देशको जनधन नष्ट गर्ने काम कुनै पनि प्रजातान्त्रिक देशलाई सुहाउँदैन ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई सहयोग गर्ने वा व्यापार गर्ने कुनै पनि देशले ठुलो आर्थिक क्षति बेहोर्नुपर्ने चेतावनी दिँदै तेहरानलक्षित नयाँ आर्थिक दबाब अभियान छेड्ने घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पको त्यो अभियान पहिलो होइन । यसअघि पनि अमेरिकी प्रशासनले प्रजग कोरिया, क्युवालगायत अरु देशमा आर्थिक नाकाबन्दी मात्र होइन ती देशको अरु देशले सामान किन्न नपाउने र अरु देशले त्यहाँ कुनै सामान आयात गर्न नहुने उद्घोष गरेको थियो । संसारका राष्ट्रप्रमुखहरू के अमेरिकी राष्ट्रपतिकै मातहतमा चल्नुपर्ने, बस्नुपर्ने ? ट्रम्पले बुधबार सामाजिक सञ्जाल टुथ सोसलमार्फत कुनै पनि देशले आफ्ना बित्तीय संस्था, व्यवसाय, विमानस्थल वा सरकारी निकायमार्फत इरानलाई कुनै पनि प्रकारको सहयोग उपलब्ध गराउन दिएमा ती देशले कडा आर्थिक परिणाम भोग्नुपर्ने चेतावनी दिएर संसारका मुलुकलाई आतङ्कित पार्ने काम गरेका छन् । एकातिर सं.रा. अमेरिका र उसका पिछलगू देशहरूले इरान, रुसमा आक्रमण गरिरहेका छन् भने अर्कोतिर ती देशलाई साथ दिने देशलाई पनि आक्रमण गर्ने चेतावनी दिएर विश्वलाई आतङ्कित पार्ने काम अमेरिकी राष्ट्रपति ट्रम्पले गरेका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले अरु देशको प्रगति हेर्न चाहेका छैनन्† अरु देशको प्रगति रोक्न बाधा हाल्ने, अरुलाई आर्थिक, राजनीतिक रूपले कमजोर बनाउन आक्रमण गर्ने, आक्रमणमा सहयोग गर्ने अमेरिकी प्रशासनको जति निन्दा गरे पनि पुग्दैन । आक्रमण गर्दा गर्दै, आक्रमणमा सहयोग गर्दा गर्दै हतियार रित्तिएको र थाकेको अमेरिकाले आफूमाथि आक्रमणको प्रत्याक्रमण गर्ला भनेर अरु देशलाई पनि आतङ्कित पारिरहेको छ । एउटा देशले अर्को देशमा आवश्यक मालसामान आयात निर्यात गर्नुपर्ने हुन्छ । सबै देशमा आफ्नो देशको लागि आवश्यक आधारभूत सामान हुँदैन । आफूसँग भएको सामान निर्यात गर्ने र अभाव भएको आयात गर्नुपर्ने हुन्छ । नभएको सामान अरु देशबाट पूर्ति गर्नुपर्ने हुन्छ । त्यस्तो काममा अमेरिकाले रोक्नु हुँदैनथ्यो† रोक्न दबाब दिनु हुँदैनथ्यो ।
कहिले आक्रमण गर्ने, कहिले वार्ताको कुरा गर्ने त कहिले फेरि द्वन्द्व निम्त्याउने काम संयुक्त राज्य अमेरिकाले गर्दै छ । यस्तै निर्णय र छिनछिनमा फेर्ने उद्घोषले अमेरिकी राष्ट्रपतिको विरोध संसारका मुलुकमा मात्र होइन अमेरिकाकै करोडौँ जनताले गरेका थिए । अमेरिकी राष्ट्रपतिको यो जातिको बेइज्जत अरु के हुनसक्छ । नैतिकता, चरित्रको अलिकति पनि ख्याल नगर्ने, शक्तिको उन्मादमा एकपछि अर्काे स्वाधीन र सार्वभौम देशमा आक्रमण गर्दै देशलाई ध्वस्त पार्ने अमेरिकी प्रशासनको विरोधमा संसारका न्यायप्रेमी, देशभक्त जनता र राष्ट्र प्रमुखहरू लागिरहेको बेला संयुक्त राष्ट्र सङ्घ यस मामिलामा किन मौन भन्ने प्रश्न पनि उठेको छ । अमेरिकी राष्ट्रपति ट्रम्पले भनेझैँ अरु कुनै शक्तिशाली देश यस संसारका अरु स्वाभिमानी देशहरूले अमेरिकी सामान पनि कुनै नलिन र आर्थिक नाकाबन्दीको उद्घोष गरे के अमेरिका स्वीकार्न तयार होला ? त्यसबेला अमेरिकाको हालत के हुन्छ ? अमेरिकाले इरानलाई सहयोग नगर्न र सामान नकिन्न उद्घोष गर्नु अमेरिकी प्रशासनको पतनको सङ्केत हो वा एक्लिँदै र कमजोर हुँदै गएको सङ्केत हो ? विश्वमा चर्चाको विषय बनेको छ ।
संसारका अत्यन्त बहुमत देश र जनताले युद्धको विरोध गरिरहे पनि अमेरिकी सरकार, अमेरिकी राष्ट्रपति यति क्रूर, निर्दयी र अहङ्कार किन भइरहेका हुन् ? अमेरिकी सैन्य कारबाहीको इरानले जवाफी हमला गरिरहेको कारण अमेरिकी प्रशासन थाकेर अरु देशको सहयोग लिइरहेको बेला आएको राष्ट्रपति ट्रम्पको त्यो घोषणाले अमेरिकी सरकार विश्वमा एक्लिँदै गएको सङ्केत गर्छ । अरु देशमा आक्रमण गर्ने, आक्रमण गरेर ध्वस्त पारेपछि शान्ति वार्ताको आह्वान गरेर शान्ति पुरस्कारको दाबी गर्न आफै युद्धविराम गर्ने अमेरिकी कदमको संयुक्त राष्ट्र सङ्घले निन्दा गर्नुपर्दैन ? निन्दा गरेर कारबाहीको प्रक्रिया अघि बढाउनु पर्दैन ? संयुक्त सङ्घले युद्ध निम्त्याउने कुनै पनि उद्घोष, घोषणा या कदमको विरोध गर्नुपर्छ । संसारका देशहरूको सुरक्षा गर्ने जिम्मा बोकेको संयुक्त राष्ट्र सङ्घ अमेरिकाको कठपुतली बन्नु हुँदैनथ्यो† अमेरिकी प्रशासनले जे गरे पनि जे भने पनि सहेर बस्नुहुँदैनथ्यो । के यो संसार भनेको बलियो देशले निर्बलियो देशलाई जे पनि गर्न पाउने हो ? के स–साना स्वाधीन र सार्वभौम देशहरूको अस्तित्व छैन ? के उनीहरू सुरक्षितसाथ बाँच्न पाउँदैनन् ? अमेरिकी राष्ट्रपतिको दम्भ, धम्कीले नै आफ्नो देशका जनताले उनीमाथि पटक–पटक आक्रमण गरेका हुन् । आफ्नै देशमा असुरक्षित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *