‘अमेरिकी प्रजातन्त्र’ पुस्तकबारे अध्ययन गोष्ठी
- भाद्र १०, २०८३
काठमाडौँ, १० भदौ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले नेपाल–चीन सीमा क्षेत्रमा चट्टानसहितको हिमपहिरो गएको र त्यसका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको देखिएको प्रारम्भिक निष्कर्ष निकालेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. धर्मराज उप्रेतीले रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा गएको चट्टानसहितको हिमपहिरोका कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको र टिमुरे हुँदै उक्त बाढी त्रिशुली नदीमा मिसिएको प्रारम्भिक विश्लेषणबाट देखिएको जानकारी दिनुभयो ।
“स्याटेलाइट तस्बिरको प्रारम्भिक विश्लेषणका आधारमा रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तरपूर्व नेपाल–चीन सीमामा चट्टानसहितको हिमपहिरो गएको देखिन्छ । त्यसकै कारण ल्हेन्दे खोलामा गेग्रानसहितको बाढी आएको र टिमुरे हुँदै त्रिशुली नदीमा प्रवेश गरेको प्रारम्भिक अध्ययनबाट देखिएको छ,” कार्यकारी प्रमुख डा. उप्रेतीले भन्नुभयो ।
तत्काललाई थप जोखिम हट्यो
जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रले रसुवाको भोटेकोसीमा आएको बाढीबाट हुन सक्ने थप क्षतिको जोखिम तत्कालका लागि टरेको जनाएको छ । केन्द्रका बाढीविद् विनोद पराजुलीले बुधबार रासससँग कुरा गर्दैै बाढीको प्रभाव अब क्रमशः घट्दै गएकाले थप खतरा तत्कालका लागि टरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, “रसुवास्थित भोटेकोसीमा आएको बाढी आएपछि नदी छेउछाउका बस्ती र बजार क्षेत्रमा उच्च सतर्कतासहित सुरक्षित रहन अनुरोध गरेका छौँ । सबैतिर पूर्वसूचना प्रवाह भएको छ, अब बाढीको ठुलो जोखिम पनि कम हुँदै गएको छ ।”
पराजुलीले बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै मोबाइल एसएमएसमार्फत सम्भावित प्रभावित क्षेत्रमा सर्वसाधारणलाई पूर्वसूचना पठाइएको बताउनुभयो ।
नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति
यसैबिच नेपाल र चीनबिच मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति भएको छ । रसुवाको भोटेकोसी हुँदै त्रिशुली नदीमा आएको आकस्मिक बाढी र प्रभावित क्षेत्रको मौसमी अवस्थाका बारेमा चिनियाँ पक्षसँग भएको छलफलका क्रममा मौसमी विवरण आदानप्रदान गर्ने विषयमा सहकार्य गर्ने सहमति भएको छ ।
नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधिसमेतको उपस्थितिमा जल तथा मौसम विज्ञान विभाग र चिनियाँ मौसम विज्ञान निकाय (सीएमए) का अधिकारीबिच बिहीबार भएको भर्चुअल बैठकमा मौसम गतिविधि र पूर्वानुमानका विषयमा सहकार्य गर्ने सहमति भएको विभागले जनाएको छ । छलफल भएको बताउँदै चिनियाँ पक्षले प्रभावित क्षेत्रको मौसमी विवरणका सम्बन्धमा सहकार्य गर्ने सहमति जनाएको स्पष्ट गर्नुभयो ।
जल तथा मौसम विज्ञान विभागका प्रवक्ता विभूति पोखरेलले नेपाल र चीन दुवैतर्फको प्रभावित क्षेत्रमा भारी वर्षा नभएको जानकारी दिँदै भन्नुभयो, “हिमताल विस्फोट, पहिरो वा अन्य कुनै कारणले नदी थुनिएर बाढी आएको हुनसक्ने सम्भावना रहे पनि त्यसको आधिकारिक पुष्ट्याइँ नभइसकेकाले दुवैतर्फको संलग्नतामा यस विषयमा थप अध्ययन हुन आवश्यक छ ।”
विभागका अनुसार छलफलका क्रममा चिनियाँ पक्षबाट तिब्बततर्फको भू–भागमा ठुलो वर्षा नभएको र वर्षाका कारण बाढी आएको भन्ने पर्याप्त आधार नभएको प्रारम्भिक धारणा आएको छ । चीनतर्फको भू–भागमा मौसमजन्य कुनै जोखिम वा प्रभाव देखिएमा चिनियाँ पक्षले नेपाललाई तत्काल जानकारी गराउने सहमति भएको प्रवक्ता पोखरेलले जानकारी दिनुभयो ।
त्रिशुली र नारायणी नदीमा १८ शव भेटिए ![]()
यसैबिच तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशुली र नारायणी नदीमा १८ वटा शव भेटिएको छ । कुरिनटारदेखि नारायणगढको लिला चोकसम्म ती शव भेटिएका हुन् ।
प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार साँझ ६ः०० बजेसम्म ठाउँ–ठाउँमा ती शव भेटिएका हुन् । सुरक्षा निकायले नदी तटीय क्षेत्रमा उच्च सतर्कताका साथ बगेर आएका शवहरू निकाल्ने काम गरिरहेको छ । उहाँले भन्नुभयो, “अहिलेसम्म १८ वटा शव भेटिएको छ । १२ वटा हातखुट्टा भेटिएका छन् । अरु विवरण लिँदै छौँ ।” बाढीको बहावसँगै ती शवहरू आएको उहाँले बताउनुभयो ।
बाढी नारायणगढसम्म आइपुग्दै गर्दा पानीको बहाव खतरा तहमा पुगेको छैन । प्रजिअ अर्यालका अनुसार चितवन यो बाढीका कारण जोखिममा परेको छैन । आमनागरिकलाई नदीमा सामान तान्न नजान आग्रह गर्दै उहाँले शवहरू देखिएमा खबर गर्न आग्रह गर्नुभयो ।
नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख ई. सुमित अधिकारीका अनुसार देवघाटस्थित नारायणी नदीमा वहाव घट्न थालेको छ । यहाँ नौ मिटर कटेपछि खतरा मानिन्छ । छ दशमलव ८० मिटर पानीको सतह पुगेर घट्न सुरु भएको उहाँले जानकारी दिनुभयो । अब नदीको सतह घट्न थालेकोले खतरा टरेको उहाँको भनाइ छ ।
बाढीको जोखिमका कारण पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसैबाट सवारी रोकिएको छ । पोखरातर्फ जाने सवारीसाधनलाई पठाउन सुरु गरिएको छ । पृथ्वी राजमार्गको धादिङमा सडक अवरुद्ध भएकोले त्यसतर्फ जाने सवारीसाधन रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले बताउनुभयो ।
नारायणी नदीमा बाढी आउन सक्ने भन्दै बुधबार दिउँसो नदी आसपासका विद्यालय बन्द गरिएका थिए । नदी तटीय क्षेत्रमा सुरक्षा निकायले माइकिङ गरेको थियो ।
भोटेकोसी बाढी : भवन, सडक–पुल तथा विद्युत् आयोजनामा क्षति, तत्काल राहत–उद्धारमा खट्न निर्देशन
भोटेकोसी नदीमा आकस्मात् आएको बाढीमा परी १२ जना घाइतेको जिल्ला अस्पताल, धुन्चेमा उपचार भइरहेको छ ।
जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार गम्भीर घाइते भएका दुई जनाको थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको र सम्पर्कविहीन भएका तथा हराएका व्यक्तिहरूको खोजी कार्य भइरहेको छ ।
बाढीबाट रसुवागढी नाकास्थित नेपाल–चीन क्षेत्रका बजार र बस्तीमा ठुलो क्षति भएको र विशेषगरी गोसाइँकुण्ड गाउँपालिका–२ टिमुरे र घट्टेखोला बजार बढी प्रभावित छ । प्रहरीका अनुसार टिमुरे बजार क्षेत्रका करिब १०७ घर र घट्टेखोलामा ५० घर पूर्णरूपमा क्षति पुगेको छ ।
बाढीबाट रसुवागढीस्थित पालिका भवन, प्रहरी चौकी, भन्सार कार्यालय, सुख्खा बन्दरगाह र जलविद्युत्गृहमा समेत क्षति पुगेको छ ।
यसैगरी, रसुवागढी जलविद्युत् आयोजना पूर्णरूपमा प्रभावित भएको र चिलिमे जलविद्युत् आयोजनाको प्रवेशद्वार क्षेत्रमा असर पुगेको, राष्ट्रिय प्रसारणलाइनमा समेत क्षति पुगेको छ ।
बाढीले स्याफ्रुबेँसीदेखि रसुवागढीसम्मको १८ किमि सडक बगाएको छ । त्यस्तै, दुई वटा विद्युत्गृहको पहुँचमार्गमा रहेका दुई पुलसहित त्रिशुली–रसुवागढी सडकमार्गमा रहेको दुई वटा पक्की पुलसमेत बगाएको रसुवा जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
बाढीबाट जिल्लाको उत्तरगया गाउँपालिकाको वडा नंं ४ र ५ स्थित नदी तटीय क्षेत्रका बजार र वस्ती प्रभावित भएको जानकारी दिँदै जिल्ला प्रहरी प्रमुख थापाले बेत्रावती बजारलाई समेत बाढीले क्षति पु¥याएको बताउनुभयो ।
यसैबिच, नेपाल सरकारका तर्फबाट आवश्यक समन्वयसहित क्षतिको विवरण सङ्कलन गरी उद्धार तथा राहत वितरणलाई तीव्रता दिन, घाइतेको उपचार व्यवस्था गर्न, हराएका तथा सम्पर्कविहीन अवस्थामा रहेकाको खाजी गर्न र विपद्जन्य घटनामा तत्काल गर्नुपर्ने व्यवस्थापकीय भूमिका छिटोभन्दा छिटो पूरा गर्न सम्बद्ध पक्षलाई निर्देशन दिएको छ ।
भोटेकोसी बाढी : २६ प्रहरी सम्पर्कविहीन
रसुवास्थित भोटेकोसी नदीमा बुधबार आकस्मिकरूपमा आएको बाढीमा परी २६ जना प्रहरी सम्पर्कविहीन भएका छन् । केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार रसुवाको टिमुरे, स्याफ्रुबेँसी, सिम्ले र मैलुङमा रहेका युनिटमका ती प्रहरी सम्पर्कविहीन भएका हुन् ।
बाढीपछिको खोज तथा उद्धारको क्रममा नुवाकोट र धादिङमा आठ जनाको शव फेला परेको छ । बाढीले भोटेकोसीको तटीय क्षेत्रका बस्ती, पुललगायत सडक पूर्वाधारमा ठुलो क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलन गर्ने प्रयास भइरहेको छ ।
लेन्दे खोला थुनिएकाले बाढी आएको अनुमान, भोटेकोसी–त्रिशुलीमा अझै जोखिम
चीनबाट प्राप्त सूचनाअनुसार लेन्दे खोला थुनिएको स्थानमा बनेको ताल अझै पूर्णरूपमा नखुलेका कारण भोटेकोसी र त्रिशुली नदी क्षेत्रमा बाढीको जोखिम अझै टरेको छैन ।
जल विज्ञान तथा अनुसन्धान केन्द्रका अनुसार तिब्बततर्फ मेतेरी पुलबाट करिब १० किलोमिटरमाथि लेन्दे खोला थुनिएको अनुमान गरिएको छ । सो स्थानमा बनेको ताल पूर्णरूपमा नखुलेसम्म भोटेकोसी हुँदै त्रिशुली नदीको तल्लो तटीय क्षेत्रमा जोखिम कायमै रहेको केन्द्रका बाढीविद् विनोद पराजुलीले जानकारी दिनुभयो ।
उहाँले अर्को सूचना जारी नभएसम्म भोटेकोसी तथा त्रिशुली नदीको आसपास नजान र नदीबाट टाढा सुरक्षित स्थानमा रहन आग्रह गर्नुभयो । “चीनतर्फबाट प्राप्त सूचनाअनुसार नदी थुनिएको स्थानमा बनेको ताल अझै पूर्णरूपमा खुलेको छैन । त्यसैले भोटेकोसी र त्रिशुली क्षेत्रमा जोखिम कायमै छ,” उहाँले भन्नुभयो ।
केन्द्रले नदीको जलसतह तथा माथिल्लो क्षेत्रमा विकसित भइरहेको अवस्थाबारे निरन्तर निगरानी गरिरहेको जनाएको छ । केन्द्रका अनुसार देवघाट बाढी मापन केन्द्रमा हाल पानीको सतह ४.७६ मिटर रहेको छ । बाढीको बहाव करिब दिउँसो ३ः३० बजे देवघाटमा आइपुग्ने अनुमान गरिएको छ । केन्द्रको आकलनअनुसार पानीको सतहमा करिब ३ मिटरले वृद्धि हुन सक्ने देखिन्छ । यसअनुसार पानीको सतह करिब ८ मिटर पुग्न सक्ने र यो २–३ वर्ष पुनरावृत्ति अवधिको बाढी हुने अनुमान गरिएको छ ।
यस अनुसार चितवन र नवलपरासीको क्षेत्रमा डुबान हुने सम्भावना कम छ । तथापि अर्को सूचना जारी नहुँदासम्म नदीको छेउछाउका बस्ती–बजारका बासिन्दाहरू सुरक्षित स्थानमा रहन केन्द्रले आग्रह गरेको छ ।
भोटेकोसी बाढी : त्रिशुली बजार र देवीघाट क्षेत्र प्रभावित
रसुवादेखि आएको बाढीका कारण नुवाकोटको त्रिशुली बजार आसपासका करिब ६० घर बगाएको छ भने देवीघाट क्षेत्र प्रभावित भएको छ ।
बाढी आएको पूर्वसूचना पाएलगत्तै त्रिशुली नदी आसपासका स्थानीयहरू सुरक्षित स्थानमा गएकाले हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्षतिको विस्तृत विवरण आउन बाँकी छ । बाढीले त्रिशुली बजारका केही घर र त्रिशुली नदीमा रहेका दुईवटा पक्की पुल बगाएको छ । बाढीबाट त्रिशुली र देवीघाट जलविद्युत् आयोजना क्षतिग्रस्त भएको छ । यस्तै बाढीले २५ मेगावाट क्षमताको सौर्य प्लान्टको तीनवटा ब्लक र सबस्टेसन बगाएको छ ।
भोटेकोसी बाढी : तीन जनाको शव भेटियो, पाँच जनाको उद्धार
भोटेकोसी बाढीमा परी तीन जनाले ज्यान गुमाएका छन् । त्रिशुली नदी किनारमा तीन वटा शव भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख विपिन रेग्मीको अनुसार त्रिशुलीको किनार सिमचउरमा दुई वटा र कोल्पुटारमा एक जनाको शव फेला परेको हो । शवको पहिचान भने भएको छैन । बाढीमा फसेका पाँच जनालाई उद्धार गरिएको छ ।
उनीहरूलाई विदुर नगरपालिका–४ स्थित चक्रदेव अस्पताल पु¥याइएको छ । बाढीले सडक र पुल बगाएकाले त्रिशुली अस्पतालसँगको सडक सम्पर्क विच्छेद भएको उहाँले जानकारी दिनुभयो ।
उत्तरगया गाउँपालिकामा रहेका जलविद्युत् आयोजना र नदी आसपासमा घर क्षतिग्रस्त
रसुवाको भोटेकोसी नदीदेखि आएको बाढीका कारण रसुवा जिल्लाको उत्तरगया गाउँपालिकामा क्षेत्रमा रहेका अधिकांश जलविद्युत् आयोजना र त्रिशुली नदी आसपासमा रहेका घरहरू प्रभावित भएका छन् ।
गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार नदी तटीय क्षेत्रका आयोजनाका संरचना, गाउँपालिकाको कार्यालय र नजिकका घरहरू प्रभावित भएका छन् । सो क्षेत्रमा पूर्वसूचना प्राप्त भए पनि सूचनाको १५ मिनेटमै बाढीले प्रहर गर्न थालेको र केन्द्र सरकारको सम्बन्धित निकायलाई उद्धारका लागि आग्रह गरिएको उहाँले बताउनुभयो ।
अध्यक्ष अर्यालले मानवीय क्षतिको विवरण आइनसकेको र पूर्वसूचना तथा उद्धारमा गएका कर्मचारीसमेत सम्पर्कविहीन भएका छन् ।
रसुवा भन्सार कार्यालयका १४ कर्मचारी सम्पर्कविहीन
रसुवाको टिमुरेस्थित भन्सार कार्यालयमा कार्यरत १४ जना कर्मचारी सम्पर्कविहीन भएका छन् । रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएको बाढीपछि उहाँहरू सम्पर्कविहीन हुनुभएको हो ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको सचिवालयका अनुसार रसुवा भन्सारमा कार्यरत ११ स्थायी कर्मचारी र तीन जना करारका कर्मचारी सम्पर्कविहीन छन् ।
रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक राजेन्द्र ढुङ्गानासहित २५ जना कर्मचारी सम्पर्कमा आउनुभएको छ । सो कार्यालयमा चार जना करार र ज्यालादारी कर्मचारी रहेकामा एक जना सम्पर्कमा आएको बताइएको छ ।
भोटेकोसी बाढी : सेनाको हेलिकप्टरद्वारा १२ जना बाढीपीडितको उद्धार![]()
नेपाली सेनाले रसुवास्थित भोटेकोसी नदीमा बुधबार बिहान आएकोे बाढीबाट पीडितको उद्धार धमाधम जारी राखेको छ । हालसम्म हालसम्म १२ जनाको हेलिकप्टरमार्फत उद्धार भैसकेको छ ।
यसमा स्याफ्रुबेँसीबाट ६ र मैलुङबाट २ र धुन्चेबाट ४ गरी हालसम्म १२ जनाको रहेका छन् । नेपाली सेनाका चार र निजी कम्पनीका आठ गरी १२ वटा हेलिकोप्टर उद्धारमा खटिएका छन् ।
यसका साथै नेपाली सेनाको मेडिकल टिमद्वारा त्रिशुलीस्थित नं १ सैन्य तालिम केन्द्रमा आकस्मिक उपचार सेवा प्रदान गरिरहेको पनि सेनाले जनाएको छ । सेनाका अनुसार घाइतेहरूलाई त्रिशुली र अन्यलाई धुन्चे पु¥याइएको छ ।
भोटेकोसी बाढीको जोखिम सुस्तासम्म
यसैबिच भोटेकोसी बाढीको जोखिम सुस्तासम्म रहने पूर्वानुमान गरिएको छ । जलविज्ञान तथा अनुसन्धान केन्द्रले बाढीको जोखिम सुस्ता क्षेत्रसम्म पर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै मोबाइल एसएमएसमार्फत बाढीसम्बन्धी पूर्वसूचना सर्वसाधारणलाई पठाउने तयारी भइरहेको जनाएको छ ।
केन्द्रका बाढीविद् सौहार्द जोशीले यसअघि चितवनस्थित देवघाटसम्म मात्रै जोखिम रहन सक्ने भनिएकामा बाढीको प्रकृति हेर्दा जोखिम सुस्तासम्म रहने आकलन गरिएको जानकारी दिनुभयो । सोहीअनुसार पूर्वतयारी थालिएको उहाँले बताउनुभयो । “बाढीको जोखिम अहिलेसम्म घटेको छैन । सुस्तासम्म नै जोखिम हुनसक्छ,” उहाँले भन्नुभयो ।
“वर्षाले भोटेकोसीमा बाढी आएको होइन”
जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले वर्षाले भोटेकोसीमा बाढी नआएको स्पष्ट गर्नुभएको छ ।
बितेका २४ घण्टामा रसुवाका केही स्थानमा सामान्य वर्षा भएको र त्यहाँ सात मिलिमिटरभन्दा बढी वर्षा नभएको राससलाई बताउनुभयो । उहाँले हिमताल फुटेको आशङ्का गर्दै अनुसन्धान गरिने बताउनुभयो ।
भोटेकोसी बाढी : बा¥ह जलविद्युत्गृहमा क्षति
भोटेकोसीमा गएको बाढीका कारण १२ जलविद्युत्गृहमा क्षति पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले भोटेकोसीमा गएको बाढीका कारण छ वटा जलविद्युत् र एक सोलार गृहमा प्रत्यक्ष क्षति पुगेको र बाँकी जलविद्युत्गृहबाट उत्पादित विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएका छन् ।
प्रवक्ता ढकालका अनुसार १११ मेगावाटको रसुवागढी, ७८ मेगावाटको सलासुङ्गी (सान्जेन), १४.८ मेगावाटको अपर साञ्जेन, ४२.५ मेगावाटको सान्जेन, २२ मेगावाटको चिलिमे, २० मेगावाटको लाङटाङ, ६० मेगावाटको अपर त्रिसुली थ्री ए, १४.८ मेगावाटको अपर मैलुङ, ५ मेगावाटको मैलुङ, २४ मेगावाटको त्रिशुली, १४ मेगावाटको देवीघाट र २५ मेगावाटको सोलार प्रणालीमा प्रत्यक्ष क्षति पुगेको छ ।
एघार जलविद्युत्गृह र एक सोलारगृहमा क्षति पुग्दा ४३१.१ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट विच्छेद भएको प्रवक्ता ढकालले बताउनुभयो । उक्त बाढीले राष्ट्रिय प्रसारण लाइनमा समेत क्षति पु¥याएको छ ।
भोटेकोसी–त्रिशुलीमा गएको बाढीबाट १९ वटा पुलमा क्षति
भोटेकोसी–त्रिशुलीमा गएको बाढीका त्रिशुली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति भएको सडक विभागले जनाएको छ ।
सडक विभागका उपमहानिर्देशक तथा प्रवक्ता शुभराज न्यौपानेका अनुसार बाढीका कारण हालसम्म त्रिशुली नदीमा रहेका कम्तीमा १९ वटा पुलमा क्षति पुगेको छ । त्यस्तै, कम्तीमा ४० किलोमिटर सडकमा क्षति पुग्नुका साथै सडक भत्किएको उहाँको भनाइ छ ।
न्यौपानेका अनुसार क्षतिग्रस्त क्षेत्रमा सडक विभागले भारी उपकरण तथा मेसिन परिचालन गरी सडक तथा पुलको अवस्था सुधार गर्ने काम अघि बढाएको छ ।
बाढीको प्रभाव तल्लो तटीय क्षेत्रमा कम
रसुवास्थित भोटकोसी नदीमा आएको बाढीको प्रभाव माथिल्लो क्षेत्रको तुलनामा तल्लो तटीय क्षेत्रमा कम देखिएको छ ।
जल विज्ञान तथा अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले भने बढीबाट तल्लो नदी तटीय क्षेत्रमा पनि हुन सक्ने क्षतिलाई दृष्टिगत गरी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।
बाढीका कारण फुर्केखोलास्थित जलमापन केन्द्रले १० दशमलव आठ मिटर जलसतह मापन गरेको र त्यसपछि उक्त केन्द्र तथा पुलसमेत बाढीले बगाएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
बाढीसम्बन्धी तत्काल सूचना लिन बाढी पूर्वानुमान महाशाखाको ११५५ को २ नम्बरमा २४ सै घण्टा सम्पर्क गर्न सकिने महाशाखाका हाइड्रोलोजिस्ट सौगात भुसालले बताउनुभयो ।
भोटेकोसी बाढीपीडितका लागि डब्ल्युएचओले औषधि र स्वास्थ्य उपकरण पठाउने
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ) ले रसुवाको भोटेकोसी नदीमा बुधबार बिहान आएको बाढीबाट प्रभावितका लागि आवश्यक औषधि तथा स्वास्थ्य उपकरण पठाउने भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहतासँगको कुराकानीपछि डब्ल्युएचओले एक हजार जनालाई पुग्ने आधारभूत औषधि तथा स्वास्थ्य उपकरण पठाउन लागेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । साथै २४ वर्गमिटरका १५ वटा आपत्कालीन टेन्ट पनि प्रभावित क्षेत्रमा पठाउन लागिएको जनाइएको छ ।
मन्त्रालयका अनुसार बाढी प्रभावितका लागि काठमाडौँस्थित वीर अस्पताल र ट्रमा सेन्टरमा १०० वटा आपत्कालीन शय्या छुट्याइएको छ । हालसम्म तीन जना घाइतेलाई उद्धार गरी काठमाडौँ ल्याइसकिएको पनि मन्त्रालयले जनाएको छ ।
आप्तकालीन स्वास्थ्य सेवाका लागि काठमाडौँस्थित सङ्घीय अस्पताल, रक्तसञ्चार केन्द्र, वाग्मती तथा गण्डकी प्रदेशका स्वास्थ्य मन्त्रालय, नेपाल रेडक्रस, लायन्स र नेपाल स्काउटसँग समन्वय भइरहेको मन्त्रालयले जनाएको छ ।
नेपाल रेडक्रस र नेपाल स्काउटमार्फत केही चिकित्सक तथा स्वास्थ्यकर्मी प्रभावित क्षेत्रमा पठाउने तयारी भइरहेको छ । मन्त्रालयले ट्रमा सेन्टरमा कार्यरत छ जना चिकित्सक र दुई जना नर्सलाई प्रभावित क्षेत्रमा पठाइसकेको जनाएको छ । त्यसैगरी, आवश्यक स्वास्थ्य उपकरणसहित एउटा एम्बुलेन्स पनि प्रभावित क्षेत्रतर्फ प्रस्थान गरिसकेको मन्त्रालयको भनाइ छ ।
मन्त्रालयका अनुसार रसुवाको धुन्चेस्थित स्वास्थ्य चौकी र रसुवा अस्पतालसँग पनि सहकार्य भइरहेको छ । आपत्कालीन स्वास्थ्यसम्बन्धी सहयोग, जानकारी तथा समन्वयका लागि १११५ मा सम्पर्क गर्न सकिने मन्त्रालयले जनाएको छ । रासस
Leave a Reply