भर्खरै :

भोटेकोसी बाढीः उद्धारका लागि अन्तर्राष्ट्रिय राहत सहयोग जुट्दै

भोटेकोसी बाढीः उद्धारका लागि अन्तर्राष्ट्रिय राहत सहयोग जुट्दै

काठमाडौँ, १५ भदौ । बुधबार रसुवालगायत क्षेत्रमा गएको भोटेकोशी बाढीको विपद्पछि नेपाल सरकारले खोजी, उद्धार तथा राहत र पुनःस्थापनाका लागि उपलब्ध सबै स्रोतसाधन तथा प्रयास परिचालन गरेको छ । साथै सरकारले जारी खोजी, उद्धार तथा राहत प्रयासका लागि आवश्यक सबै सामग्री र स्रोतसाधनको मूल्याङ्कन, अनुरोध, प्राप्ति तथा परिचालन गर्न छिमेकी मुलुक तथा अन्तर्राष्ट्रिय समुदायसँग समन्वय गरिरहेको छ ।
यसै क्रममा विभिन्न मुलुकबाट नेपाललाई उद्धार तथा राहत सहयोग आउनेक्रम पनि बढेको छ । भोटेकोशी बाढीसम्बन्धी परराष्ट्र मन्त्रालयले सोमबार आयोजना गरेको प्रेस ब्रिफिङमा हाल भारतबाट ११ जना र चीनबाट नौ जना सम्मिलित सुरुङ उद्धारसम्बन्धी विशेषज्ञ टोली नेपाली अधिकारीसँगको समन्वयमा क्रमशः मेलुङ (चिलिमे) र स्याफ्रुबेसी तथा माथिल्लो त्रिशूली थ्रि ए क्षेत्रमा परिचालित रहेको जानकारी दिइयो ।
त्यस्तै दक्षिण कोरियाबाट पनि एउटा टोली परिचालन गरिएको छ । यसैगरी, शव व्यवस्थापनका लागि एयरटाइट ब्याग पनि प्राप्त गरिसकेको मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्री पौडेलले जानकारी दिनुभयो ।
प्रवक्ता क्षेत्रीका अनुसार भारत, चीन, जापान, संयुक्त राज्य अमेरिका, संयुक्त अरब इमिरेट्स, कोरिया गणतन्त्र तथा अन्य देश र साझेदारबाट यसअघि नै उद्धार सहयोग प्राप्त भइसकेको छ । यसअन्तर्गत पुलका एकाइ, फ्रिजर, जेनेरेटर सेट, सौर्य बत्ती, डीएनए परीक्षण किट, पुलका एकाइ, आपत्कालीन राहत उपकरणहरूका साथै पाल, कम्बल, स्लीपिङ ब्याग, खाद्य प्याकेट, औषधिलगायतका सामग्रीहरू रहेका मन्त्रालयले जनाएको छ ।
“हामीले संयुक्त राज्य अमेरिकाबाट फ्रिजर, डीएनए परीक्षण किट तथा लाइडरजस्ता आवश्यक गैर–खाद्य सामग्री र सेवाका लागि थप अनुरोध गरेका छौँ । बेलीब्रिज (जसमध्ये केही प्राप्त भइसकेका छन्) तथा उच्च क्षमताका ड्रोन (चीन र सिङ्गापुरबाट) जस्ता विशेष सामग्री तथा सेवाका लागि पनि अनुरोध गरिएको छ ।
यस्ता विशेष सामग्री जापान र कोरिया गणतन्त्रबाट पनि छिट्टै प्राप्त हुने अपेक्षा गरिएको छ”, प्रवक्ता क्षेत्रीले भन्नुभयो ।
प्रवक्ता क्षेत्रीले भन्नुभयो, “हामी पुनःस्थापना तथा पुनःनिर्माणका लागि अन्तर्राष्ट्रिय सहयोग आवश्यक पर्ने अपेक्षा गर्दछौँ । मूल्याङ्कन अगाडि बढ्दै जाँदा आवश्यकताका विशिष्ट विवरण पछि जानकारी गराइनेछ ।”
प्रवक्ता क्षेत्रीले हालसम्म प्रभावित क्षेत्रबाट ९०३ शव फेला परेको र करिब चार हजार २०० सय जना अझै सम्पर्कविहीन रहेको जानकारी दिनुभयो । प्रभावित क्षेत्रबाट १० हजारभन्दा बढी नागरिकको उद्धार गरिएको छ, त्यसमध्ये ३२३ भन्दाबढी विदेशी नागरिक रहेका उहाँको भनाइ थियो । उपलब्ध तथ्याङ्कअनुसार, विभिन्न ३९ देशका करिब ५९० विदेशी नागरिक अझै बेपत्ता छन् ।
यस कठिन घडीमा सरकार हाम्रा छिमेकी मुलुक तथा अन्तरराष्ट्रिय समुदायसँग निरन्तर नजिकको सम्पर्क र समन्वयमा रहेको चर्चा गर्दै प्रवक्ता क्षेत्रीले धेरै विदेशी नागरिक अझै बेपत्ता रहेको र समन्वयका लागि मन्त्रालयमा एक आपतकालीन नियन्त्रण कक्ष स्थापना गरिएको बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *