भर्खरै :

मध्यपुर थिमिमा परम्परागत थिमि भैलः नाच सञ्चालन

मध्यपुर थिमिमा परम्परागत थिमि भैलः नाच सञ्चालन

मध्यपुर थिमि, १५ भदौ । मध्यपुर थिमि नगरपालिका वडा नं. ५ कुमाननी/तुलंननी टोलबाट यस वर्ष परम्परागत थिमि भैलः प्याख (नाच) प्रदर्शन गरिएको छ । यो प्रदर्शनी गाईजात्राको भोलिपल्ट भाद्र कृष्ण द्वितीया, गुँला गा द्वितीयादेखि पञ्चमीसम्म सञ्चालन हुने गर्दछ । अर्थात् यस वर्ष भदौ १४ गतेदेखि १७ गतेसम्म नाच नचाइने छ । मध्यपुर थिमिमा लाय्कु दरबारबाट पनि लायकु भैलः नचाइन्छ भने प्रजापति समुदायबाट पनि विभिन्न टोलमा यो नाचको आयोजना गरिन्छ । नाचको लागि १२ जनाले दागः, आठ जनाले भुस्या, आठ जनाले पोङ्गा र चार जनाले मुहाली बजाई सुर ताल दिने गरिन्छ ।
यो प्रदर्शनी मध्यपुर थिमि नगरपालिका, वडा कार्यालय तथा स्थानीय टोल कुमाननी र तुलननी एवं विभिन्न वडावासीहरूको साथ र सहयोगमा निकाल्न लागिएको हो । मल्लकालीन सांस्कृतिक एवं ऐतिहासिक महत्व बोकेको थिमि भैलः प्याख गणेश सांस्कृतिक समाजको आयोजना तथा स्थानीय नगर तथा टोलवासीहरूको सक्रिय साथ र सहयोगमा निकालिएको छ ।
परम्परागत भैलः प्याखं ऐतिहासिक तान्त्रिक महत्व बोकेको नाचमा दुईजना भैरव, दुई जना कुमारी अर्थात् दागीं र एक ज्यापुंग रहेका हुन्छन् । कुल ३२ ताल नचाइने परम्परागत थिमि भैलःमा अहिले २७ ताल प्रचलित छन् ।
भैलः प्याखं किन नचाइन्छ ?
कहिलेबाट यो नाच सुरू भएको हो भन्ने कुनै अभिलेख छैन । लोकोक्तिअनुसार धेरै अगाडि थिमिमा भूतप्रेतहरूले धेरै दुःख दिने गर्थे । दिउँसो नै भूतप्रेतले दुःख दिन थालेपछि मानिसहरू एक्लै हिँडदूल गर्न डराउन थाले । खेतमा काम गर्न जान पनि छाडे र नगरमा हाहाकार हुन थाल्यो । तान्त्रिक भैलःको साधना गरेर भूतप्रेतहरू भगाउन सकिन्छ भनेर भैलःको साधना गरेर तन्त्र विधिबाट भैलः को विभिन्न क्रोधको मुद्रामा नाच निकालेपछि भूतप्रेत भागे भन्ने लोकोक्ति छ । त्यसैले यो नाच नचाउनुको मुख्य उद्देश्य नै दुःख दिइरहने दुष्ट राक्षसहरू भगाउन सुरक्षा दिन र सबैको शुभ होस् भन्ने हो ।
परम्परागत थिमि भैलः नाचमा नृत्य गर्ने देवगणहरू निम्नानुसार छन् ।
१. ज्यापुंगःचा (हरिसिद्धी) : श्याम वस्त्र, मकुन्डो हुँदैन तर कलात्मक मतु मात्रै लगाइएको हुन्छ । हातमा ढकी बोकेको हुन्छ ।
२. न्हापा भैल : पहिलो भैरव/चण्डिका भैलः/प्रचण्ड/चण्ड भैलः (दिगु भैलःको प्रतीक); श्याम वस्त्र, डरलाग्दो, ठुलो भैरव मकुन्डो लगाइएको हुन्छ । हातमा खड्ग बोकेको हुन्छ ।
३. लिपा भैल : दोस्रो भैरव, बटुक भैरव (बालकुमारीको भैरवको प्रतीक): श्याम वस्त्र, डरलाग्दो ठुलो भैरव मकुन्डो लगाइएको हुन्छ । हातमा खड्ग बोकेको हुन्छ ।
४. न्हापा दागेँ : कुमारी (बालकुमारीको प्रतीक):–रातो वस्त्र, रक्त वर्ण, मकुन्डो लगाइएको हुन्छ । हातमा डमरु लिएको हुन्छ ।
५. लिपा दागेँ : महालक्ष्मी : रातो वस्त्र, रक्त वर्ण, मकुन्डो लगाइएको हुन्छ । हातमा डमरु लिएको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *