“सम्पदाको संरक्षण, संवद्र्धन र पर्यटन प्रवद्र्धनलाई भक्तपुर नगरपालिकाले प्राथमिकतामा राखेको छ”
- असार ३१, २०८३
भक्तपुर, ५ असार । नेपाल मजदुर किसान पार्टी अन्तर्राष्ट्रिय सम्बन्ध विभागको आयोजनामा मङ्गलबार ‘कोरियाली प्रायःद्वीपको वर्तमान अवस्था’ विषयक विचार गोष्ठी सम्पन्न भयो । कोरियाली मजदुर पार्टीका महासचिव तथा प्रजग कोरियाका पूर्व सर्वोच्च नेता किम जङ्ग इल केन्द्रीय समितिमा रहेर काम गर्न थाल्नुभएको अवसर पारेर आयोजित कार्यक्रममा वक्ताहरूले गत जून १२ मा प्रजग कोरिया र संरा अमेरिकाका शीर्ष नेताहरूबीच भएको सिङ्गापुर शिखर सम्मेलनबारे चर्चा गर्नुभएको थियो ।
कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें (रोहित) ले पुँजीवादी आर्थिक सड्ढट गहिरिएसँगै संरा अमेरिका क्रमशः कमजोर बन्दै गएको बताउनुभयो ।
उहाँले संरा अमेरिकी साम्राज्यवाद आफ्नै सहयोगी देशहरूबीचबाट एक्लिदैं गएको चर्चा गर्दै अफ्रिका, एसिया, ल्याटिन अमेरिका र युरोपमा पहिले उसको कुरा मान्ने देशहरूले आज लत्याइरहेको बताउनुभयो ।
नाटोमा आफ्नोमात्र धेरै खर्च भइरहेको भन्दै संरा अमेरिकाले नाटो देशसँग आफ्नो बजेटको २ प्रतिशत आफूलाई बुझाउन प्रस्ताव गरिरहेको जानकारी दिंदै बिजुक्छेंले संरा अमेरिकाले संयुक्त राष्ट्र सङ्घमा लगाइरहेको पैसामा पनि कटौती गरिरहेको धारणा राख्नुभयो ।
उहाँले प्रजग कोरिया र संरा अमेरिकाबीच सिङ्गापुरमा भएको वार्ताप्रति समर्थन जनाउँदै भन्नुभयो, ‘प्रजग कोरियाले हाल सेना र सुरक्षामा लगाइरहेको बजेट सामाजिक क्षेत्रमा लगाए प्रजग कोरियाली जनताको जीवनस्तर वृद्धि हुनेछ ।’
प्रजग कोरियाका नेता किम जङ्ग इलको स्मरण गर्दै उहाँले सबै व्यक्तिको योगदानको कदर गर्न जरुरी भएकोमा जोड दिनुभयो ।
नेपालका लागि प्रजग कोरियाका राजदूत किम योङ्ग हकले मार्शल किम जङ्ग उनको खुला र व्यापक दृष्टिकोणकै कारण आज प्रजग कोरियामा ठूलो स्तरको परिवर्तन भइरहेको बताउँदै कोरिया प्रायः द्वीपको वर्तमान अवस्थाले कोरियाली मजदुर पार्टीले लिएको विचार सही प्रमाणित भएको धारणा राख्नुभयो ।
उहाँले प्रजग कोरिया आणविक हतियार पनि बनाउने र आर्थिक समृद्धिलाई पनि जोड दिने नीतिमा अघि बढिरहने विचार राख्दै मार्शल किम जङ्ग उन र कोरियाली जनताको बुद्धिमानी नेतृत्व रहेसम्म प्रजग कोरियाको विजय अवश्यम्भावी भएको विचार राख्नुभयो ।
राजदूत किमले किम जङ्ग इलले आफ्नो पूरा जीवन कोरियाली मजदुर पार्टीको विकासमा खर्चिनु भएको प्रसङ्ग उल्लेख गर्दै कोरियाली जनताले किम जङ्ग इललाई सदाको लागि पार्टीको महासचिव घोषणा गरेको जानकारी दिनुभयो ।
नेमकिपाका केन्द्रीय सचिव तथा विदेश सम्बन्ध विभागका प्रमुख प्रेम सुवालले सोभियत सङ्घको विघटनपश्चात् संसारभर समाजवादी आन्दोलन प्रतिरक्षात्मक अवस्थामा रहँदा प्रजग कोरियाले समाजवादी आन्दोलनको झण्डा उँचो राखेको बताउनुभयो ।
सेना पनि पार्टी कार्यकर्ता जस्तै जनताको सेवामा लाग्ने सोन्गुन नीतिको वैचारिक हतियारका कारण प्रजग कोरियाले साम्राज्यवादसंग प्रतिरोध गर्ने क्षमता राखेको उहाँको भनाइ थियो ।
नेमकिपाका केन्द्रीय सदस्य सरोजराज गोसाईले संसारभर संरा अमेरिकाले आफ्ना सैनिक अखडा बनाएर विश्वलाई आफूले चाहेजस्तो लान खोजिरहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य राजेन्द्र चवालले प्रजग कोरियाको भूगोल र नीरज लवजूले सिङ्गापुर वार्ताबारे प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा नरेश खत्रीले पनि बोल्नुभएको थियो ।
Leave a Reply