खेलाडीमा अनुशासन तथा समर्पित भावना आवश्यक
- भाद्र ३१, २०८३
ललितपुर, २ असोज । ललितपुर जिल्ला भलिबल सङ्घको सातौँ साधारण सभाको उद्घाटन नेपाल भलिबल सङ्घका केन्द्रीय उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय रेफ्री गौतमप्रसाद लासिवाले जावलाखेल भलिबल प्रशिक्षण केन्द्रको सभाहलमा गर्नुभयो ।
उद्घाटन कार्यक्रममा उपाध्यक्ष लासिवाले खेलकुद विकासको लागि इमानदारिता र नैतिकताको साथै राष्ट्रिय भावना पनि हुनुपर्ने बताउनुभयो । उहाँले आप्mनो धरातल बिर्सेर धेरै ठुल्ठुला कुरा गर्नुभन्दा काम गरेर देखाउनुपर्ने बताउनुका साथै भलिबल खेल नेपालको राष्ट्रिय खेल घोषणा गरिसकेपछि सरकारले भौतिक पूर्वाधार विकास गर्नेतर्फ ध्यान नदिँदा अन्तर्राष्ट्रिय स्तरको एउटा कभर्ड हल पनि अभाव नभएको बताउनुभयो ।
भलिबल खेलको विकासको लागि विद्यालयस्तरदेखि नै विद्यार्थीलाई शिक्षा सँगसँगै खेलकुद प्रशिक्षण दिनुपर्ने र उमेर समूहअनुसारका प्रतियोगिताहरू आयोजना गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।
कार्यक्रममा नेपाल भलिबल सङ्घका पूर्वउपाध्यक्ष एवं जावलाखेल भलिबल प्रशिक्षण केन्द्रका अध्यक्ष माधव खड्काले पुरानाहरूको अनुभवलाई नयाँ पुस्ताले अँगालेर अघि नबढे हरेक क्षेत्रमा असफलता हात लाग्छ भन्दै इतिहास बिर्सने र मेटाउने काम अपराध हुने बताउनुभयो । उहाँले खेलकुद क्षेत्रका साथसाथै हरेक क्षेत्रमा सहकार्य आवश्यक हुने बताउनुभयो ।
ललितपुर जिल्ला भलिबल सङ्घका अध्यक्ष रवि बोगतीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा नेपाल भलिबल सङ्घका केन्द्रीय सदस्य नीलप्रसाद इटनी, निलम बज्राचार्य, बाग्मती प्रदेश भलिबल सङ्घका अध्यक्ष माधव के.सी. र ललितपुर जिल्ला भलिबल सङ्घका सचिव भीमसेन नेमकुलले भलिबल खेल विकासको लागि सबैको सक्रिय सहयोगको लागि अनुरोध गर्नुभयो । सातौँ साधारणसभाबाट रवि बोगतीको नेतृत्वमा ११ सदस्यीय ललितपुर जिल्ला भलिबल सङ्घको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरियो ।
Leave a Reply