भर्खरै :

सहारा पाउने आसमा

सहारा पाउने आसमा

भोटेकोसीको भेलबाढी हेर्दै
आयो आयो भाग भाग
तल होइन माथि भाग
घरको आँगनमा बसी
चिच्याउँदै कराउँदै
सचेत गरेकै थियौँ ।

त्रिशुली नदीमा आएको प्रलयदेखि
आमाले ठुली, सानी दुवैलाई समाई
लगे पहाडको गोरेटो बाटो
अकस्मात् दुवैलाई छोडी
फेरि घरतर्र्फ दौडी ।

पसलमा गएको लोग्ने सम्झी
लिएर आउँछु बाबालाई भनी
सुरक्षित ठाउँमा बसिराख
छिट्टै हामी आइपुग्छौँ भनी ।

गाउँलेहरू कराउँदै थिए
सत्यानास भयो हे भगवान
कहिल्यै नदेखेको देख्नु प¥यो
त्रिशुली बजार बाढीले डुबायो ।

धनजन पशु चौपाया
स्कूल अफिस भवनहरू
हाइड्रोपावर सवारी साधन
पहेँलपुर धानको फाँट
एकैछिन हेर्दा हेर्दै बगर
आमाबुबाको पर्खाइमा
पहाडको एउटा ओडारमा
शरण लिई बसे
आँखामा आसु मनमा पिर लिई ।

गाउँलेको आडभरोसा पाई
विपत्तिको त्यो क्षण
खान र पिउन मन थिएन
आमा बाबुको यादमा ।

बिहानको उज्यालोसँगै
गाउँलेको सहारा लिई
घरतिर आउँदै गर्दा
छरछिमेकी आफन्तहरू
खोज्दै आइ बाटैमा भेटी ।

अङ्गालो मारी आँसु पुछी
सम्झाउन थाले सबैले
आमाबुबा घरबार सबै
बाढीले बगाई सोत्तर पारी
ठुली, सानीलाई टुहुरो बनाई ।

कतिको त सिन्दुर पुछी
कतिको आफन्तजन
वृद्ध वृद्धा नाबालक छोडी ।

विपत्तिको यो बेला
जिएर पनि बाँच्न गा¥है भयो
सहारा पाउने आसमा
सम्झँदै आमा बुबाको ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *