भर्खरै :

किन रोए नेयमार ?

सेन्ट पिटर्सवर्ग, २२ जून । शुक्रबार ब्राजिल र कोस्टा रिकाबीच भएको खेलको समापनपश्चात ब्राजिलका स्टार खेलाडी नेयमार मैदानमै निकै बेर धुरुधुरु रोए । रेफ्रीले खेल समापनको सिठ्ठी फुक्नासाथ उनी घुँडा टेकेर यसरी भकानिएर रुँदै गर्दा उनलाई ब्राजिलका अरु खेलाडीहरूले सान्त्वना दिएका थिए । नेयमारको यस्तो चालाप्रति आलोचना गर्दै ब्राजिलकै सबभन्दा ठूलो अखबार ओ ग्लोबोले सम्पादकीयमा ‘यसरी रुवाबासी गर्नु असामान्य भएको’ भनी लेखेको थियो ।
तर लगत्तै २६ वर्षका स्टार खेलाडीले आफ्नो प्रतिरक्षा गर्दै आफ्नो इन्स्टाग्राममा लेखेका थिए,‘त्यहाँसम्म पुग्न मैले के कस्तो समय छिचोल्नु परेको थियो, सबैलाई थाहा छैन । सबै सुगाले रट्न सक्छ तर काम गरेर देखाउन केहीले मात्र सक्छन् ।’
उनले त्यो दिनको आफ्नो आँसु खुसीको आँसु भएको बताए । उनले आफ्नो दाँया खुट्टामा लागेको चोटबीच पनि पाएको सफलताले आफूलाई भावुक बनाएको बताए ।
‘मेरो आँसु खुसीको थियो, कठिनाई छिचोले पश्चातको खुसीको आँसु, सङ्घर्षको र विजयको आँसु थियो ।’, इन्स्टापोस्टमा उनले लेखेका छन्,‘मेरो जीवनमा कुनै पनि परिवर्तन कहिल्यै सजिलो भएन । अब पनि यसमा कुनै परिवर्तन आउनेछैन । तर सपना भने चालू रहनेछ । सपना होइन, लक्ष्य । सबै मित्रहरूलाई बधाई । तिमीहरू वास्तवमै राम्रा छौ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *