छालिङमा शुभकामना आदानप्रदान कार्यक्रम
- आश्विन २३, २०८३
भक्तपुर, २३ असोज । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले एसोसिएसन अफ प्रि–स्कूल एजुकेटर्स नेपाल (अपेन) भक्तपुरद्वारा आयोजित सांस्कृतिक तथा शुभकामना आदानप्रदान कार्यक्रमको उद्घाटन गर्नुभयो ।
उक्त कार्यक्रममा नगर प्रमुख प्रजापतिले नजिकिँदै गरेको विजया दशमी तथा शुभ दीपावलीको अवसरमा सबैमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्नुभयो ।
उहाँले बालबालिकालाई सानै उमेरदेखि आफ्नो भाषा, संस्कृति, परम्परा र संस्कारसँग जोड्दै लैजानु सराहनीय कार्य भएको बताउँदै संस्कृति संरक्षण तथा संवद्र्धनमा अपेन भक्तपुरले गर्दै आएको योगदानप्रति भक्तपुर नगरपालिकाको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।
बालबालिका नै परिवारको अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै उहाँले उनीहरूलाई सानैदेखि असल संस्कार, नैतिक शिक्षा र अनुशासन सिकाउनुपर्नेमा जोड दिनुभयो । बालबालिकालाई किताबी ज्ञानमा मात्र सीमित नराखी समाजप्रति जिम्मेवार, अनुशासित र सेवाभावी नागरिकका रूपमा विकास गर्नुपर्ने उहाँको भनाइ थियो । ठुला भएपछि पैसालाई मात्र प्राथमिकता दिने नभई आफ्नो देश र समाजको सेवामा समर्पित हुने भावना बालबालिकामा विकास गर्नुपर्ने उहाँले बताउनुभयो ।
नगर प्रमुख प्रजापतिले समाजवादी देशहरूमा बालबालिकाले गुणस्तरीय शिक्षा तथा आवश्यक सेवाहरू प्राप्त गर्ने गरेको उल्लेख गर्दै नेपालमा पनि सबै बालबालिकाले समान रूपमा उत्कृष्ट शिक्षा र आवश्यक सेवा प्राप्त गर्ने वातावरण निर्माण गर्न सके राम्रो हुने धारणा व्यक्त गर्नुभयो ।
भक्तपुर नगरपालिकाले बालबालिकाको प्रारम्भिक हेरचाह तथा विकासलाई प्राथमिकता दिँदै नगरभित्र सातवटा शिशुस्याहार केन्द्र सञ्चालन गरिरहेको जानकारी दिँदै उहाँले ती केन्द्रमार्फत न्यून शुल्कमा शिशुहरूको स्याहार तथा हेरचाहको व्यवस्था गरिएको बताउनुभयो । नगरपालिकाले नगरभित्र सञ्चालित सामुदायिक तथा संस्थागत विद्यालयहरूबिच कुनै भेदभाव नगरी समान दृष्टिकोणका साथ अगाडि बढिरहेको उहाँले स्पष्ट पार्नुभयो ।
कार्यक्रममा केयर किन्डर वल्र्डकी प्रिन्सिपल रोजिना श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने अपेन केन्द्रीय अध्यक्ष कृष्णकुमार बोहराले पनि मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा बालबालिकाहरूले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए ।
Leave a Reply