भर्खरै :

सबैको सहकार्यबाट मात्र विद्यालयको प्रगति हुने

सबैको सहकार्यबाट मात्र विद्यालयको प्रगति हुने

भक्तपुर, २३ असोज । विद्यार्थी निकेतन माध्यमिक विद्यालय, भक्तपुरमा शुक्रबार विजया दशमीको अवसरमा शुभकामना तथा विद्यालय सहयोगी लक्ष्मण सुवाल र सुनिल द्योलाका बिदाइ कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष योगेन्द्रमान बिजुक्छेँले विद्यालयको समग्र विकास शिक्षक, विद्यालय व्यवस्थापन समिति, विद्यार्थी र अभिभावकहरूको सहकार्यले सम्भव भएको हुनाले विद्यालयमा उपलब्ध जनशक्तिको सही परिचालन गरी विद्यमान समस्यालाई समयमै मूल्याङ्कन गर्नुपर्ने विचार राख्नुभयो ।
विद्यालयमा जागिरे मानसिकता भएसम्म विद्यालयले चौतर्फी विकास गर्न नसक्ने विचार राख्दै उहाँले भक्तपुर नगरपालिकाले सामुदायिक विद्यालयको गुणस्तर कायम राख्न भरमग्दुर प्रयास गरिरहेको कुरा प्रस्ट पार्नुभयो ।
भक्तपुर नगरपालिका वडा ७ का वडाध्यक्ष उकेश कवांले शिक्षक सधैँ अद्यावधिक, गतिशील र लगनशील भए विद्यार्थी असल, ज्ञानी र कर्तव्यनिष्ठ बन्न सक्ने विचार राख्नुभयो ।
उहाँले कला, भाषा, साहित्य र संस्कृति सम्पूर्ण जनता र समाजको सम्पत्ति भएको हुँदा यसले जनजीवन र बजार चलायमान बनाई समाजलाई जीवन्त बनाउने कुरा प्रस्ट्याउनुभयो ।
कार्यक्रममा विद्यालयका प्रअ न्हुछेबहादुर खाताखोले वर्तमान शिक्षकहरू प्रविधिमैत्री भएमा सिकाइ उपलब्धि धेरै राम्रो हुने विचार राख्नुभयो ।
कार्यक्रममा स्वेच्छिक अवकाश प्राप्त कार्यालय सहयोगी लक्ष्मण सुवाल र सुनिल द्योलालाई विद्यालयको विकासको लागि गर्नुभएको अतुलनीय योगदानको कदर गर्दै सम्मान गरिएको थियो । सो कार्यक्रममा शिक्षक उद्धव दाहाल तथा सङ्गीता कायष्ठले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *