भर्खरै :

पाँचौँ ख्वप हाटबजार सम्पन्न

पाँचौँ ख्वप हाटबजार सम्पन्न

भक्तपुर, २३ असोज । स्थानीय उत्पादन, घरेलु उद्यम, हस्तकला तथा सांस्कृतिक पहिचानको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित ख्वप इन्क्युबेसन ल्याब तथा प्लेसमेन्ट सेलको आयोजनामा पाँचौँ ख्वप हाटबजार शुक्रबार सम्पन्न भयो ।
कार्यक्रमको उद्घाटन गर्दै कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले स्थानीय उत्पादनको प्रवद्र्धन, घरेलु तथा साना व्यवसायको विकास र उद्यमशीलता अभिवृद्धिमा हाटबजारले महत्वपूर्ण भूमिका खेल्ने धारणा व्यक्त गर्दै कार्यक्रमले उत्पादक र उपभोक्ताबिच प्रत्यक्ष सम्बन्ध स्थापित गर्नुका साथै स्थानीय सीप र सिर्जनशीलतालाई बजारसँग जोड्न सहयोग पु¥याउने उहाँले बताउनुभयो ।
ख्वप इन्क्युबेसन ल्याबका संयोजक अञ्जु ग्वाछाले हाटबजार विद्यार्थी तथा युवा उद्यमीलाई आफ्ना उत्पादन र व्यावसायिक सोच प्रस्तुत गर्ने अवसर मिल्ने बताउनुभयो ।
हाटबजारमा हातले बुनेका ऊनका सामग्री, गहना, खाद्य परिकार, लत्ताकपडा, स्टेसनरी, हस्तकला, मसला, अचार, बेकरीका परिकार, माटाका सामग्री, सौन्दर्य सामग्री, परम्परागत सांस्कृतिक आभूषण, तोरीको तेल तथा पुस्तक बिक्री र प्रदर्शनीका लागि राखिएका थिए । भादगाउँले टोपीदेखि जुम्लाको मार्सी चामलसम्मका विविध उत्पादनले हाटबजारमा स्थान पाएका थिए ।
हाटबजारले स्थानीय तथा घरेलु व्यवसायीलाई आफ्ना उत्पादनको पहिचान विस्तार गर्न, ग्राहकसँग प्रत्यक्ष सम्पर्क स्थापित गर्न र बजार विस्तार गर्न अवसर प्रदान गरेको छ । साथै, भक्तपुरको मौलिक कला, संस्कृति र परम्परागत सीपको संरक्षण तथा नयाँ पुस्तामा हस्तान्तरण गर्न पनि यस्ता कार्यक्रमले सहयोग पु¥याउने अपेक्षा गरिएको छ ।
हाटबजारमा रजत प्रजापति र लिजा प्रजापतिको ‘क्ले ब्युटी’ स्टल उत्कृष्ट स्टलको रूपमा पुरस्कृत गरिएको थियो । कार्यक्रममा ‘गो लोकल’ का तर्फबाट स्टलहरू राखिएको थियो ।
कार्यक्रमको समापन सत्रमा ख्वप कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले उत्कृष्ट स्टललाई नगद पुरस्कार तथा प्रमाणपत्र र सहभागीहरू प्रमाणपत्र वितरण गर्नुभयो । कार्यक्रममा बीबीएसका इन्चार्ज प्रकाश नातरी र उपप्राध्यापक सुनिता गाइसीले पनि मन्तव्य राख्नुभएको थियो ।
सम्पन्न हाटबजारमा ६३ भन्दा बढी स्टल राखिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *