हामी ठीक छौँ
- आश्विन २३, २०८३
महिना दिन अघिको कुरा हो । पुस्तकप्रेमी पानसिंहजीले फोन गर्नुभयो ।
च्याम्हासिंहमा चिया पिउँदै, गफिँदै थियौँ । आफ्नो चिरपरिचित झोलाबाट एउटा पातलो पुस्तक निकाल्नुभयो । एआईले बनाइदिएको आवरण रहेछ । पुस्तकको नाम – ‘प्राचीन भारतमा परिवार, वर्ण र राज्यको उत्पत्ति’ । लेखक – केजी बैदार । भूमिका लेख्नुभएको रहेछ सुरेश बखुन्छे दाईले । भूमिकाले तान्यो ।
पुस्तकले समेट्न खोजेको विषय भव्य थियो । तर, आकार सानो । सजिलै पढ्न सकिने देखियो । प्राचीन इतिहासमा अलिअलि रुचि छ । पानसिंहजीले बुझ्नुभएको छ । त्यसैले पुस्तक उपहार दिनुभयो र टिप्पणी गर्न भन्नुभयो । उहाँलाई दिएको वचन अनुसार यो छोटो टिप्पणी लेख्दै छु ।
‘प्राचीन भारतमा परिवार, वर्ण र राज्यको उत्पत्ति’ लाई लेखकले १० अध्याय २ परिशिष्टमा विभाजित गर्नुभएको छ । इतिहासलाई हेर्ने माक्र्सवादी कोण पछ्याउने प्रयास गरिएको छ । तर, यो प्रयास उति भरपर्दो छैन ।
पुस्तकमा कालदोष
पुस्तकको सुरुमै तथाकथित सत्य, त्रेता र द्वापर युगलाई लेखकले जङ्गली, बर्बर र दास युगसँग तुलना गर्नुभएको छ । यो वैज्ञानिक पद्धति होइन ।
‘स्मृति’ अनुसार सत्य, त्रेता, द्वापर र कलि युगको एक महायुग हुन्छ । एक महायुग ४३ लाख २० हजार वर्षको हुन्छ । वैज्ञानिक प्रमाण हेर्दा पृथ्वीमा आधुनिक मानवको इतिहास करिब ३ लाख वर्षको छ । (हरारी) त्रेता युग झन्डै १३ लाख वर्ष लामो भएको मनुस्मृतिको दाबी छ । यसरी हेर्दा ‘त्रेता युगमा मात्र मानिसले यज्ञ गर्न सिकेको’ लेखकको दाबी यथार्थसँग मेल खाँदैन ।
जेठो वेद ऋग्वेद इपू. १५००–१२०० मा रचिएकोमा प्रायः सबै आधुनिक विद्वान सहमत छन् । (विट्जल) वेदमा यज्ञकै भरमार छ । वेदका ऋचाहरू यज्ञकै लागि रचिएका थिए । लेखकले सत्य युगमा घुमन्ते जीवनको चर्चा गर्नुभएको छ । आर्यहरूका हकमा यो समय वैदिक युगसम्म नै हो । कसरी त्रेता युगमा यज्ञ गर्न सिके ? यज्ञ त घुमन्ते छँदादेखि नै चल्थ्यो । स्वाभाविक प्रश्न उठ्छ । घुमन्ते जीवन त्यागे पछि उनीहरू आजको पञ्जाबमा ससाना गाउँबस्ती वा राज्य बनाएर बस्न थाले । बुद्धको समयसम्म आउँदा १६ महाजनपद बनिसकेका थिए ।
लेखकले ‘चक्र बनाउन थालेपछि त्रेता युग सुरु भएको’ बताउनुभएको छ । सही नै हो भने पनि यो दाबी आर्यहरूका हकमा मात्र लागु हुन सक्ला । किनभने, आर्यहरू भारत प्रवेश गर्नुभन्दा अगाडि नै सिन्धु सभ्यताका मानिसहरूले चक्र बनाइसकेका थिए । उनीहरू काँस्य युगमा थिए । (अथवा, के रैथाने भारतीयहरू त्रेता युगमा पुगिसकेका थिए ?) फलामको बाक्लो प्रयोग छैटौँ इपू.बाट हुन थालेको विद्वानहरूको मत छ । (शर्मा) यही बेला गङ्गा नदी आसपास दोस्रो नगरीकरण भएको थियो । बुद्धले आफ्नो शिक्षा प्रचार गर्न थाल्नुभएको थियो ।
रामको युगलाई त्रेता युग मानिन्छ । त्यसो हो भने रामायण कहिले लेखियो त ? आधुनिक अध्येताहरू पाँचौँ शताब्दी इपू.बाट लेख्न सुरु गरेको बताउँछन् । ईश्वीको चौथो शताब्दीमा यसको लेखन टुंगिएको विद्वानहरूको मत छ । वाल्मीकि रामायणमा बौद्धहरूको बद्ख्वाइँ गरेको प्रसंग छ । महाभारत पनि मोटामोटी सोही अवधिमा लेखिएको मानिन्छ । पुराणहरू ईश्वीको तेस्रो–चौथो शताब्दीबाट लेख्न थालिएको विद्वत मत छ ।
कालक्रमसम्बन्धी यस्ता तथ्यलाई लेखकले पुस्तकमा समेट्नुभएको छैन । यसर्थ, कालगणनाका दृष्टिले विश्लेषण गञ्जागोल हुन पुगेको छ ।
पुस्तकमा प्रमाणदोष
लेखकले पुस्तकमा धर्मग्रन्थहरूको प्रचुर प्रयोग गर्नुभएको छ । यदाकदा सांस्कृतिक सादृश्य, भाषाविज्ञान र पुरातात्विक प्रमाण पेश गर्नुभएको छ । तर, वंशाणु (डिएनए) को खोजका कारण इतिहास लेखनले आज ठूलो फड्को मारिसकेको छ । यस्ता प्रमाणहरूलाई ध्यान नदिँदा पुस्तकमा गलत दाबी पर्न गएका छन् ।
वेद, उपनिषद्, महाभारत, रामायण, पुराण, पालि साहित्य, मनुस्मृति, कौटल्य अर्थशास्त्र आदिलाई उद्धृत गर्दा सतर्क हुनुपर्छ । यिनमा त्यो बेलाको समाजबारे केही जानकारी जरुर पाइन्छ । तर, यीमध्ये कतिपयलाई पूर्णतः इतिहास मान्न सकिन्न । जस्तो, महाभारतको युद्धबारे भारतमा ठुलै बढाइचढाइ हुन्छ । महाभारतमै पनि त्यसको विशद् चर्चा छ । तर, त्यसको अध्ययनमा आफ्नो जीवन सुम्पेका हिन्दूवादी पुरातत्वविद् बिबी लालले यसको प्रमाण भेटाउन सकेनन् ।
जस्तो, लेखकले आर्य–अनार्य लडाइँका कारण रैथाने सिन्धुवासीहरू भाग्नु परेको बताउनुभएको छ । ऋग्वेदमा यसप्रकारका भीषण युद्धका वर्णन छन् । तर, यसका पुरातात्विक प्रमाण फेला परेका छैनन् । यसकारण, आधुनिक इतिहासकारहरू यसलाई विजेताको हर्षबढाइँ मात्र भन्न रुचाउँछन् । आर्य–अनार्यबिच बेलाबखत लडाइँहरू भइरहन्थे । तर, वेद, पुराणमा उल्लेख भए जस्ता नरसंहार वास्तवमा नभएको विद्वत मत पाइन्छ । (थापर)
लेखकले प्रयोग गर्नुभएको अर्को प्रमाण गोत्र हो । गोत्रको प्रमाणलाई भरपर्दो मान्न सकिन्न । ब्राह्मणहरूले दक्षिणाको लोभमा आर्य–अनार्य सबैलाई गोत्र दिएका छन्† दक्षिणा बढी दिनेको राजसी वंशावली लेखिदिएका छन् । बरु आज वंशाणु जाँच्दा धेरै कुरा खुलेका छन् ।
सन् २०१३ मा भारतका प्राचीन वंशाणुको वैज्ञानिक अध्ययन भयो । त्यसबाट इपू. २२०० देखि सन् १०० सम्म भारतीय उपमहाद्वीपमा व्यापक वंशाणुगत अन्तरघुलन भएको पाइयो । (जोसेफ) यसलाई अझ खुलाएर भनौँ । झन्डै ६५ हजार वर्षअघि आधुनिक मानवका केही झुन्ड अफ्रिका छोडेर भारत पुगेका थिए । यिनलाई भारतका रैथाने मानिन्छ । त्यसपछि इपू. ७००० तिर इरानतिरबाट खेतीपाती गर्ने झुन्डहरू यहाँ पसे । (शाक्यहरूमा यिनकै वंशाणु पाइएको छ । (अवस्थी, मानन्धर आदि)) यिनै दुई थरी मानिसले सिन्धु सभ्यता बसालेका थिए । मध्य एसियासम्म यिनीहरू व्यापार गर्थे । बेलाबेला त्यहाँबाट मान्छे आइरहन्थे । यसपछि चीनको कृषि प्रणाली लिएर इपू २००० तिर मानिसहरूको दुई लहर यहाँ आयो । अन्त्यमा इपू. २००० देखि १००० सम्म विभिन्न झुन्ड बनाएर तथाकथित आर्यहरू यहाँ आए । ‘तथाकथित’ किनभने आफूलाई आर्य भन्ने पहिलो लिखत इरानी राजाको पाइन्छ । (थापर)
यस पृष्ठभूमिलाई आधार मानेर हेर्दा आज प्राचीन भारतको इतिहास अझ प्रस्ट हुँदै छ ।
केही सबलता, केही दुर्बलता
लेखकले नेपालका विभिन्न जातिको उद्गम सिन्धु सभ्यतामा छ भनी दाबी गर्नुभएको छ । यसका लागि धेरै सांस्कृतिक सादृश्य पनि पस्किनुभएको छ । भक्तपुरको बोडेमा हुने जिब्रो छेड्ने जात्रा, नागवंशी खस, मनुले ‘व्रात्य’ भनेका लिच्छवीबारे उहाँले सविस्तार चर्चा गर्नुभएको छ । पुस्तकको सबैभन्दा बलियो पक्ष यही हो । पछि फर्केर केही सिक्ने नै हो भने पनि सांस्कृतिक मिश्रणको त्यही परम्परा सिक्नुपर्छ ।
लेखकले धेरै मिहिनेत गरेर प्राचीन शासन व्यवस्था, युद्धकौशल र राज्यसम्बन्धी कौटल्यको सप्ताङ्ग सिद्धान्तको चर्चा गर्नुभएको छ । सिकन्दर र पोरसबिच भएको युद्धको वर्णन र युधिष्ठिर–भीष्म संवाद रोचक छ । यस्तै संवाद बौद्ध साहित्य महावस्तु अवदानमा पनि पाइन्छ । (चट्टोपाध्याय)
कौटल्य अर्थशास्त्रबारे चर्चा गर्दा लेखकले राजतन्त्रप्रति झुकाव व्यक्त गर्नुभएको छ । साना देशमा गणतन्त्र कच्चो हुने र हिन्दू राजा प्रजातान्त्रिक हुने उहाँको मन्तव्य छ । यो बहसको विषय हुन सक्छ । यहाँनिर उहाँ कम सतर्क देखिनुभएको छ । आधुनिक विद्वानहरूले कौटल्य अर्थशास्त्रलाई ईश्वीको दोस्रो शताब्दीको ग्रन्थ मान्छन् । भाषाविज्ञानको मद्दतले यसका चारभन्दा बढी लेखक भएको पाइएको छ । कौटल्य दक्षिण भारतीय नाम हो भन्ने पछिल्लो बुझाइ छ । चाणक्य नामको कुनै व्यक्ति चन्द्रगुप्तका मन्त्री थिएनन् । बरु विशाखादत्तले मुद्राराक्षस नाटक लेखेर चाणक्य र कौटल्य एक हुन् भनेपछि यो गल्ती हुन गएको विद्वत मत छ । (शर्मा) लेखकले मोहन्जोदडोमा शिवको मुद्रा भेटिएको उल्लेख गर्नुभएको छ । कसैकसैले यसलाई पशुपति वा चारमुखे ब्रह्मा पनि भन्ने गरेका छन् । तर, पछिल्लो अन्वेषणबाट यो दाबीमा दम नभएको देखिन्छ । अंग्रेजहरूले जबर्जस्ती रटाएकै ‘कथा’ रटान गर्न आवश्यक छैन ।
पुस्तक जानकारीमूलक छ । नेपाली भाषामा आइनसकेका कतिपय प्राचीन सन्दर्भहरू परेका छन् । नेपालीहरूको उद्गम खोतल्ने प्रयास गरिएको छ । एक हदसम्म लेखक सफल हुनुहुन्छ । नेपालको मूल सहरी संस्कृति आर्य संस्कृतिभन्दा बढी अनार्यहरूसँग नजिक पाइन्छ । सायद यसरी अघि बढ्दा बढी ऐतिहासिक भइएला । खालि पछिको हिन्दूकरणको पर्दा उठाएर हेर्ने सुझबुझ चाहिन्छ ।
छोटकरीमा केही कुरा
लेखनशैली सादा छ । विश्लेषणमा जोड छ । कतिपय स्थानमा हिन्दीबाट जस्ताको तस्तै लेख्दा हिन्दूत्ववादी भाष्य पनि सँगै आएको छ । जस्तो, कुषाण आदिलाई विदेशी आक्रमणकारी भन्दा ‘को रैथाने’ भन्ने प्रश्न उब्जिन्छ । यसले गर्दा पुस्तकमा जुन मिश्रित संस्कृतिको चर्चा छ, त्यो फितलो बन्न पुगेको छ ।
भाषा सरल छ । कतै कतै हिन्दी शब्दको प्रयोगले अलमल गराउँछ । जस्तो, हिन्दीमा झैँ ‘जोन लक’ लेख्दा ‘ल’ माथि चन्द्रबिन्दु जस्तो (लाँक) दिइएको छ । फुस्रो रङलाई भुरा रङ भनिएको छ । हलोको फालीलाई फलक भनिएको छ ।
पुस्तक दिने मित्र पानसिंहजीलाई धन्यवाद । लेखकलाई परिमार्जित संस्करणको आग्रह ।
Leave a Reply