भर्खरै :

नारीको वेदना

  • आश्विन २३, २०८३
  • कृष्णश्वरी फोजू
  • साहित्य
नारीको वेदना

आज पल्लाघरकी साइली सुत्केरी भइछिन्
एउटीले सोध्छिन्, उनले के जन्माइछिन् ?
अर्कीले भन्छिन्, चन्द्रमुखी छोरी भित्रिइन्
अर्कीले फेरि भन्न थालिन्, चार छोरीकी आमा बनिन् ।
सारा समाजमा सूचना फैलन थाल्दछन्
फलानोले फेरि पनि छोरी जन्माइछे भन्छन्
भन्दै हिँड्छन् असाध्यै नै अलिछिनी रहिछिन्
एउटा छोरा पनि अझसम्म पाउन सकिनन् ।
विडम्बना ! यहाँनेर छ यस विषयमा एउटी नारी निर्दाेष छ
हाम्रो समाजमा नारीमात्र दोषी भन्ने सोच छ
कता कता यो निर्दयी समाजले नारीलाई निल्ने त होइन ?
तँ यस्ती तँ उस्ती भनी निन्दा गर्न कहिल्यै छोड्दैन ।
जो नारी सन्तानका लागि दिनरात खटिरहन्छिन्
आफ्नो घर परिवार आफन्त भनी जुटिरहन्छिन्
दुःख, कष्ट, पीडा र वेदना सहेर हाँसिरहन्छिन्
आफ्नो भोक, प्यास र निद्रा बिर्सेर बाँचिरहन्छिन् ।
नारी र पुरुष एकै रथका दुई पाङ्ग्रा हुन्
नारी पनि त नेपाल आमाकी प्यारी सन्तान हुन्
नारीलाई कहिल्यै कमजोर ठान्नु हुँदैन
नारीलाई पनि पुरुष समान हक अधिकार दिन छोड्नुहुँदैन ।
आज नारी डाक्टर, इन्जिनियर हरेक क्षेत्रमा सफल भएका छन्
नारी पनि उच्च शिखर सगरमाथाको आरोही बनेका छन्
यस्ता नारीलाई कोही कसैले अपहेलना नगरौँ
सकेसम्म उनलाई मान, सम्मान र प्रतिष्ठा राखौँ ।
आफ्नो जन्मघर छोडी कर्मघर रोजेर आउँछिन् एउटी नारी
आदर्श नारी बनी बहन गर्छिन् उनी हरेक जिम्मेवारी
नारी जो यो विश्वको संहारकर्ता अनि सृष्टिकर्ता
नारी पनि त बनेका छन् आज संसारमा राष्ट्र निर्माता ।
नारीप्रति गरिने हत्या, हिंसा र दुव्र्यवहारलाई हटाऔँ
उनले पाउनुपर्ने हक, अधिकार र स्वतन्त्रता अवश्य दिलाऔँ
नारीको हरेक लगनशीलता र सहनशीलतालाई हामीले बुझौँ
नारीको महत्व वा अस्तित्वमाथि सबैले प्रकाश पारौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *