भर्खरै :

“सम्पदाको मौलिकता जोगाउनु भावी पुस्ताका लागि इतिहास र पहिचान सुरक्षित गर्नु हो”

“सम्पदाको मौलिकता जोगाउनु भावी पुस्ताका लागि इतिहास र पहिचान सुरक्षित गर्नु हो”

भक्तपुर, २४ असोज । भक्तपुर दरबार क्षेत्रमा नेपाली वास्तुविद् समाजको ३६ औँ वार्षिक महोत्सवको अवसरमा सार्वजनिक वास्तुकला प्रदर्शनी कार्यक्रम सम्पन्न भयो । प्रदर्शनीमा नेपालका मौलिक वास्तुकला, ऐतिहासिक सम्पदा, परम्परागत बस्ती, विभिन्न जातजातिको पहिचान झल्काउने भौतिक संरचना तथा स्थान विशेषको महत्व बोकेका विभिन्न भवन र संरचनासम्बन्धी सामग्री प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले प्रदर्शनीको पूर्ण सफलताको शुभकामना व्यक्त गर्दै विश्व सम्पदा सूचिमा सूचीकृत सहर भक्तपुरमा यस्तो प्रदर्शनी आयोजना हुनु आफैँमा महत्वपूर्ण पक्ष भएको बताउनुभयो । उहाँले भक्तपुर आफैँमा इतिहास र संस्कृतिको जीवन्त पहिचान बोकेको सहर भएको उल्लेख गर्दै यहाँका ऐतिहासिक सम्पदाको संरक्षणमा नगरपालिकाले विशेष जोड दिँदै आएको बताउनुभयो ।
प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाले ख्वप इन्जिनियरिङ कलेजमा वास्तुकला (आर्किटेक्चर) विषयको अध्ययन–अध्यापनको व्यवस्था गरी नयाँ पुस्तालाई मौलिक वास्तुकला र सम्पदा संरक्षणसम्बन्धी ज्ञान प्रदान गर्दै आएको बताउनुभयो । उहाँले २०७२ सालको भूकम्पले भक्तपुरका धेरै ऐतिहासिक सम्पदामा क्षति पु¥याएको स्मरण गर्दै नगरपालिकाले स्थानीय जनतासँग हातेमालो गरी क्षतिग्रस्त सम्पदाहरूको मौलिक स्वरूप कायम राख्दै पुनर्निर्माण गरेको जानकारी दिनुभयो । नगरपालिकाले हालसम्म १८५ वटा सम्पदाको पुनर्निर्माण गरेको उल्लेख गर्दै उहाँले सम्पदाको मौलिकता जोगाउनु भावी पुस्ताका लागि इतिहास र पहिचान सुरक्षित गर्नु पनि रहेको बताउनुभयो ।
कार्यक्रममा भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले वास्तुकलाको विषय देशको इतिहास, संस्कृति र पहिचानसँग प्रत्यक्ष रूपमा जोडिएको बताउनुभयो । उहाँले कलेज तथा विश्वविद्यालयमा सम्पदा र वास्तुकलासम्बन्धी विषयको अध्ययन–अध्यापनको व्यवस्था हुनुले सम्पदा संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्नुभयो । आधुनिक र परम्परागत वास्तुकलाबिचको सम्बन्धबारे अध्ययन तथा अनुसन्धानले नेपाली सम्पदाको विशेषता र महत्व उजागर गर्न सहयोग पुग्ने उहाँको भनाइ थियो । उहाँले भक्तपुर नगरपालिकाले ऐतिहासिक सम्पदाको संरक्षण, संवद्र्धन तथा पुनर्निर्माणको क्षेत्रमा गर्दै आएको कार्यबारे चर्चा गर्नुभयो ।
नेपाली वास्तुविद् समाजका अध्यक्ष ईश्वरलाल जोशीले प्रदर्शनीको उद्देश्य, महत्व तथा वार्षिक महोत्सवका अवसरमा आयोजना गरिएका कार्यक्रमबारे जानकारी दिनुभयो । कार्यक्रममा भवन विभागका एकराज अधिकारी तथा सीएनईटीका अध्यक्ष कृष्णसिंह बस्नेतले पनि वास्तुकला र सम्पदा संरक्षणका विषयमा आ–आफ्ना धारणा राख्नुभएको थियो ।
कार्यक्रममा अभिषेक बज्राचार्यले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो ।
प्रदर्शनीले नेपाली मौलिक वास्तुकलाको विविधता, ऐतिहासिक सम्पदाको महत्व तथा परम्परागत बस्ती र भवनहरूको संरक्षण आवश्यकताबारे सर्वसाधारणलाई जानकारी गराउनुका साथै नेपालको सांस्कृतिक पहिचान संरक्षणमा वास्तुकलाको भूमिकालाई उजागर गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *