वागीश्वरी बनसीमा शुभकामना कार्यक्रम
- आश्विन २९, २०८३
भक्तपुर, २९ असोज । नेपाल मजदुर किसान पार्टी भक्तपुर नगरपालिका ९ नंं वडा समितिको आयोजनामा बुधबार चोफलमा दसैँको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य तथा वडाध्यक्ष रवीन्द्र ज्याख्वले दसैँको फुर्सदिलो समयमा अध्ययन, लेखनसँगै सामाजिक र रचनात्मक गतिविधिमा सक्रिय हुन र जुवा–तास, लङ्गुरबुर्जा र अनलाइन खेलहरूमा नभुल्न आग्रह गर्नुभयो । उहाँले नेमकिपाले भक्तपुर नगरपालिकामार्फत जनभावनाअनुसार कार्य गर्दै आएको चर्चा गर्दै देकोमिवा इटापाके आयोजनामा स्थानीय उपभोक्ताहरूसँग निरन्तर छलफल गरी उपभोक्ताहरूको अधिकतम हितमा निर्णय गरिरहेको र सहज रूपमा आयोजनाका बाँकी कार्यहरू सम्पन्न गर्न सबैको साथ रहेको प्रस्ट पार्नुभयो ।
उहाँले नेपाल सरकारबाट जारी गरिएको भूमिसम्बन्धी अध्यादेशको आधारमा आयोजना क्षेत्रभित्र रहेका गुठी जग्गासम्बन्धी समस्या समाधानका लागि नगरपालिकाले स्थानीय जनताको साथ र सहयोगमा अघि बढ्ने प्रस्ट पार्नुभयो ।
नगरपालिका क्षेत्रभित्रका जग्गाहरूको भूउपयोग वर्गीकरणको प्राविधिक गृहकार्य भइरहेको जानकारी गराउँदै उहाँले कार्तिक ६ र ७ गते हुने नेपालभाषा साहित्य तःमुंज्यामा सहभागी हुन सबैलाई अनुरोध गर्नुभयो ।
नेमकिपा भक्तपुर नगर समितिका प्रतिनिधि विष्णुराम दुमरुले कामदार जनताको पक्षमा र देशको सार्वभौमिकता रक्षाको आन्दोलनमा पार्टीले खेलेको भूमिकाबारे प्रस्ट पार्नुभयो । उहाँले पुँजीवादी व्यवस्थामा शोषण कायमै रहने हुँदा वर्तमान सरकारबाट जनताले सुख पाउने अपेक्षा नगरेको उल्लेख गर्दै विदेशी इसारामा चल्ने नेता र सरकारले जनहितमा काम नगर्ने बताउनुभयो ।
उहाँले वर्गसङ्घर्षमार्फत समाजवाद स्थापना हुने धु्रवसत्यबारे जनतालाई सचेत पार्ने अभियानमा नेमकिपा निरन्तर लागिरहेको बताउनुभयो ।
वडा नं. ९ पार्टी समितिका अध्यक्ष कृष्णभक्त लवजूले भ्रष्ट दल र नेताहरूले पार्टीको नाम परिवर्तन गरेर सोझासिधा जनतालाई ठगिरहेको चर्चा गर्दै सामाजिक सञ्जालमार्फत नयाँ पुस्तालाई भ्रम छरिरहेको बताउनुभयो ।
पार्टीका सदस्यहरू केबी प्रजापति र कृष्णश्वरी कर्माचार्यले भक्तपुरका जनताको आर्थिक र सामाजिक विकासमा नेमकिपाले महत्वपूर्ण योगदान गरेको चर्चा गर्नुभयो ।
कार्यक्रममा पासा पुचः, कमिचागल्ली बाँसुरी बाजा समूह, प्रगति बाल क्लव, भक्तपुर साकोसका साथै लोकप्रिय कलाकार राजकुमार मानन्धरले जनचेतनामूलक सांस्कृतिक प्रस्तुतिहरू प्रदर्शन गरेका थिए । कार्यक्रमको सञ्चालन विद्यार्थीहरू राज प्रजापति र दीपिका लवजूले गर्नुभयो ।
Leave a Reply