नेमकिपा इनाचो चोर्चा–७ द्वारा शुभकामना आदानप्रदान तथा सम्मान कार्यक्रम
- आश्विन २९, २०८३
भक्तपुर, २९ असोज । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इन्जिनियरिङ कलेजको शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायनसम्बन्धी Peer Review Team–PRT को स्थलगत मूल्याङ्कन तथा अध्ययनपछि समापन कार्यक्रम बिहीबार सम्पन्न भयो । सोही क्रममा पियर रिभ्यु टोलीका संयोजक प्राडा त्रिरत्न बज्राचार्यले नगर प्रमुख सुनिल प्रजापतिलाई ख्वप इन्जिनियरिङ कलेजको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदन हस्तान्तरण गर्नुभयो ।
व्यवस्थापन समितिको तर्फबाट धन्यवाद ज्ञापन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख एवं ख्वप इन्जिनियरिङ कलेजका व्यवस्थापन समितिका अध्यक्ष सुनिल प्रजापतिले पियर रिभ्यु टोलीले गरेको मूल्याङ्कनबाट कलेजले गर्दै आएको कामहरूको उपलब्धि र प्रभावकारिताबारे जानकारी प्राप्त भएको बताउनुभयो ।
उहाँले शिक्षक तथा प्राध्यापकहरूमा जनताको सेवा गर्ने भावना उच्च हुनुपर्नेमा जोड दिँदै जनताको सेवाप्रति समर्पित भएर काम गर्नुपर्ने बताउनुभयो । कलेजले चाहेर पनि नयाँ–नयाँ कार्यक्रमहरू सञ्चालन गर्न नसकेको बताउँदै उहाँले सीमितताका बाबजुद जनताको सेवाबाट आफूहरू कहिल्यै पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
पियर रिभ्यु टोलीको अध्ययन तथा मूल्याङ्कनको क्रममा दिएका सुझावहरूलाई गम्भीरतापूर्वक लिई सम्भव भएसम्म छिटो सम्बोधन गर्दै कलेजको शैक्षिक गुणस्तर अभिवृद्धि गर्न व्यवस्थापन समिति प्रतिबद्ध रहेको उहाँले बताउनुभयो ।
कार्यक्रममा पियर रिभ्यु टोलीका संयोजक प्राडा त्रिरत्न बज्राचार्यले ख्वप इन्जिनियरिङ कलेजको प्रारम्भिक मूल्याङ्कन प्रतिवेदन प्रस्तुतीकरण गर्नुभयो ।
उहाँले तीन दिनको बसाइँको क्रममा कलेजका विभिन्न सरोकारवालाहरूसँग छलफल तथा अन्तरक्रिया गर्ने अवसर प्राप्त भएको बताउँदै कलेजले उपलब्ध गराएका दस्ताबेजहरूको प्रमाणीकरण गर्ने क्रममा दस्ताबेजमा उल्लेख गरिएका विवरणभन्दा पनि उत्कृष्ट कार्यहरू भएको पाइएको उहाँले बताउनुभयो ।
टोलीले निर्धारित सबै मापदण्ड तथा सूचकहरूका आधारमा कलेजका गतिविधिहरूको अध्ययन, छलफल र प्रमाणीकरण गरेको जानकारी दिँदै अन्य आङ्गिक क्याम्पसहरूमा नपाइने केही विशिष्ट एकाइहरू ख्वप इन्जिनियरिङ कलेजमा रहेको पाउनु सकारात्मक पक्ष भएको उहाँको भनाइ थियो ।
विद्यार्थीहरूलाई अनुसन्धानका लागि अनुदान उपलब्ध गराउने व्यवस्था आफूलाई राम्रो लागेको उल्लेख गर्दै उहाँले अनुसन्धानमुखी शैक्षिक वातावरण निर्माणमा यसले सहयोग पुग्ने बताउनुभयो ।
ख्वप इन्जिनियरिङ कलेजका प्राचार्य सुजन माकले कलेजको शैक्षिक गुणस्तर कायम राख्दै थप अभिवृद्धि गर्न कलेज प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले पियर रिभ्यु टोलीबाट प्राप्त सुझाव तथा पृष्ठपोषणलाई आत्मसात गर्दै कलेजका शैक्षिक, प्रशासनिक तथा अनुसन्धानसम्बन्धी गतिविधिहरूलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
Leave a Reply