भर्खरै :

जनताबीच नेमकिपाका सांसद

विभिन्न ठाउँमा भ्रष्टाचारविरोधी दिवस
भक्तपुर, २३ असार । नेपाल मजदुर किसान पार्टीको स्थापनाको एक आधार भ्रष्टाचारविरोधी आन्दोलन हो । अहिले भ्रष्टाचार झन् झन् बढ्दो छ । सुन तस्करका ठूला माछा पक्राउ गर्ने र समयमा गुणस्तरीय काम नगर्ने ठेकेदारहरुमाथि कारबाही गर्ने गृहमन्त्रीको प्रतिबद्धता सेलाउँदै छ ।
नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले चाँगुनारायण नगरपालिकाको छालिङमा शनिबार सम्पन्न भ्रष्टाचारविरोधी दिवस कार्यक्रममा उक्त विचार राख्नुभएको हो ।
उहाँले नगरकोट सडक निर्माणका ठेकेदारले समयमा काम सम्पन्न नगर्दा भक्तपुर नगरमा आउने पानीको मुहानमा हिलो मिसेको उल्लेख गर्दै भक्तपुर अस्पताललाई मसानघाट जस्तो बनाएर सरकारमा गएका नेता र नेता पत्नी, प्रधानमन्त्री र मन्त्रीहरु दिल्ली, बैड्ढक, सिङ्गापुर उपचारमा गएकोमा विरोध गर्नुभयो ।
सांसद सुवालले श्रम र युवा मन्त्रालयले स्वदेशमा रोजगारीको व्यवस्था नगरी म्यानपावर कम्पनीमार्फत युवा बेचबिखन गरेको उल्लेख गर्दै बजेट देश र जनताको हितमा नभएको दृष्टान्त प्रस्तुत गर्नुभयो ।
कार्यक्रममा नेमकिपाका प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले प्रदेशसभालाई वर्गसङ्घर्षको थलोको रुपमा उपयोग गरिरहेको बताउनुभयो ।
कार्यक्रममा नेमकिपा भजिस अध्यक्ष न्हुछेभक्त फोजू, सूर्यबहादुर फोजू र चक्रबहादुर चाकतूले पनि बोल्नुभएको थियो ।
त्यस्तै चाँगुनगरपालिकाको बेसी टोलमा शनिबार आयोजित भ्रष्टाचारविरोधी दिवस कार्यक्रममा पार्टीका सचिव एवं सांसद प्रेम सुवालले राजनीतिक परिवर्तनको साथै सामाजिक परिवर्तन पनि आवश्यक छ भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘उत्पादनका मुख्य–मुख्य साधन र सेवा सामाजिकीकरण गर्ने र शिक्षा स्वास्थ्य निःशुल्क गर्ने बन्दोबस्त गर्ने सामाजिक व्यवस्था नै समाजवादी व्यवस्था हो ।’
संसद नीति–निर्माण गर्ने थलो हुनुपर्नेमा जोड दिंदै सांसद सुवालले ओली सरकारले ३३ किलो सुन काण्डका अपराधी पत्ता नलगाएको, भ्रष्ट ठेकेदारहरूलाई कारबाही नगरेको र सरकार बिल मिलाएर भ्रष्टाचार गर्ने कार्यमा संलग्न भएको बताउनुभयो ।
डा. गोविन्द केसीले निःशुल्क मेडिकल शिक्षाको लागि अनसन नबसेको हुँदा नेमकिपाको समर्थन नरहेको उहाँले बताउनुभयो ।
नेमकिपाका वैकल्पिक केन्द्रीय सदस्य एवं प्रदेशसभा सदस्य सृजना संैजूले नेपाल मजदुर किसान पार्टी भ्रष्टाचारविरोधी आन्दोलनको जगमा उभिएको पार्टी भएको बताउनुभयो ।
ओली सरकारले भ्रष्टाचार नगर्ने बताए पनि उखानमा मात्र सीमित भएको उहाँले चर्चा गर्नुभयो ।
कार्यक्रममा नेमकिपा जिल्ला अध्यक्ष न्हुछेभक्त फोजूले पनि बोल्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *