भर्खरै :

साउन महिनाभित्रको समाजशास्त्र

सुरेश बखुन्छे
मान्छे जन्म जातैले प्रकृतिमा आश्रित प्राणी हो । मानव विकासको विभिन्न चरण होस् वा सभ्यताको इतिहास नै किन नहोस्, त्यसको अध्ययनबाट के निष्कर्ष निकाल्न सकिन्छ भने प्रत्यक्ष–परोक्ष रुपमा मानिस प्रकृतिमै निर्भर हुँदै आएको छ । प्रकृतिलाई नै आधार मानेर मान्छेले ऋतु, वर्ष, महिना, दिन, समय आदिको विकास गरे र त्यसैअनुरुप विभिन्न संस्कृतिको पनि विकास गरे । मानव जातिले प्रकृतिका विभिन्न शक्ति, तिनको प्रकोप आदिबाट बच्न वा बच्न सकिन्छ भन्ने कुरामा विश्वास गर्दै अदृश्य शक्तिमाथि आस्था राखेर प्राकृतिक धर्मको विकास गरे । पछि समाज विकाससँगै विभिन्न धर्म र आस्थाको पनि विकास गरे, जुन कालान्तरमा संस्कृतिका रुपमा स्थापित भए । यस्ता संस्कृति कुनै एक ठाउँमा मात्र विकास नभई करिब एउटै समयमा विभिन्न ठाउँमा विकास भएको देखिन्छ भने कतिपय संस्कृति, संस्कार र सभ्यता एक ठाउँबाट अर्को ठाउँमा प्रसार हुन पुग्यो । सिन्धुघाटीको सभ्यता, नाइल नदीको सभ्यता, मिश्रको सभ्यता, मोहन जोदाडोको सभ्यता, हडप्पा सभ्यता आदि मानव समाजले विकास गरेका विभिन्न सभ्यताहरू हुन्, जुन फरक स्थान र समयमा विकसित भएका सभ्यता र संस्कृति हुन् । संस्कृति उद् विकास, वातावरण, उत्पादनको स्रोत तथा प्रसार हुने क्रममै विकास हुने मानव क्रियाकलाप हो । यही क्रियाकलाप नै वर्तमानको सभ्यता र संस्कृति बनेको छ ।
नेपालको सन्दर्भमा भन्ने हो भने नेग्रिटो, द्रविड, बर्तलमुण्ड, मङ्गोल, आर्य आदि सभ्यताको विकास भयो र त्यहीअनुरुप वर्तमान नेपालको सभ्यता र संस्कृतिको विकास तथा निर्माण भयो । यी विभिन्न सभ्यताले नेपाली समाजलाई पूजा गर्ने, पूmल अक्षता चढाउने, अरुलाई सम्मान गर्ने, झारफुक गर्ने, वनस्पतिको पूजा गर्नेलगायतका संस्कार सिकायो र त्यसैअनुरुप नेपाली समाजले त्यसलाई निरन्तरता पनि दिंदै आइरह्यो । यही परिप्रेक्ष्यमा वनस्पतिलाई पूजा गर्नु, प्रकृतिअनुसार विभिन्न चाडपर्व, संस्कारको चलन चलाउनु नेपाली संस्कृतिको मेरुदण्ड बन्न पुगेको छ ।
यस्तै क्रममा हिजोआज नेपाली समाजमा साउन महिनाको प्राकृतिक वातावरण र त्यससँगै आपूmलाई ढाल्ने क्रममा महिलाहरूमा हरियो चुरा लाउने, हरियै पोशाक लगाउने क्रम तीव्र हुँदै आएको छ । साथै सोमबारे व्रत त हिजोआज फेसनजस्तै बन्न थालेको छ । के साँच्चै यो नेपाली संस्कृति हो त भन्ने प्रश्नको उत्तरमा वृद्धा वा उमेर ढल्केका महिलाहरू आफ्नो उमेरमा यस्तो कहिल्यै नगरेको उत्तर दिन्छन् । यसले के स्पष्ट पार्दछ भने साउन महिनामा हरियो पहिरन र श्रृङ्गार अनि साउने सोमबारको चलन आयातीत संस्कृति हो । विशेषतः हिन्दू धर्मावलम्बी खस महिलाको संस्कारका रुपमा चित्रण गरिएको भए पनि यसमा सत्यता देखिंदैन, किनकि माथिको उत्तर गाउँघरमा बस्ने खस समुदायकै महिलाहरूबाट पाएको हुँ । ‘हो, गाउँघरमा पहिले साउन महिनामा टिउरीको पातको रसबाट हात सिङ्गार्नेसम्मको काम फाट्टफुट्ट महिलाले गर्ने गर्थिन् । प्रायः दिनदिनै खेतबारीको काम, गाईगोठको काम, मेला पर्वमै समय बित्थ्यो । साउनमा त धान गोड्न, बुट्टा टिप्न पनि भ्याइनभ्याइ हुन्थ्यो, यस्तो अवस्थामा श्रृङ्गारको कल्पनासम्म पनि मनमा पलाउँदैनथ्यो । फेरि व्रत बस्ने भनेको तीजमा वा सत्यनारायणको पूजा गर्दा मात्र बस्ने चलन थियो ।’ एक जना महिलाले भनिन् ।
समाजशास्त्रीय आधारबाट भन्ने हो भने आफ्नो वरपर जे छ, त्यसकै माध्यमबाट सामाजिकीकरण हुने र दिनचर्या पनि त्यसैअनुरुप बित्ने गर्दछ अर्थात् पहिले खेतबारीमै सीमित हुनुपर्ने अवस्था, कामको चाप आदि अवस्थामा साउन महिनामा गरिने फेसन, सोमबारे व्रत असम्भव नै लाग्दछ । यसर्थ यो नेपालको मौलिक संस्कृतिभन्दा पनि आयातीत वा पछि मात्र प्रसारित संस्कृति (?) हो । उदाहरणका लागि ‘महादेवले पनि हार्नुपरेछ’ भन्ने लोककथाको सारबाट पनि स्पष्ट हुन्छ कि आराध्यदेव भनिएका महादेव किसानहरूका अगाडि तुच्छ छन् । नेपालजस्तो कृषिप्रधान देशमा खेतबारीमै व्यस्त हुनुपर्ने समयमा यस्तो क्रियाकलाप पहिलेदेखि नै थियो भन्नु वा गर्नु वा आपैmमा विरोधाभाषपूर्ण तर्क हो ।
संस्कृति प्रसारका विभिन्न माध्यमहरू छन्, जसमध्ये बसाइसराइ, सैनिक विजय, विवाह, यातायात, सञ्चार र व्यापार, पर्यटन, धर्म प्रचार, सामाजिक सम्बन्ध आदि संस्कृति प्रसारका माध्यम हुन् । ई.पू. ९०० देखिको इतिहास भएको नेपालको संस्कृति भनेको वास्तवमा एक अर्काको संस्कृति र सभ्यतामा अन्तरघुलित हुनसक्ने गुण वा विशेषता हो । हिमाली भेगमा बस्ने नेपालीहरूले तिब्बती संस्कृति र संस्कार अनुसरण गर्नु र तराईमा बसोबास गर्ने नेपालीले भारतीय संस्कृति र संस्कारलाई अनुसरण गर्नु यसका उदाहरण हुन् । यस्तो गुणको फाइदा लिंदै विभिन्न देशले नेपालको मौलिक संस्कृतिमाथि आक्रमण गर्दै आएको र त्यसको सिकार हामी नेपाली हुँदै आएको कटु यथार्थ हो । यस्तै अर्को सांस्कृतिक आक्रमण हो, साउनमा गरिने सृङ्गार र दिनचर्या ।
वास्तवमा भन्ने हो भने उत्पादनको स्रोत र तिनको प्रयोगबाट विभिन्न संस्कृति निर्माण भएको हुन्छ । उदाहरणका लागि हिमाल, पहाड र तराईको संस्कृति र चाडपर्व तथा क्षेत्रमा बसोबास गर्ने विभिन्न समुदायको सामाजिक मूल्य–मान्यतालाई हेर्न सकिन्छ । पहिले कृषिमा आधारित नेपाली समाज हिजोआज त्यसबाट विमुख हुँदै गएको अवस्था, अन्न फल्ने खेतहरूमा घरहरू फल्नु, बिलासी वस्तुमा मोह बढ्नु वा शारीरिक रुपमा कमैमात्र काम गर्न रुचाउनुजस्ता विविध कारणले नेपालको समाज र संस्कृतिले अर्कै स्वरुप लिन थालेको हो । स्पष्ट रुपमा भन्नु पर्दा उत्पादनको स्रोत र साधनमा आएको परिवर्तनसँगै नेपाली समाज र संस्कृतिको स्वरुपमा परिवर्तन देखा परेको हो । यही कसीमा साउन महिनाको हालको क्रियाकलापलाई राख्न सकिन्छ ।
पक्कै पनि समाज गतिशील हुन्छ, परिवर्तनशील हुन्छ । यसमा हामीले चाहेर पनि रोक्न सक्दैनौं । तर यो भनेर हामीले आफ्नो मौलिक संस्कृतिलाई छोडेर अर्काको संस्कृतिलाई नक्कल गर्नु आफ्नै खुट्टामा बञ्चरो हान्नु जस्तो हुनसक्छ । अतः राम्रा र असल गुणको अनुसरण गरेर देखासिकीको संस्कृतिमा लाग्ने रोगलाई बेलैमा त्याग्नु नै बुद्धिमानी हुनेछ । हामीले यो महिनामा लाउने मेहन्दी, चुरापोते वा अन्य कुराको आर्थिक पक्षबाट हेर्दा पनि राज्यलाई कति घाटा हुन्छ भन्ने प्रश्नको उत्तर सोधी खोजी गरेर नेपाली महिलाको मौलिक पर्व वा अन्य आफ्नै संस्कृतिको रक्षा गर्नुमा नै नेपाली महिलाको गौरव बढ्छ न कि आयातीत संस्कृतिको नक्कल गरेर ।
   (लेखक समाजशास्त्रका शिक्षक हुनुहुन्छ ।)

Leave a Reply

Your email address will not be published. Required fields are marked *