भर्खरै :

जग्गा बाँडफाँटको म्याद थप्नु जरुरी

– दानबहादुर कपाली
द्वैध स्वामित्व अन्त्य गर्ने नीतिअनुसार सरकारले जग्गा बाँडफाँट गर्ने सूचना जारी गरेपछि मोही र जग्गा धनीहरू जग्गा बाँडफाँटमा जुटेका छन् । जग्गा बाँडफाँटसम्बन्धी दर्ता गर्ने अवधि भदौ ४ गतेसम्म रहेको छ । यतिबेला भूमिसुधार कार्यालयमा जग्गा बाँडफाँट गर्न आउने मोही र जग्गा धनीहरूको भीड देखिन्छ । जग्गा बाँडफाँट गर्न आउने सरोकारवालाहरूको भीडले जग्गा बाँडफाँट गर्नेहरूको सङ्ख्या अझै धेरै बाँकी भएको अनुमान गर्न सकिन्छ । सरकारले तोकेको समयभित्र सबैले जग्गा बाँडफाँट गर्न नम्याउने हुँदा जग्गा बाँडफाँट गर्ने समय अझै थप्नु आवश्यक छ ।
कतिपय जग्गा धनीहरूको अझै जग्गा दर्ता गर्न बाँकी छ । जग्गा दर्ता गर्ने प्रक्रिया बन्द भएको हुँदा जग्गा बाँडफाँट समस्या देखिएको छ । अतः जग्गा दर्ता गर्ने समय पनि खुला गरिनुपर्छ । जग्गा दर्ता गर्ने समय खुला नगरे जग्गा बाँडफाँटमा समस्या हुन्छ । कति जग्गा धनीहरूको बाबुबाजे निधन भएको हुँदा नाउँसारी गर्न बाँकी रहनु पनि जग्गा बाँडफाँटको अर्को समस्या हो । मोहीहरूको पनि त्यही हालत छ । यस्तै अरु नाउँ सारीका प्रक्रियाहरू बाँकी भएको हुँदा सरकारले जग्गा बाँडफाँट गर्ने समय नथपी सुखै छैन । समय नथप्ने हो भने सरकारकै पहल या सम्बन्धित निकायकै पहलमा प्रमाणको आधारमा जग्गा बाँडफाँट गर्ने प्रक्रिया अघि बढाउनुपर्ने हुन्छ ।
कति जग्गा निजी मुर्दा गुठीको छ । निजी मुर्दा गुठीको जग्गा बाँडफाँटबारे मोही र जग्गा धनीहरू अन्योलमा छन् । निजी मुर्दा गुठी बाँडफाँट गर्न मिल्छ कि मिल्दैन भनी वडा वडामा चर्चाको विषय बनिरहेको छ । निजी मुर्दा गुठी बाँडफाँट गर्दा मोहीले पाउने जग्गामा निजी मुर्दा गुठी जनाउँछ कि जनाउँदैन ? मोहीले पाउने आधा जग्गामा निजी मुर्दा गुठी जनाउन ठीक हो कि होइन ? भन्नेबारे मोहीहरूबीच चर्चा परिचर्चा भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *