काठमाडौं, २९ साउन । आमा र बुबा दुवै वंशजको नेपाली नागरिकका सन्तानले मात्र वंशजको नेपाली नागरिकता पाउनुपर्छ । जन्मको आधारमा नेपाली नागरिकता दिनुहुँदैन । विधेयकमा २०७२ असोज ३ गते नेपालमा जन्मेकालाई जन्मको आधारमा नेपाली नागरिकता दिने प्रावधान हटाउनुपर्दछ ।
उक्त विचार नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले म·लबार प्रतिनिधिसभाको बैठकमा राख्नुभएको हो । नागरिकता विधेयकबारे विचार राख्दै उहाँले संविधानमा जन्मको आधारमा र तीनजनाले प्रमाणित गरेको सरजमीनको आधारमा नेपाली नागरिकता दिने व्यवस्था नभएको तर विधेयकमा राख्नु संविधानविपरीत हुने बताउनुभयो ।
नेपाल–भारत खुला सीमा भएको स्थितिमा बस र सिनेमा हलको टिकटभन्दा सजिलो गरी नेपाली नागरिकता दिने प्रावधानले देश सिक्किमको अवस्थामा पुग्ने खतरा रहेको उल्लेख गर्दै सांसद सुवालले जन्मको आधारमा नागरिकता दिने प्रावधान नेपालको हितमा नहुने स्पष्ट गर्नुभयो ।
नागरिकता विधेयकको सैद्धान्तिक छलफलपछि निर्णयार्थ प्रस्तुत हुँदा सांसद सुवालले विपक्षमा मत दिनुभयो ।
सांसद सुवालले कूटनीतिक विशेष र सर्भिस राहदानी नेपाल सरकारको प्रतिनिधि भएर विदेश जाने बेलामा मात्र प्रयोग गर्न पाउने अरु बेला फिर्ता गर्नुपर्ने विचार राख्दै वैदेशिक रोजगारीमा पठाउनको लागि राहदानी बाँड्नु देशको हितमा नहुने उल्लेख गर्नुभयो ।
बैठकमा लोकसेवा आयोगको अन्ठाउन्नांै र महालेखा परीक्षकको पचपन्नौं वार्षिक प्रतिवेदन प्रस्तुत गरियो ।
Leave a Reply